News 24 Television
रक्सी चोर भनेका लिङ्देनलाई फसाद्ः यादवको च्यालेन्ज, स्रोतमा अमरेश पनि !

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संसदमा झूठो आरोप लगाएको भन्दै चर्चा चल्न थालेको छ । लिङ्देनले कांग्रेस सहमहामन्त्रीका छोरा चैत्र १५ गतेको राजावादी प्रदर्शनको क्रममा रक्सी चोर्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेर शक्तिको आडमा छाडेको आरोप लगाए । 

लिङ्देनले यस्तो आरोप लगाएपछि चलेको तीब्र विरोधकाबीच कांग्रेस सहमहामन्त्री महेन्द्र यादवका छोरा आफैले चुनौति दिएपछि लिङ्देनमाथि प्रश्न उठेको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा बैठकमा राजसंस्थाको पक्षमा चर्को वकालत गरे । राप्रपाले राजाको पक्षमा र राजसंस्थाको पक्षमा वकालत गर्नु लोकतान्त्रिक कुरा भएको भने । 

लोकतन्त्रको विरोधि अहिलेका सत्ताधारी र गणतन्त्रको पक्षमा छौं भनिरहेकाहरुमाथि अनेक लान्छना लगाउने क्रममा लिङ्देनले विभिन्न तथ्य पेश गर्ने प्रयास गरे । 

कसैलाई होच्याएर कुरा गर्न नचाहने दाबी गरेका लिङ्देनले चैत्र १५ गतेको तीनकुने घटनामा राजावादीको हिंसात्मक प्रदर्शन भन्ने भाष्य स्थापित गर्न खोजेको आरोप लगाए । यतिमै नरोकिएका लिङ्देनले कांग्रेस सहमहामन्त्रीका छोरा भाटभटेनीमा रक्सी चोरेको आरोपमा पक्राउ परेको दाबी गरे । त्यसपछि प्रहरीले पक्राउ गरेर लिएपनि सत्ताको आडमा कन कुनै कारबाही नगरि छाडियो समेत भन्न भ्याए ।

तीनकुने घटना राज्यले नै घटाएको हो भन्ने भाष्य स्थापित गर्न लिङ्देनले उठाएका विषय संसद बैठक सकिएको २४ घण्टा बित्न नपाउदै खण्डन हुन थाल्यो । योक्रममा कांग्रेस सहमहामन्त्री महेन्द्र यादवका कान्छा छोराले भिडियो बयान नै सार्वजनिक गरे । उनले लिङ्देनलाई चैत्र १५ गते भाटभटेनी घटनामा दोषी करार गर्न चुनौति दिएका छन् ।

विकासले सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश सेयर गर्दै संसदमा लिङ्देनले प्रमाण छ भनेको विषय सार्वजनिक गर्न चुनौति दिएका छन् । उनले अन्यथा कारबाहीको माग समेत गरेका छन् । 

लिङ्देनले प्रमाण छ भन्दै कुर्लिएपनि उनले कस्तो प्रमाण पेश गर्छन भ्ने पर्खाई चलिरहेको छ । उसोतः लिङ्देनले प्रमाण छ भन्दै गरेको दाबीको एउटा स्रोतको रुपमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहलाई लिएका छन् । तर, सिंह कांग्रेसको राजनीतिबाट बाहिरिएपछि स्वतन्त्र बने । कांग्रेसलाई लल्कार्दै आएका अमरेशले अनेक आरोप लगाउने गर्छन् । भने सर्लाही कांग्रेसका केहि नेताहरुले अमरेशविरुद्ध समेत अख्तियारमा उजुरीदेखि विभिन्न हर्कत गर्ने गरेको देखिन्छ । 

यस्तो स्थितिमा कांग्रेस छाडेपछि आरोपको वर्षा गरिरहेका अमरेशलाई पनि स्रोत मान्छा लिङ्देन चिप्लिए वा सुरक्षा निकायले दिएको सूचना नै गलत थियो ? यसको विवेचना समेत शुरु भएको छ । तर, लिङ्देनले प्रमाण पेश नगर्दासम्म अब उनी प्रश्नको कठघरामा भने उभिइसकेका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  ०८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update