
रुपन्देही । पश्चिम नेपालमै रुपन्देहीको मायादेवी गाउँपालिका–६, बेथरीमा निजी क्षेत्रबाट पहिलोपटक सुविधा सम्पन्न क्यान्सर अस्पताल निर्माण शुरु भएको छ । भैरहवाका साथै अमेरिका र युरोपका विभिन्न मुलुकमा बस्दै आएका नेपालीहरुको लगानीमा सुमित्रा मेमोरियल क्यान्सर अस्पताल निर्माण थालिएको हो ।
रुपन्देहीको मायादेवी गाउँपालिका–६, बेथरीमा निजी क्षेत्रबाट पहिलोपटक सुविधा सम्पन्न क्यान्सर अस्पताल निर्माण कार्य शुरु भएको छ । अस्पतालको शिलान्यास लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका छन् ।
संचालक अर्जुन पौडेलका अनुसार क्यान्सर रोगको उपचार तथा गुणस्तरीय र सस्तोमा सेवा प्रवाह गर्ने लक्ष्यका साथ अस्पताल निर्माण थालिएको हो । २ बिगाहा ५ कठ्ठा क्षेत्रफलमा डेढ अर्ब रुपैयाँको लागतमा निर्माण सुरु भएको यो अस्पताल १ सय शैयाको हुनेछ ।
डेढ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको अस्पताल दुई चरणमा निर्माणको काम गरिनेछ । पहिलो चरणमा ५० बेड र दोस्रोमा थप ५० बेड गरी एक सय बेडको बनाइने पौडेलले बताए ।
अस्पताल शिलान्यास गर्दै मुख्यमन्त्री आचार्यले क्यान्सरजस्ता नसर्ने रोगको प्रभाव बढ्दै जानु मानव जीवनका लागि चिन्ताको विषय भएको बताए ।
उनले प्रदेश सरकारले क्यान्सरजस्ता गम्भीर रोग लागेका बिरामीहरूको उपचारका लागि सहयोग गर्दै आएको जनाउँदै पछिल्लो समय बिरामीको संख्या बढ्दै गएका कारण यो विषय थप चिन्ताजनक भएको बताए । बिरामी तथा तिनका परिवारले भोग्ने समस्याबारे आफूलाई राम्रोसँग जानकारी भएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले उपचारलाई प्रभावकारी बनाउन प्रदेश सरकारले प्राथमिकता दिएको बताए । उनले समाज परिवर्तन र विकासका निम्ति निजी क्षेत्रसँग सरकारले हातमालो गरेर अघि बढ्ने जनाए ।
मुख्यमन्त्री आचार्यले अहिले प्रदेश सरकारले हरेक वर्ष एक जना क्यान्सर विरामीलाई वार्षिक २ लाख रुपैयाँ सहयोग गर्दै आएको बताए । स्वदेशमै उपचार गराउने र सरकारले सहयोगका लागि सिफारिस गरेका ८ सय क्यान्सर विरामी प्रदेशमा रहेको जनाउँदै यसमा प्रदेश सरकारले १६ करोड रुपैयाँ बजेट छुट्याएको जानकारी दिए ।
अस्पताललाई आवश्यक सडक लगायतका पूर्वाधारमा सहयोग गर्ने उनको प्रतिबद्धता छ । विदेशमा कार्यरत क्यान्सर रोग विशेषज्ञ, नेपाली व्यवसायी, क्यान्सरबाट परिवारका सदस्य गुमाएका व्यक्ति, क्यान्सर सर्भाइभर तथा अन्य व्यवसायीहरूको संयुक्त लगानीमा अस्पताल निर्माण कार्य सुरु गरिएको हो ।