
पोखरा । योमामाई मोर्टस् प्रालिले नवौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई सहयोग गर्ने भएको छ । यही वैशाख २६ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’लाई सफल पार्न टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमामा ई मोटर्स प्रालिले सहयोग गर्ने भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ ।
मञ्चले वर्ष खेलाडी महिला तथा पुरुष विधाका विजेतालाई उक्त ब्राण्डको स्कुटरको पुरस्कार स्वरुप प्रदान गर्ने भएको छ ।
प्रालिका प्रबन्ध निर्देशक सञ्जिव शिल्पकारले विगत ९ वर्षदेखि निरन्तर रुपमा सञ्चालन हुँदै आएको पोखरा स्पोर्टस् अवार्डलाई सफल पार्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
प्रालिले मञ्चले सञ्चालन गर्दै आएको अवार्ड सफल पार्न यसअघिका वर्षहरुमा पनि निरन्तर सहयोग गर्दै आएको मञ्चका अध्यक्ष एमबि आस्था मगरले जनाएका छन् । उनका अनुसार गत वर्ष पनि एक लाख बढी सहयोग गरेको प्रालिले यस वर्ष पनि उक्त सहयोग नघट्ने गरी सहयोग घोषणा भएको बताए ।
प्रालिले वातावरण मैत्री टेल्जी ब्राण्डको लायन, टाइगर लगायत मोडलका ईलेक्ट्रिक स्कुटरहरुको देशैभर आधिकारीक विक्रेताका रुपमा काम गर्दै आइरहेको छ ।
अवार्ड कार्यक्रमको मिति नजिकिदै गर्दा सहयोगीहरु जोडिने क्रम समेत बढ्न थालेका छन् । नवौं संस्करणको यो अवार्डमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको विशेष सहयोग रहेको छ । त्यस्तै उदीयमान खेलाडी विधाको पुरस्कार प्रायोजन सहारा क्लब पोखरा, उत्कृष्ट प्रशिक्षक विधाको पुरस्कार प्रायोजन टाइगर ग्रुप अफ पोखरा नेपाल, उत्कृष्ट खेलकुद संस्था विधाको पुरस्कार प्रायोजन निट डेन्टल केयर र लाइफटाइम अचिभमेन्ट अवार्डको प्रयोजन सिटिजन फर्निचरले गर्ने सम्झौता भइसकेको छ । त्यसैगरि जिल्ला एथ्लेटिक्स सङ्घ कास्की, मदन भण्डारी स्पोर्टस् एकेडेमी, हेमबहादुर पुन स्मृति प्रतिष्ठान लगायतका संस्थाले समेत सहयोगको घोषणा गरिसकेका छन् ।
खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ । अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिदै आएको मञ्चले जनाएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो ।