
काठमाडौं । सरकार अहिले चौतर्फी घेरामा छ । कहिले सत्तापक्षकै सांसदहरुले प्रधानमन्त्रीको सुत्ने कोठासम्म नै विचौलियाको पहुँच छ भनि सरकारमाथि संगिन आरोप लगाइरहेका छन्, त कहिले सरकारले कामै गर्न सकेन भनिरहेका छन् । शिक्षक आन्दोलनमा घुसपैठ सरकारले ग¥यो भन्ने आरोप उस्तै छ । समग्रमा भन्दा सरकार अनियन्त्रित संयन्त्र जस्तो बनेको आरोप पेचिलो बनेको छ ।
सरकारमाथि एक होइन, दुई होइन, सयौं प्रश्न एकै साथ सिधा तेर्सिएका छन् । सुशासन कायम गर्न नसक्ने, भ्रष्टाचार नियन्त्रणको सट्टा बढाउने काम गरेको, जनसुविधाका लागि सेवामा सुधार गर्नै नसकेको, आफ्नो दायित्व, लक्ष्य, उद्देश्यबाट हराउदै गएको छ अहिले सरकार भनि सडकदेखि सदनसम्म विरोधका आवाज बढ्दो क्रममा छन् । त्यसमाथि चिकित्सक आन्दोलन, शिक्षक आन्दोलन, निजामति आन्दोलनले त झन् विकराल अवस्था सृजना गरिरहेका बेला प्रधानमन्त्री गैरजिम्मेवार बनिरहेको आरोप पेचिलो छ ।
यता, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको आरोप झन् डरलाग्दो छ । मुलुकमा भ्रष्टाचार बढेकै कारण लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथि कालो बादल मडारिएको टिप्पणी उनको छ ।
यतिमात्रै होइन राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले त सरकारले भ्रष्टाचारविरुद्ध कामै नगर्न नसकेको आरोप लगाउदै कारबाही गर्ने हिम्मत छ भनि प्रश्न गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको १० अर्ब बढीको भ्रष्टाचारमा मुछिएकाहरूलाई कारबाही गर्ने हिम्मत छ भन्दै उनले सरकारलाई प्रश्न गरेका हुन् ।
२२ अर्ब ऋण सम्झौता लागतमा निर्माण भएको विमानस्थलमा १० अर्ब बढी भ्रष्टाचार भएको विषय संसद्को लेखा समितिले उजागर गरेको गरेको बताउँदै उनले यसले अन्तर्राष्ट्रिय जगतमै नेपालको छवि धमिलिएको बताए ।
नाकै मुनी भएको भ्रष्टाचारको गन्धले संसार दुर्गन्धित हुँदा पनि भ्रष्टाचार आफू पनि गर्दिन र अरूलाई पनि गर्न दिन्न भन्दै कार्यकर्ताको आँखामा छारो हालिरहने कि कारबाही अगाडी बढाउने भन्दै प्रधानमन्त्रीलाई उनले प्रश्न गरे ।
रास्वपाका कार्यबाहक सभापति डोलप्रसाद अर्यालले पनि सरकारको काम गर्ने क्षमतामाथि नै प्रश्न गरेका छन् । सांसदहरुले सरकारले जताततै अशान्ति मच्चाएको आरोप लगाउँदै कुनै पक्षपनि सुधार नभएको आरोप लगाएका छन् ।
तर, सरकारविरुद्ध प्रश्न गर्दा प्रधानमन्त्री केपी शर्मा ओली भने सरकारका विरुद्ध सब एक भएर लागेका छन् भनि उल्टै आरोप लगाइरहेका छन् ।
कहिले सरकार ढल्यो ढल्यो भन्ने कहिले विचौलियासँग सम्बन्धन छ भन्ने यि सबै आरोपको विनाआधार भएको प्रधानमन्त्रीको दाबी छ ।
मुलुकमा कुनै कुरा ठिक बाटोमा नरहेको भन्दै जनआक्रोश बढिरहेका बेला सत्ता पक्ष र प्रतिपक्षी जुहारी मात्रै खेली रहने, जनताप्रतिको जिम्मेवारी नउठाउने अनि राज्यकोषमाथि मोजमस्ती मात्रै गरिरहने हो भने थप अशान्ति मच्चिनेमा शंका देखिन्न । सरकारले आफ्नो शैली र परिणाम दुवैमा सुधार ल्याउनेतर्फ ध्यान दिने कि ?