
मुगु । कर्णालीमा उत्पादन भएको रैथाने बालीको उत्पादन खरिदमा ग्राहकको आकर्षण बढ्दै गएको छ । पछिल्ला केहिवर्ष देखि यातायातको सहज पहुँच पुगेसँगै मुगुमा उत्पादन हुने स्थानीय रैथाने अन्नबालीको माग ह्वात्तै बढेको हो । गतवर्ष मात्र सिमीजोन कार्यालयले ५० प्रतिशत ढुवानी अनुदान दिए पछि मुगु जिल्लाबाट बाहिरी जिल्लामा ३ करोड ९० लाखभन्दा बढीको रैथाने अन्नबाली निर्यात भएको छ ।
रैथाने बाली कुनै ठाउँ विशेषको स्थानीय हावापानीमा पाइन्छ । नेपालका प्रमुख रैथाने बालीमा छिर्केमिर्के सिमी, मिठे र तितेफापर, भागो, नेपाले भट्ट, सेतो भट्ट, मार्सीधान, पोखरेली जेठो बुढो, घैयाधान, जोरायल बासमती, दर्माली, गुडुरा, गौरिया, फुला उठ्ने साना दाना भएको मकै पर्छन् ।
त्यस्तै मगुमा मुख्य गरी कोदो, सिमी ,फापर, चिनो, कागुनो, उवा, जौ, जुनेलो ,भटमास , लट्टेजस्ता रैथाने बाली पाइन्छन् । रैथाने बाली सामाजिक तथा आर्थिक मूल्य बोकेका बालीहरू हुन्, जुन मानव भोजन र पशुबस्तुको चारो तथा आहाराका साथै औषधिजन्य प्रयोजनका लागि समेत प्रयोग गरिन्छन् ।
खाद्य तथा पोषण सुरक्षा र बाली विविधीकरणका लागि पनि रैथाने बाली महत्वपुर्ण मानिन्छन् । मुगु जिल्लाबाट मात्र यो बर्षमा उत्पादन गरीएको सिमी प्रति केजी १ सय ८० का दरले १ करोड २८ लाख र स्थानिय रैथाने अन्नबाली कागुनो,चिनो,फापर,भटमास, जुनेलो,लट्य,कोदो गरी ३ सय ७५ मेट्रीक टनको २ करोड ६२ लाख गरी ३ करोड ९० लाखको सामान अन्य जिल्ला निर्यात भएको छ ।
जिल्लाका विभिन्न बस्तीहरुबाट उत्पादन भएको अन्नबालीको ८,९ जना ब्यापारीहरुले मात्र प्रतिब्याक्ति २५ लाख देखी १ करोड सम्मको कारोवार गरेका छन् ।
राज्यका तिनै तहका सरकारले प्रत्येक वर्ष कृषि क्षेत्रमा करोडौको लगानी गरेपनि बालुवामा पानि हालेको जस्तो देखीन्छ ।
अब राज्यका तिनै तहका सरकारले कृषकहरुलाई कृषिमा अनुदानका कार्यक्रम, तालिम गोष्ठी, औजार उपकरण जस्ता सामाग्री सहयोग गर्ने र अनुगमनलाइ तिव्रता दिन आवश्यक छ । कर्णाली प्रदेशमा उत्पादन हुने रैथाने अन्नबालीहरुको संरक्षणमा सरकारले प्रथामीकता दिने हो भने देशको अथतन्त्रमा ठूलो टेवा पुग्नेछ ।