
काठमाडौं । शुक्रबारबाट संसदको बजेट अधिवेश शुरु भएको छ । अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने भनिएको थियो । तर, अन्य दलका शीर्ष नेताहरुको व्यस्तताले संसदमा उपस्थित नहुने भएपछि प्रधानमन्त्रीको सम्बोधन स्थगन गरियो ।
अधिवेशनको पहिलो दिन संसद परिसरमा कस्तो देखियो त माहोल ? कसले के भने ? अनि संसद बैठकमै कसले के विषयको उठान गरे त ? संसदको बजेट अधिवेशन शुक्रबारबाट शुरु भएको छ । अधिवेशनको पहिलो दिन सांसदहरुले विभिन्न विषयको उठान गरे ।
पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने तयारी त गरिएको थियो । तर, सत्ता गठबन्धन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नै शुक्रबारको बैठकमा उपस्थित नहुने अवस्था भएपछि प्रधानमन्त्रीको सम्बोधन तयारी स्थगित गरियो । संसद बैठकमा सम्बोधन नगरेपनि संसद बैठकबाट बाहिरिने क्रममा भने प्रधानमन्त्रीले वर्तमान सरकारको भविष्यबारे बताए ।
पत्रकारको प्रश्नको उत्तर नदिएरै मुस्कुराएर फर्किने तरखर गरेका ओलीले सवारीभित्रैबाट सरकारको भविष्यबारे भने बताए । उनले भने– अब १४ महिनामा शेरबहादुर देउवालाई हस्तान्तरण गर्छु ।
प्रधानमन्त्रीले सरकारको भविष्यबारे आफ्नो धारणा राख्दै गर्दा प्रमुख प्रतिपक्षी सांसदले बैठकमै सरकार विरुद्ध अनेक आरोप लगाए । नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले गठन भएको दश महिनासम्म सरकारले विचौलियको संरक्षण र प्रतिपक्षी दलहरुसँग प्रतिशोधन साँध्नेबाहेक केही गर्न नसकेको आरोप लगाए ।
धितोपत्र बोर्ड, बीमा प्राधिकरणजस्ता नियामक निकायमा भएका नियुक्ति र स्वार्थ समूहले आफ्नो प्रतिनिधिलाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गर्न गरिरहेको चलखेल दिनको घाम जत्तिकै छर्लङ्ग भएको उनले आरोप लगाए । प्रतिपक्षीले मात्र नभई आम नेपाली नागरिकले समेत वर्तमान सरकार दलाल, विचौलिया र स्वार्थ समूहको सरकार भनिरेको भन्दै उनले आक्रोश पोखे ।
नवनियुक्त शिक्षामन्त्रीदेखि अन्य सांसदले कुन विषयमा के भने त ?
प्रतिपक्षी सांसदहरुले सरकारको विरोध गर्ने अनि सत्ता पक्षले प्रतिरक्षा गर्नेबाहेक संसदको बजेट अधिवेशनको शुरुको दिन खास उपलब्धिमुलक देखिएन । यद्दपी, जनसरोकारका विषयहरु भने जोडतोडले उठे ।