
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सत्ताको नेतृत्वमा आएसँगै विध्वंश मच्चाउने गरेको प्रतिपक्षीको टिप्पणी छन् । हुनतः राजनीतिक तवरबाट विपक्षीबाट सँधै यस्ता आरोप रहेपनि ओलीको कदम र गतिविधिमा आम जनता पनि सन्तुष्ट रहेको अवस्था देखिन्न ।
प्रधानमन्त्री ओलीले पार्टीगत स्वार्थ र भ्रष्ट मनोभावमा लिप्त रहेको आलोचना विगत लामो समयदेखि नै खेप्दै आएका छन् । ओलीका केही कार्यशैली र निर्णयले पनि उनीमाथि अझ थप प्रश्न उठिरहेका छन् । सरकारका निकाय र मन्त्रालय नै सम्हालिरहेका केही राम्रै पात्रहरुलाई पनि अफ्ठ्यारोमा पार्ने र राजीनामा दिन बाध्य बनाउने कार्य गरेको ओलीमाथि आरोप थपिएका हुन् ।
ओलीबाट आजित तीन पात्र
कुलमान घिसिङ
तत्कालीन विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि ओली सरकारले लामै केरकार गरेको थियो । ओलीले कुलमान हटाउन सुरुका दिनदेखि नै प्रयास गरे । यद्यपि ओलीलाई कुलमान हटाउन ९ महिना नै लाग्यो । विद्युत बक्यौता उठाउने विषयमा प्राधिकरणको निर्णयमाथि सरकारले अंकुश लगाउनेदेखि अनियमितता गरेको भन्दै छानबिनका लागि समिति बनाउने तयारी समेत भएको थियो ।
विभिन्न बहनामा प्रष्टिकरण सोध्दै ओली सरकारले कुलमान हटाउन लामै प्रयास गरेपनि त्यो सम्भव भएको थिएन । तर गत चैतमा भने मन्त्रिपरिषद बैठकबाटै निर्णय गरेर कुलमानलाई सरकारले हटायो । उक्त निर्णयप्रति आलोचित ओलीले कुलमानलाई देवत्वकरण नगर्न चेतावनी दिइरहेका छन् ।
कुलमान बर्खास्तीकोे विषयमाथि उठेका प्रश्नमा उनी सरकारले एक कर्मचारीलाई हटाउने र नियुक्त गर्ने प्रकृया सामान्य भएको जवाफ दिँदै आएका छन् ।
केशरजंग बराल
त्रिभुवन विश्वविद्यालयको सुधारका लागि प्रयासरत उपकुलपति प्रा.डा केशरजंग बरालले पनि गत चैतमै पदबाट राजीनामा दिए । उनले राजीनामा दिनुको कारण प्रधानमन्त्रीकै कार्यशैलीमाथि जोड्ने प्रयास गरेका छन् । उनको राजीनामाको कारण स्वास्थ्य नै भनिएपनि खासमा प्रधानमन्त्रीसँग तालमेल नमिलेकै कारण बरालले पद त्याग गरेका हुन् । आफुले लिखित रुपमै लगेको कार्ययोजनालाई प्रधानमन्त्रीले पारित गर्ने अवस्था नदेखेपछि उपकुलपति बरालले पदबाट राजीनामा दिएका थिए । उनले राजीनामाको कारणमा प्रधानमन्त्रीको हस्तक्षेपलाई समेत संकेत गरेका थिए ।
विद्या भट्टराई
शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा प्रकरण पानि प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीसँग नै जोडेर चर्चा भइरहेका छन् । शिक्षामन्त्री भट्टराईले केही दिनअघि मात्रै स्वास्थ्यकै कारण देखाउँदै पदबाट राजीनामा दिइन् । यद्यपि उनको राजीनामाको कारण पनि प्रधानमन्त्रीसँग तालमेल नमिलेकै रुपमा व्याख्या भइरहेका छन् ।
शिक्षकहरुले शिक्षा ऐनको माग गर्दै करिब ३ सातादेखि काठमाडौंमा निरन्तर आन्दोलन गरिरहेका छन् । तर सरकारले यसको खास सुनुवाई गर्न सकिरहेको छैन । यस्तोमा शिक्षामन्त्री भट्टराईले वातावरण सहज पार्न समन्वय गरेपनि प्रधानमन्त्रीले त्यसको वेवास्ता गरे । यसैका कारण पनि उनी राजीनामा दिन बाध्य भइन् । तर प्रधानमन्त्री ओली भने शिक्षामन्त्रीले स्वास्थ्यको कारण राजीनामा दिएको दावी गरिरहेका छन् । राजीनाको कारण प्रधानमन्त्री नै भएको भन्ने चर्चामाथि ओलीको आपत्ति छ ।
यो विषयमा प्रधानमन्त्रीले जेजस्ता दावी गरेपनि कुनै न कुनै हिसावले उनको कार्यशैली पनि जोडिएको छ । मुख्यतः प्रधानमन्त्री ओली र शिक्षामन्त्रीबीच कार्यगत रणनीतिमा लय नमिल्दा राजीनामा आएको हो । यसमा शिक्षकको माग सम्बोधन र नेपालको शिक्षा प्रणाली बदल्ने प्रयासजस्ता विषय देखिन्छन् ।
शिक्षमन्त्री भट्टराई विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधार्ने नियतले नै यसअघि उपकुलपतिको राजीनामा फिर्ता गराउने मुडमा थिइन् । यद्यपि प्रधानमन्त्री ओलीले भने उक्त राजीनामा स्वीकृत गरिदिए । यी विविध कारणले पनि प्रधानमन्त्री र शिक्षामन्त्रीबीच सम्बन्ध सुमुधुर थिएन् । जसका कारण पनि उनले पदबाट राजीनामा दिएकी हुन् । यी केही त्यस्ता उदाहारणले पनि ठूलै अपेक्षा राखेका पात्रमाथि प्रधानमन्त्रीबाटै असहयोग हुँदा जनतामा थप नैराश्यता पैदा भइरहेका छन् ।