News 24 Television
सरकार–शिक्षक अब सिधैं भिड्ने, दाँईमा विद्यार्थी निमोठ्ने योजना !

काठमाडौं । शिक्षक आन्दोलनका कारण विद्यार्थीको भविष्य थप अन्योलतातर्फ हेलिएको छ । सामुदायिक शिक्षण संस्थाहरु बन्द छन् । 

सरकारले यसको व्यवस्थापन गर्नुको सट्टा माहोल उत्तेजित बनाएको आरोप लागिरहेको छ । यस्तोमा शिक्षक ले पनि विद्यार्थीप्रति चिन्ता जाहेर गर्न थालेका छन्, भने सर्वोच्चको आदेशले सरकारमाथि समेत दबाब बढेको छ । 

काठमाडौंको नयाँ बानेश्वर–बबरमहल माइतीघर क्षेत्रमा २४ दिनदेखि शिक्षकहरु सडक संघर्षमा छन् । उनीहरुले शिक्षा ऐनको माग गरिरहेका छन् । सरकारले पनि जायज माग पुरा गर्ने भन्दै सडक छाडेर विद्यालयमा जान भनिरहेको छ । तर, शिक्षकहरुले माग पुरा नभई सडक नछाड्ने भनिरहेका छन् । 

यी दुबै पक्षको अड्डीको कोपभाजनमा परेका छन्, विद्यार्थी । सामूदायिक विद्यालयमा भर्नादेखि शैक्षिक वातावरण ठप्प छ । शिक्षक काठमाडौं केन्द्रित आन्दोलनमा छन् । 

सरकारले शिक्षकलाई फकाएर समाधान दिनुको सट्टा आवेग र उत्तेजनामा ल्याउने काम गरिरहेको छ भने शिक्षकहरुले पनि आन्दोलनसंगै जिम्मेवारी निभाउन सकेको देखिन्न । 

यस्तोमा सर्वोच्च अदालतले एसईईको नतिजा समयमै सार्वजनिक गर्न, कक्षा १२ को परीक्षा तोकिएको समयमै गर्न, विद्यार्थीको पठनपाठन गर्ने व्यवस्था मिलाउन आदेश दिएको छ । तर, सरकारले यसतर्फ खास ध्यान दिन सकेको देखिन्न । 

शिक्षामन्त्रीको जिम्मेवारी सम्हालेका रघुजी पन्तले देशको बजेटले धान्ने सीमाभित्र रहेर शिक्षकका मागहरु सम्बोधन गर्न प्रतिवद्ध रहेको भनिरहेका छन् । 

शिक्षामन्त्रीले यस्तो दाबी गरेपनि उनैले बोलाएको बैठकका लागि सिंहदरबार पुगेका शिक्षकहरु भित्र छिर्न नपाएपछि फर्किएका छन् ।

शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षामन्त्रीसँग भेट नगरि फर्किएको भन्दै समाजिक सञ्जालमा लेखेका छन्, ‘आज मिति २०८२ वैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौं । तर विशेष कारणवश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौं ।’ तर, सरकारले वार्ताका लागि २५ सदस्यीय टोली नै बनाएको भन्दै महासंघका नेताहरु फर्किएको बताइएको छ । 

सिंहदरबारमा वार्ताका लागि गएका शिक्षकहरु फर्किएपछि यो विषय अझैं टुंगो लाग्ने छाँट भने देखिन्न । यस्तोमा आन्दोलित शिक्षकहरु विद्यार्थीको भविष्यप्रति चिन्ता व्यक्त गर्न थालेका छन् । 

शिक्षक सडकमा छन् । संसदमा यो विषयमा विभिन्न बहस छेडिएका छन् । प्रतिपक्षी दलहरुले सरकारकै कारण शिक्षक सडकमै रहन पुगेको आरोप लगाइरहेका छन् । 

कांग्रेसले पनि शिक्षकका जायज माग पुरा गर्नुपर्ने र अघिल्लो सरकारले गरेका सम्झौता समझदारीलाई पालना गर्नुपर्नेमा जोड दिएको छ । 

शिक्षक आन्दोलन सडक केन्द्रत बनिरहेको बेला सरकारको नेतृत्व गरेको दल नेकपा एमालेले माहोल उत्तेजित बनाउनेबाहेक अन्य कुरामा ध्यान दिन खोजेको देखिन्न । एमालेले अहिले पनि शिक्षकका नेताहरुले राजनीति गर्न खोजेको आरोप लगाइरहेको छ । 

शिक्षक आन्दोलनका विभिन्न पाटा र पक्षमा सरकारले गम्भिरतापूर्वक कदम चाल्नुको सट्टा विवाद निम्त्याउनेमा ध्यान दिएको आरोप लागिरहेपनि शिक्षकहरु पनि व्यवहारिक बन्न सकेको भने देखिन्न । 

लाखौं विद्यार्थीको भविष्य डामाडोल हुने गरि चलिरहेको आन्दोलन र यसको परिपुरण कसरी हुन्छ ? जवाफसहित आन्दोलनलाई समाधानको बाटोमा लैजानुको आवश्यक छ । 

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  ०८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update