News 24 Television
संसद भवन घेर्ने रणनीतिमा किन पुगे शिक्षक ?

काठमाडौं । गत चैत्र २० गतेदेखि काठमाडौं केीन्द्रत शान्तिपूर्ण प्रदर्शन गरेका शिक्षहरुको आन्दोलन अशान्त बन्न थालेको छ । आन्दोलनको २६ औं दिनमा शिक्षकहरु निषेधीत क्षेत्र तोड्दै अगाडि बढ्न खोजेपछि प्रहरी र शिक्षकबीच मुठभेडकै स्थिती सिर्जना भएको हो ।

मुठभेडमा एकपत्रकार सहित ५ दर्जन भन्दा बढी शिक्षकहरु घाइते भएका छन् । आन्दोलनमा उत्रिएका शिक्षकहरुलाई ३ दिन भित्र विद्यालय फिर्ता गर्न ११ गते सर्वाेच्चले पनि सरकारलाई अन्तरिम आदेश दिएको थियो । तर सरकारसँग सहमति नजुट्दा शिक्षकहरु झनै आक्रोशित बनेका छन् ।

विगतमा सरकारसँग भएका सम्झौता अनुसार नै नयाँ शिक्षा ऐन तत्काल नै आउनु पर्ने मागसहित २६ दिनदेखि शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा छन् । शिक्षा ऐन जारी नभएसम्म विद्यालय नफर्कीने घोषणा गरेका उनीहरुको आन्दोलन २५ औं दिनसम्म शान्तिपूर्ण नै थियो तर २६ औं दिनमा भने आन्दोलन अशान्तिपूर्ण बन्न पुगेको हो । नाँचगान र टिकटक बनाएर बस्ने गरेका शिक्षकहरु संसद अधिवेशन शुरु भएपछि निषेधित क्षेत्र तोड्न बल गरिरहेका छन् । 

आइतबार प्रहरीको घेरा तोडेर अघि बढ्न खोज्दा प्रहरीले शिक्षकमाथि लाठीचार्ज गर्नुका साथै पानीको फोहोराले हानेको छ । प्रहरीसँगको झडपका क्रममा प्राइम टिभीमा कार्यरत पत्रकार सविना कार्कीसहित ५ दर्जन भन्दा बढी शिक्षकहरु घाइते बन्न पुगेका छन् ।

शिक्षक कर्मचारीको आन्दोलनका कारण सामुदायिक विद्यालयको अवस्था अस्तब्यस्त बन्न पुगेको छ भने कक्षा १२ को परीक्षा समेत प्रभावित भएको छ । सर्वोच्च अदालतबाट अन्तरिम आदेश आइसकेको अवस्थामा प्रधानमन्त्रीले शिक्षकलाई होच्याउने खालको अभिब्यक्ति दिँदा आन्दोलन उग्र बनेको शिक्षाविद्हरु बताउँछन् । 

सरकारले गम्भिर बन्न नसक्नुसंगै आन्दोलनलाई राजनीतिकरण गर्नु पनि शिक्षक आन्दोलन अशान्तिपूर्ण बन्नुको कारण मानिएको छ । प्रमुख प्रतिपक्षी दलका नेता एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि राजनीतिक स्वार्थ पूर्तिका लागि सडन नछाड्न उक्साउँने गरेको कतिपयको बुझाइ छ । 

शिक्षक तथा विद्यालय कर्मचारी मैत्री शिक्षा ऐनको माग राखिरहेका शिक्षकहरुले ऐन जारी नभएसम्म आन्दोलन फिर्ता नगर्ने बरु चर्काउने बताउँदै आएका छन् । तर आन्दोलनको अगुवाई गरेको शिक्षक महासंघले भने सरकारले नै घुसपैठ गरी आन्दोलन भाड्न खोजेको आरोप लगाएको छ । 

शिक्षकहरुले लामो समयदेखि विद्यालयमा पठनपाठन ठप्प पारेपछि विद्यार्थी र अभिभावकहरु समेत पछिल्लो समय अक्रोशित बनिरहेका छन् । विद्यालय नै बन्द गरेर विद्यार्थीहरुलाई पढ्ने अधिकारबाटै बन्चित गरेर कस्तो खालको अधिकार खोजेको हो भन्दे शिक्षकहरुमाथि प्रश्न उठाउन थालिएको छ । 

यता शिक्षकहरु भने आफुहरुको माग समग्र शिक्षा प्रणाली नै सुधारको लागि भएको बताउँदै आएका छन् । तर नयाँ शैक्षिक सत्रको समयमा निजी विद्यालयलाई पोस्ने गरी सामुदायिक विद्यालयका शिक्षकहरुले गरेको आन्दोलन भने खेदजनक रहेको छ ।  

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  ०९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update