
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट नभत्किने खालका संरचना निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । शुक्रवार काठमाडौंमा गोरखा भूकम्पको १० औं स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
२०७२ सालको भूकम्पको क्षति नेपालको आर्थिक अवस्था, बजेट र क्षमताले पुनःनिर्माण भ्याउनसक्ने अवस्था नरहेको बताउँदै उनले भूकम्प प्रतिरोधी संरचना निर्माणमा जोड दिए । विपदबाट क्षति नहुने खालका संरचनाहरु तयार गर्ने, भूकम्पबाट नभत्किने खालका घरहरु बनाउनुपर्ने आवश्यकता रहेको उनले बताए ।
प्रधानमन्त्री ओलीले विपदबाट संरचनाको क्षति हुन पर्खिने नभएर क्षति हुनै नदिने गरी आवश्यक काम गर्नुपर्नेमा जोड दिए । उनले प्राकृतिक विपत्तिसम्बन्धी पूर्वतयारीमा विशेष जोड दिन आग्रह समेत गरे । भूकम्प गएर भत्किसकेपछि घर पुनःनिर्माण गर्ने भन्दा पहिला नै सुरक्षित भएर बस्ने बाटोमा लाग्नुपर्ने उनकाे भनाइ छ ।
प्रधानमन्त्री ओलीले भने, ‘२०७२ सालको भूकम्प जस्तो कुरा हाम्रो राष्ट्रले जतिसुकै रिजिलिएन्स भनेपनि हाम्रो राष्ट्रको आर्थिक अवस्थाले, बजेटले, हाम्रो क्षमताले पुनःनिर्माण भ्याउनसक्ने अवस्था होइन । यसो भएर हामीले पहिला त्यसबाट क्षति नहुने खालका संरचनाहरु तयार गर्ने, भूकम्पबाट नभत्किने खालका घरहरु बनाउनुपर्ने आवश्यकता छ । भत्किउन्जेल पर्खिने होइन, सकेसम्म पहिला नै कच्चा घर... । हाम्रा पहाडतिर प्रायः घरहरु कस्ता छन् भने डल्ला डल्ला ढुंगा, नमिलाएका ढुंगा त्यस्ता ढुंगाहरुमा माटो मिसाएर त्यत्तिकै एउटा पर्खाल लगाएको हुन्छ । अलिकति हल्लियो भने त्यो भत्किहाल्छ । धन्न भन्नुपर्छ, अहिलेसम्म पनि कतिपय यस्ता घरहरु बाँकी नै छन् । ति घरहरुलाई आफैँले हरेक व्यक्तिले पनि आफ्ना घरहरुलाई सुरक्षित कसरी बनाउने ? भन्ने कुरामा ध्यान दिनुपर्छ ।’
प्रधानमन्त्री ओलीले जस्तोसुकै समयमा पनि सुरक्षित हुने विधि अवलम्बन गर्न जरुरी रहेको बताए । उनले २०७२ को भूकम्पमा सुरक्षा, आम नागरिकहरुले गर्नुभएको सहयोग असाधारण रहेको बताए ।