
काठमाडौं । केपी ओली नेतृत्वको सरकार के होला ? यो अहिले सर्वाधिक चासोको विषय बनेको छ। प्रमुख प्रतिपक्षले कांग्रेसको नेतृत्वमा सरकार बने माओवादीले सघाउने सार्वजनिक अभिव्यक्ति दिदैआएको छ ।
यता, कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने हतारोमा छन् भन्ने हल्ला व्याप्त छ । यस्तोमा के देउवाले प्रधानमन्त्री बन्न खुट्टा उचालेकै हुन त ? देउवाको भनाई र वर्तमान अवस्थाबीच तालमेल छ कि छैन ?
केपी ओली नेतृत्वको सरकार ढल्ने हल्ला तीब्र बनिरहेको छ । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले ओली नेतृत्वको सरकारको औचित्य सकिएको भन्दै कांग्रेस नेतृत्वको सरकार बन्नुपर्ने भनिरहेको छ ।
१५ महिनापछि सरकारको नेतृत्व गर्ने पालो कुरिरहेका कांग्रेस सभापति शेरबहादुर देउवा निर्धक्क बन्न नसक्दा माओवादी केन्द्रले गरिरहेको प्रस्ताव परिपक्क बन्न सकेको देखिन्न । तर, देउवा थाइल्याण्ड उपचार गराउन भन्दै गएपछि भने यसले तीब्रता पाएको देखिन्छ ।
उपचार सिंगापुरमा गराउने गरेका देउवा फलोअपका लागि किन थाइल्याण्ड गए ? यसको राजनीतिक अर्थ के ? तमाम शंकाहरु चलिरहेकै बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसदीय दलको बैठकमा देउवाले थाइल्याण्ड जाँदा आफूलाई फोन गरेको भनेपछि थप तरङ्ग पैदा भयो । तर, थाइल्याण्ड भ्रमणबाट फर्किएपछि देउवा र परराष्ट्रमन्त्री समेत रहेकी देउवा पत्नी आरजु राणा देउवाले सरकार ढल्ने विषय अनावश्यक हल्ला मात्रै भनेनन् कि केवल मनोरञ्जनका लागि किन यस्तो गरेको भनिदिएका छन् ।
देउवा दम्पत्तिले यस्तो दाबी गरेपनि प्रधानमन्त्री केपी ओली आफैले पनि सरकारबारे दिक्दारी प्रष्टै पोखेका छन् । एमालेले आयोजना गरेको युवा सम्मेलनमा ओलीले एमालेले सरकारको चिन्ता नगर्ने बरु मिसन ०८४ को ध्यान दिनुपर्ने भनिसकेका छन् ।
ओलीको यस्तो दिक्दारीको कारण थियो, कांग्रेस नेताहरुले सरकारमाथि गरिरहेको अस्वस्थ आलोचना । कांग्रेस महामन्त्री गगन थापाले पछिल्लो समय सरकारको गति र दिशा ठिक ठाउँमा नभएको भन्दै कांग्रेस सरकारबाट बाहिरिने चेतावनी नै दिएका थिए ।
सरकार अब लामो समय नजाने भन्न थालेपछि कांग्रेसलाई पनि सकस परेको छ । यस्तोमा कांग्रेसले संसदबाट यसको प्रतिववाद भने गरेको छ । तर, आवाज त्यति बोल्ड भने सुनिन्न ।
कांग्रेसभित्रसत्ता उलटफेरको प्रयास चलिरहेपछि एमाले सतर्क बन्न थालेको छ । एमालेले चलाखी गर्ने स्थितिपछि माओवादी केन्द्रले पनि आफूलाई करेक्सनको बाटोमा लैजाने प्रयास गरेको देखिन्छ ।
माओवादी केन्द्रका महासचिव देव गुरुङले सुर्खेतमा पुगेर ओली नेतृत्वको सरकारलाई नै चल्न दिनुपर्ने भनेका छन् ।
ओली सरकार कहिलेसम्म भन्ने विषय चर्किदै गर्दा कांग्रेसको एक पक्ष जसरी पनि सरकार ढाल्ने रणनीतिमा जुटेको छ । तर, के कति कारणले कांग्रेसमा यस्तो आगो फैलियो भन्ने विषयमा भने अधिकांशले ओलीकै शैलीलाई लिने गरेका छन् ।
कांग्रेस किन बिच्किदैछ ?
कांग्रेसले प्रधानमन्त्री केपी ओलीलाई दबाबमा राखेर आफूअनुकुलका निर्णय गराउने मनशाय राखेको लुकेको छैन् । गभर्नर नियुक्तिको क्रममा समेत कांग्रेसले गुणाकर भट्टलाई अघि सार्दा एमालेले निलम ढुंगानालाई अघि सा¥यो । त्यसपछि देउवाले गुणाकरलाई गभर्नर नियुक्त गर्ने विषयमा सहमति जुटाएपनि सर्वोच्चमा मुद्दा प¥यो ।
सर्वोच्चमा मुद्दा परेपछि गुणाकरलाई गभर्नर नियुक्त गर्न असहज स्थिति बनेको छ भने गुणाकरको राजीनामा निलमले अहिलेसम्म स्वीकृत गरेकी छैनन् ।
अर्थमन्त्री विष्णु पौडेलले कायममुकायम गभर्नरको जिम्मेवारी दिएपछि निलमलाई देखाएर प्रधानमन्त्री ओली र एमालेले नै खेलेको कांग्रेसको बुझाई देखिन्छ । यस्तो स्थितिमा सरकार लामो समय जान नसक्ने अड्कल गर्न थालिएको देखिन्छ । यता, विद्युत प्राधिकरणदेखि विभिन्न क्षेत्रमा सरकारले हात हाल्दा जस्तोसुकै अलोकप्रियता देखिने भएपनि अघि बढ्ने कारण पनि तनावको स्थिति बन्न थालेको बताइन्छ ।