News 24 Television
फेरि विध्वंशकारी भूकम्पको भविष्यवाणि ! नसच्चिए सबै खतम !  

काठमाडौं । भूकम्प आउँछ भन्ने थाहा त सबैलाई छ, तर तयारी कहिल्यै पूरा हुँदैन । यहि हो हाम्रो विडम्बना । गोरखा भूकम्पले झस्काएको दशक वितिसक्दा पनि नेपाली समाजको भूकम्पप्रतिको समझदारी शब्दमा सीमित छ, व्यवहारमा होइन ।

घरका पर्खाल चिरा परेका छन् भने चेतनाका गारो अझै उस्तै बाक्ला छन् । चेतावनीहरू गुञ्जिए, योजना बने । तर, तयारीको कार्य न त संरचनामा, न नीतिमा, न नागरिक चेतनामा कहिल्यै शतप्रतिसत भएन । 

पीटीसी – एक दशकअघि बारपाक, गोरखा केन्द्रविन्दु भएर गएको विनाशकारी भूकम्पले लाखौं नेपालीको जीवन बदलिदियो । विसं २०७२ को वैशाख १२ गते ७.६ रेक्टर स्केलको कम्पनले देशलाई हल्लाएको त्यो कालो शनिबार अझै पनि जनमानसमा झस्किन बाध्य बनाउँछ । तर दुःखद सत्य के हो भने भूकम्पले होइन कमजोर संरचनाले धेरैको मृत्यु भएको थियो ।

गोरखा भूकम्पमा ज्यान गुमाएकामध्ये ९८% मानिसहरू घर वा भग्नावशेषले च्यापिएर मरेको तथ्यांकले देखाउँछ । 

बाँकी २% को मृत्यु अन्य कारणले भएको थियो । तर, भूकम्प गएको दशक पुगिसक्दा पनि, काठमाडौँका गल्लीदेखि पहाडी गाउँसम्मका भत्किएका घरहरूको मलिन पर्खालले त्यही पीडा झल्काइरहेको छ । पुनर्निर्माणका नाममा ठूला योजना बने, ठूला भाषण भए तर कार्यान्वयन सीमित मात्र छ ।

सुरक्षित घरको अभाव, जोखिम दोहोरिने खतरा

नेपालमा अझै पनि धेरै घरहरू भूकम्प प्रतिरोधी छैनन् । नयाँ घर बनाउनेहरू पनि प्राविधिक सल्लाह नलिई निर्माण गरिरहेका छन् । 

त्यसमाथि सहरीकरणको तीव्र गतिले समस्या झनै जटिल बनाइरहेको छ । 

आचारसंहिता विपरीत बनाइएका संरचना, साँघुरा सडक, खुला स्थानको अभाव, अनि स्थानीय तहमा भवन संहिता कार्यान्वयनको कमजोरीले गर्दा भविष्यमा फेरि त्यस्तै दिन नदोहोरिन्छ भन्न सकिने आधार छैन । 

भूगर्भविद्हरूका अनुसार भूगर्भमा ८ रेक्टरभन्दा माथिको भूकम्पको उर्जा संचित भइसकेको छ । यसको अर्थ अर्को ठूलो भूकम्प आउन सक्छ । 

समय थाहा छैन तर सम्भावना उच्च छ । विपद् व्यवस्थापन विज्ञहरू भन्छन पूर्वतयारी नै सुरक्षाको मूल मन्त्र हो । र, त्यसको पहिलो विकल्प हो भूकम्प प्रतिरोधी संरचना निर्माण ।

–    सबै नयाँ घरमा प्राविधिक डिजाइन र संरचनात्मक परीक्षण

–    पुराना कमजोर घरहरूको सुदृढीकरण

–    विद्यालय, अस्पताल, कार्यालय जस्ता सार्वजनिक भवनहरूको सुरक्षा सुनिश्चित

–    गैर–संरचनात्मक वस्तुहरू सुरक्षित राख्ने अभ्यास

–    स्थानीय सरकारको क्षमतामा लगानी र भवन संहिता कडाईका साथ लागू


पटक–पटकको गल्ती : कमजोर पूर्वतयारी

नेपाल भूकम्पको जोखिममा रहेको देश हो भन्ने कुरा अब पुरानो तथ्य जस्तो लागेपनि त्यसको गहिराइ अझैपनि धेरैले महसुस गर्न बाँकी नै छ । तर, जाजरकोटमा गएको ६.४ म्याग्निट्यूडको भूकम्पले यो सोचमा एक्कासि धक्का दियो र झकझक्यायो पनि । 

वि.सं. १९९० साल माघ २ गतेको भयानक भूकम्प सम्झँदै हरेक वर्ष नेपालभर सावधानी अपनाऔं, तैयारी गरौं भन्दै औपचारिक कार्यक्रमहरू गरिन्छ । पछिल्लो समय त बैशाख १२ गते स्मृती दिवस मनाउँदै सोही सन्देश प्रवाह गरिन्छ । तर, व्यवहारमा भने खासै लागू हुँदैन ।

विज्ञहरूले गोरखाभन्दा पश्चिम र देहरादूनभन्दा पूर्वको भूभागमा ८ म्याग्निट्यूडभन्दा ठूला भूकम्पको खतरा रहेको भनेर वर्षौंदेखि भन्दै आएका छन् । तर त्यही विज्ञहरूलाई डर देखाउने मान्छे भनेर हल्का पार्न खोजिन्छ । तर, गोरखा भूकम्पको दशक नपुग्दै जाजरकोटले दिएको झटारोले ती चेतावनीहरू कल्पना नभई यथार्थ थिए भन्ने कुरामा शंका गर्न ठाउँ बाँकी रहेन । 

२०७२ सालको गोरखा भूकम्पलाई पाठशाला बनाउने अवसर थियो । जहाँबाट पूर्वतयारी, जनचेतना र संरचनागत सुधारको पाठ सिक्न सकिन्थ्यो ।

तर २०८० सालको कार्तिक १७ गते राति रामीडाँडाको भूमिबाट निस्किएको कम्पनले फेरि उस्तै गल्ती दोहोर्याइरहेका छर्लंङ पारिदियो । सरकार भूकम्पपछि मात्रै ब्यूँझिन्छ तर भुल्न हतार गर्छ भन्ने बारम्बार पुष्टि भएको छ । 

सरोकारवाला निकायहरू आफैंले पनि स्वीकार गरेका छन् पूर्वतयारीमा कमजोरी छ । तर, सक्दो प्रयास गरिरहेका छौं भन्ने दाबी भने निरन्तर चलिरहेकै छ । 

चेतावनी होइन, चेतनाको खाँचो

भूकम्प आफैंमा प्राकृतिक प्रक्रिया हो जसलाई रोक्न सकिंदैन । तर चेतनशील, तयार र सजग रह्यौं भने असरलाई न्यून पार्न सकिन्छ । 

वैज्ञानिक प्रविधिले पूर्वसूचना दिन नसके पनि, सुरक्षित संरचना निर्माण, आपतकालीन तयारी, र जनचेतना अभिवृद्धिले ज्यान र सम्पत्तिको रक्षा गर्न सकिन्छ । चेतावनीको भर पर्नुभन्दा चेतना र तयारीमा जोड दिनु अत्यावश्यक रहेको जानकारहरूको तर्क छ । 

गोरखा भूकम्पदेखि जाजरकोटको धक्कासम्म नेपाली समाजका लागि सिकाइले भरिएको पाठशाला हो । तर, सिकाइलाई व्यवहारमा उतार्न सकेनौं भने पुनः विनाशको चक्र दोहोरिन सक्छ । अबको आवश्यकता डर होइन सुरक्षित संरचना, सक्षम सरकार, र सजग नागरिकको दृढ संकल्प हो । 

भूकम्पलाई टार्न सकिंदैन तर तयारी शतप्रतिशत भयो भने त्यसको प्रभाव घटाउन सकिन्छ । 

 

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  ०८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update