News 24 Television
घर बनाइदिने अभियानमा मेयर सुशीला, ३८ घर हस्तान्तरण

काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिका वडा न.४ कौवापुरमा रहेको सहजपुर मुक्त कमैया शिविरमा निर्माण भएका ३८ वटा घरहरु हस्तान्तरण गरिएको छ । 

लम्कीचुहा नगरपालिकाका नगर प्रमुख सुशीला शाहीले ३८ वटा घरको साँचो र प्रमाण पत्र घर धनीहरुलाई हस्तान्तण गरेकी हुन् । 

वर्षौदेखि घामपानी, किरा फट्याङग्रा, सर्प–विच्छी र जंगली जनावरको डर त्रासमा आन्तरिक र बाह्या बाधा र व्यवधान सहेर जंगलको छेउमा रहेको शिविरमा बस्दै आएका मुक्त कमैयाहरुले सुरक्षित घर प्राप्त गरेपछि  खुशी व्यक्त गर्दै लम्कीचुहा नगरपालिकाकी प्रमुख शाहीलाई धन्यवाद व्यक्त गरेका छन् । 

दैनिक ज्याला मजदुरी गरि आफ्नो जिविकोपार्जन गरिरहेका सहजपुर शिविरका मुक्त कमैया नागरिकहरु नगरपालिकाले घर निर्माण गरिदिए पछि खुशी भएका हुन ।

लम्कीचुहा नगरपालिका नगर प्रमुख सुशीला शाहीले चुनावका बेला यो शिविरमा आउदा घर निर्माणसंगै अन्य कार्यक्रमहरु दिउला भनि बाचा गरेकी थिन् । अहिले आफुले चुनावका बेला गरेको बाचा अनुसार नै काम गरेको र आगामी दिनमा सबै नगरवासीका लागि प्रतिबद्ध भएर काम गरिरहने उनको प्रतिबद्धता छ । 

यस शिविरमा सुरक्षित नगर प्रमुख आवास कार्यक्रम अन्तरगत ३८ वटा घर निर्माण भएका छन् । 

२०८० को माघ महिनादेखि घर निर्माण कार्य शुरु भई २०८१ सालको जेठ मसान्तमा घरहरुको निर्माण कार्य सम्पन्न गरिएको थियो । 

लम्कीचुहा नगरपालिकाको ८० लाख १६ हजार २५० रुपैयाँ, हेविटाट, आरडीएन नेपालको ९४ लाख ५३ हजार ७५० रुपैयाँ र सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको ५१ लाख १० हजार ४०० रपैयाँ गरि जम्मा २ करोड ६१ लाख ६० हजार ४०० रुपैयाँमा शिविरका २२८ जना बस्ने गरि दुई कोठे घर र शौचालय निर्माण एवम हस्तान्तरण गरिएको हो । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  १४:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update