News 24 Television
केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक बहुमतले पारित

काठमाडौँ । ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’  प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ ।

सभाको मंगलवारको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो । मंगलवार विधेयकमाथिको सैद्धानितक छलफलपछि कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ लाई पारित गरियोस् भनी प्रश्ताव प्रश्तुत गरेका थिए । सो प्रस्तावलाई संसदका बहुमत सांसदहरुले सहमति जनाएका हुन् ।

विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री चौरसियाले उक्त विधेयकले प्रचलित कानूनमा रहेका प्राविधि त्रुटिहरुको सुधार गर्दै नेपालको दिगो विकास, सुशासनको प्रत्याभुति र वातावरण संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘प्रश्तुत विधेयकमा रहेका व्यवस्थाबाट प्रचलित कानूनमा रहेका विविध प्राविधिक त्रुटी सुधार हुनुका साथै नेपालको दिगो तथा सन्तुलित विकास र सुशासनको प्रत्याभुति, वातावरण संरक्षण र नागरिकमैत्री शासन कायम गर्ने राज्यको उद्देश्य पुरा गर्न टेवा पुग्ने देखिन्छ ।’

अब यो विधेयक राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभाले पारित गरेपछि पुनः प्रतिनिधि सभामा आउनेछ । सभामुख हुँदै राष्ट्रपति कहाँ पुगेपछि राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै ऐनको रुपमा कार्यान्वयनमा आउनेछ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update