News 24 Television
देउवाको बनावटी ढाडसमा ओली मख्ख, के होला सत्ता समिकरण ?

काठमाडौं । प्रधानमन्त्री केपी ओली सरकार ढल्ने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवाले दिएको अभिव्यक्तिलाई ठूलो उपलब्धिको रुपमा लिएका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले सरकार नढल्ने कारणमा देउवालाई देखाएपनि कांग्रेसले भने असन्तोष पोख्ने कामलाई तीब्र बनाएको छ । 

कांग्रेस सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्किए । उनले विमानस्थलमा छोटो प्रतिक्रिया दिदै गठबन्धन केहि हुन्न भने । यता, देउवा पत्नी आरजु राणा देउवाले भने सरकार नढल्ने भन्दै शंकास्पद विषय सार्वजनिक गरिन् । 

कांग्रेसले संस्थागत रुपमै ओली नेतृत्वको सरकारको गति र कार्यशैलीमा प्रश्न गरिरहेको छ । तर, कांग्रेस सभापति देउवा विभिन्न कारण रिजर्भ बसिरहेका छन् । यस्तोमा प्रधामन्त्री ओलीलाई हरेक अभिव्यक्तिमा भ्याइनभ्याइ हुन्छ, सरकार ढल्दैन भन्नलाई । एमाले संसदीय दलको बैठकमा समेत ओलीले देउवाले सरकार ढल्दैन भनिदिएपछि विपक्षीहरु खुत्रुक्कै भएको भन्दै सन्तोष व्यक्त गरेका छन् । 

एमालेले सरकार ढल्ने विषयमा शंका भने गरिरहेको देखिन्छ । देउवाले विपक्षीसँगको मोर्चाबन्दीमा विश्वास गरिहाल्ने वातावरण नबनिसकेकाले ओली नेतृत्वको सरकारलाई ढाडस दिदै गर्ने रणनीति अख्तियार गरेको विश्लेषण चलिरहेको छ ।

यता, दाङ पुगेका कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले गभर्नर कांग्रेसले पाउनुपर्ने भन्दै चेतावनी नै दिएका छन् । एमालेले विद्युत प्राधिकरणको नेतृत्व लिएको भन्दै कांग्रेसले गतभर्नर पाउनुपर्नेमा कुनै विवाद नभएको भन्दै ओली नेतृत्वको सरकारले गभर्नर नियुक्ति नगरेकोमा रोष प्रकट गरेका छन् । यसरी भागबण्डामा तलमाथि गर्दै आएका ओलीलाई कहिलेसम्म बोक्ने भन्ने बहस कांग्रेसभित्र भने चलिरहेको छ । 

गठबन्धन फेर्ने देउवाको दृष्टी

शेरबहादुर देउवा गठबन्धन फेरेर प्रधानमन्त्री तयारीमा देखिन्छन् । उनले गठबन्धन फेर्ने अभ्यासमा लाग्दा हुने केहि खतरा देखेका छन् । जुन कारण उनी विपक्षीलाई विश्वास गर्ने वातावरणमा ढुक्क हुन सकेका छैनन् । 

भूराजनीतिक परिस्थितिदेखि आन्तरिक परिस्थिति समेत देउवालाई प्रधानमन्त्रीमा अघि सार्न राजी भएको बेला देउवाले निर्णायक मूभको तयारी गरिरहेको बताइन्छ । तर, उनी किन हच्किए त केहि कारण यस्ता देखिन्छन् । 

१. एमालेलाई छाडेर गठबन्धनमा जाँदा स्पष्ट बहुमतमा शंका उत्पन्न हुने र साना दलहरुले पनि प्रधानमन्त्रीको सर्त अघि सार्ने वातावरण बन्छ ।

२. एमालेलाई छाड्ने सूचना चुहिए प्रधानमन्त्री केपी ओलीले माओवादीसहितका अन्य दललाई साथमा लिएर माओवादीसँग पार्टी एकताको प्रस्ताव लैजान सक्छन् । 

३. विद्यादेवी भण्डारीलाई अघि सारेर भएपनि माओवादी केन्द्रलाई मुभ गराएभने न सत्ता, न ०८४ को निर्वाचन कांग्रेसका लागि फाइदाजनक हुन्छ भन्ने विश्लेषण ।

४. माओवादी केन्द्रले सत्ताबाहिर बसेरै सरकारलाई समर्थन गर्ने भन्दै गर्दा सत्ता नेतृत्व लिइसकेपछि माओवादीले बार्गेनिङ शक्ति बढाउदै अन्ततः गठबन्धन नै ढाल्ने प्रयत्नमा जान सक्छ भन्ने वुझाई ।

५. माओवादी केन्द्र र प्रचण्ड भरपर्दो नहुन सक्छन् । वामपन्थी एकता भन्ने कुरा उठे फेरि प्रचण्डले धोका दिन्छन भन्ने विश्लेषण ।

६. गठबन्धनमा आफू प्रतिबद्ध रहेको सन्देश दिन पार्टीलाई विरोधमा उतार्ने र आफू रिजर्भ बसेर निर्णायक स्तिति कुर्ने ।

यस्ता कारणले देउवा तत्काल सरकारको नेतृत्व लिन हच्किएको चर्चा चल्ने गरेको छ ।  तर स्वार्थ समूहदेखि विभिन्न शक्ति केन्द्रहरुले ओली नेतृत्वको सरकार ढाल्ने प्रयासलाई तीब्र पारेका छन भने सडकमा चलिरहेका आन्दोलनलाई पनि ओलीले उत्तेजित पार्ने र स्थिति बिगार्ने काम गरिरहेकाले ओलीको दोष कति र कहिलेसम्म बोक्ने भन्ने प्रश्नका कारण पनि कांग्रेसले सत्ताको काँध फेर्ने तयारी गरेको देखिन्छ । तर, ओलीलाई दिनप्रतिदिन दिनुपरेको स्पष्टीकरणलाई देउवाको एक बोलीले काम गरेझैं देखिएपनि यो दिर्घकालसम्म चल्ने बाटो समात्ला ? प्रश्न देखिन्छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  ०९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update