News 24 Television
सीके–रेशम एकतामा किन शंका ? 

काठमाडौं । मधेसमा बलियो पकड जमाएको जनमत र सुदूरपश्चिममा धक्का दिन सक्ने नागरिक उन्मुक्ति पार्टीबीच एकता घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । लामो समयको रस्साकस्सीपछि जनमत र नाउपाबीच एकता हुने त भएको छ, तर के यो एकता दीर्घकालीन बन्ला ? यो चर्चाको विषय बनेको छ । 

नागरिक उन्मुक्ति पार्टी जसले सुदूरपश्चिममा राम्रो पक्कड जमाएको छ । अझ् भन्दा सुदूरपश्चिमको सरकार निर्माणमा समेत धेरै अवस्थामा नाउपा निर्णयक बनेको छ  । अनि,  जनमत पार्टी जो मधेश प्रदेशमा पक्कड जमाउदै आएको छ । यि दुई शक्ति नयाँ उदायका शक्ति हुन् ।

अब यि शक्ति एकताको अन्तिम चरणमा पुगेका छन् । जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीबीच एकताको अन्तिम प्रयाससम्म आइपुग्दा धेरै समय भने लाग्यो । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले अड्को थाप्ने काम गर्दै आएपछि एकताको प्रयास लम्बियो । 

अड्को थाप्ने श्रृङखला नै चल्न थालेपछि रेशमले सामाजिक सञ्जालबाटै रञ्जितालाई सम्झाउने गर्थे । तर रञ्जिता टसमस नहुने भन्ने गर्थिन् । तर, अन्ततः रेशमले चलाएको एकता अभियान पुरा हुने देखिन्छ । यसको सार्वजनिक स्वीकारोक्ति रञ्जिता आफैले गरेकी छन् । 

रञ्जिताले पार्टी एकतापछि आफू सह–अध्यक्ष हुनेदेखि पार्टीको नाम जनमत नागरिक हुने बताएकी छन् । तर, यो एकताले मधेस र सुदूरपश्चिममा कस्तो प्रभाव पार्ला भन्ने चर्चा शुरु भएको छ । दुई पार्टीबीचको एकता लामो समयसम्म जानेमा धेरैले शंका गर्ने गरेका छन् । रेशम र सीकेको चरित्र, राजनीतिक अनुभव र मधेस र सुदूरपश्चिम तथा थारु बाहुल्य जनताले कसरी लिन्छन् भन्ने विषय सर्वाधिक चासोमा छ ।

टिक्ला पार्टी एकता ?

रेशम थारु समूदायमा चर्चित छन् । सीके मधेसी समूदायमा । दुई दलको फरक शक्ति भएपनि उनीहरुको एकताले पार्ने प्रभाव भने राष्ट्रिय स्तरकै हुनेमा शंका छैन् । प्रतिनिधिसभामा जनमतका ६ र नागरिक उन्मुक्तिका ४ सांसद छन् । दुई पार्टी मिल्दा संख्या १० हुनेछ । प्रदेशमा समेत उनीहरुको प्रभाव थप प्रभावकारी बन्नेछ । 

मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा शक्तिशाली बन्नेछन् । तर, पार्टी एकता कहिलेसम्म भन्ने प्रश्न भने जिवितै छ । दुई पार्टीको एकतापछि नागरिक जनमत पार्टीको शक्ति प्रतिनिधिसभामा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी सरहको बन्नेछ । 

यता, मधेसमा सीकेलाई टक्कर दिने उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालसँग ५ सांसद छन् भने महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीसँग ४ सांसद छन् । 

यस्तो स्थितिमा जनमत नागरिक पार्टी संसदमा माधव नेपालको भन्दा माथिल्लो हैसियतको पार्टी बन्नेछ । माधव नेपाल नेतृत्वको नेकपा एस राष्ट्रिय पार्टी बन्न समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउन नसक्ने पार्टीमा दर्ज छ भने सीकेले थ्रेसहोल्ड कटाएकाले यो पार्टी राष्ट्रिय स्थानमा रहेको  छ । अब यस्तो स्थिति बनेपछि रेशम सीकेको पार्टी छैठौं शक्तिशाली पार्टी बन्नेछ ।

प्रदेशमा कस्तो बन्नेछन् ?

मधेस प्रदेश १०७ सदस्यीय छ । यहाँ सरकार निर्माण गर्ने बहुमत कुनैपनि दलसँग छैन् । यसकारण मिलिजुली सरकार बनाउनेक्रममा ५४ सांसद आवश्यक पर्छ । यस्तोमा सीके राउतको जनमत पार्टीसँग मधेसमा १३ सांसद छन् भने रेशमको जनमत पार्टीसँग १ गरेर १४ सांसद हुनेछन् । 

यस्तै, लुम्बिनी प्रदेशसभा ८७ सदस्यीय छ । यहाँ सरकार बनाउन ४४ सांसद आवश्यक पर्छ । लुम्बिनीमा नागरिकका ४ र जनमतका ३ गरेर ७ सांसद हुनेछन् । सुदूरपश्चिम प्रदेशसभा ५३ सदस्यीय छ । 

यहाँ सरकार बनाउन २७ सांसद आवश्यक पर्छ । भने नागरिक उन्मुक्तिसँग यो प्रदेशमा ७ सांसद छन् । यसरी तीन प्रदेशमा जनमत नागरिक पार्टी शक्तिशाली बन्नेछन् भने सुदूरपश्चिममा उपस्थित हुन नसकेको जनमत र सीकेको उपस्थिति बढ्नेछ ।

एकतामा शंका किन ?

दुई पार्टी मिल्दा मधेस र थारु बाहुल्य क्षेत्रमा प्रभाव विस्तार हुनेमा शंका छैन् । तर, एकता लामो समयसम्म टिक्ला भन्ने प्रश्न भने व्यापक देखिन्छ । किनभने सीके र रेशमको पृष्ठभूमी, कार्यशैली र क्षमताका कारण पनि शंका गर्ने गरिन्छ । 

यद्यपी आगामी निर्वाचनसम्म पार्टी एक नरहने विश्लेषण समेत भएको देखिन्छ । नागरिक उन्मुक्तिमा रेशम आफ्नै पत्नीबाट खेदिएपछि ठेगान लगाउन भन्दै एकताको बाटोमा लागेको चर्चा समेत चलिरहेको छ । तर, यसका विभिन्न आयामहरु भने विस्तारै खुल्दै जानेछन् ।

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  ०८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update