
सप्तरी । विरामी निको पार्ने काम अस्पतालको हो, तर कतिपय अस्पताल आफै विरामी अवस्थामा छन् । त्यसको एक उद्धाहरण सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल हो ।
यो अस्पतालमा सेवा थप गरेर स्तरोन्नति गर्नुपर्नेमा चालु रहेको सेवा पनि ठप्प भएको छ । त्यसैपनि कर्मचारी अभाव रहेको अस्पतालमा दरबन्दी भएका कर्मचारीहरू काज सरुवामा गएपछि अस्पताल यो अवस्थामा पुगेको हो ।
सप्तरीेको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा संचालित एचडियु सेवा पछिल्लो डेढ महिनादेखि ठप्प छ । प्रयाप्त जनशक्ति नभएको भन्दै गत फागुन २० गतेदेखि एचडियुमा उपकरण हुँदाहुँदै अस्पताल प्रशासनले सेवा ठप्प गरेको हो ।
गजेन्द्रनारायण सिंह अस्पतालमा दरबन्दी भएपनि विशेषज्ञ चिकित्सकहरू आफू अनुकुल अन्यन्त्र काजमा हुँदा अस्पतालको सेवा प्रभावित बनेको छ ।
विशेषज्ञ चिकित्सकहरू अभावका कारण अस्पतालको अवस्था दयनीय बन्दै गएको छ । कोरोनाको समयमा चार बेडको आइसियु संचालनको लागि आएको उपकरण थन्किएर राखिएको छ भने अस्पतालमा उपकरण हुँदाहुँदै पनि एचडियु सेवा बन्द छ ।
गजेन्द्रनारायण सिंह अस्पतालमा कन्सलटेन्ट एनेस्थेसियोलोजिष्टमा मात्र एक जनाको दरबन्दी रहेको छ । तर नवौ तहमा दरबन्दी भएका कन्सलटेन्ट एनेस्थेसियोलोजिष्ट डा. बिशालकुमार देव पनि २०८१ साउन ३० गतेदेखि अन्यन्त्र काज सरुवामा छन् ।
एनेस्थेसियोलोजिष्ट नभएकाले अस्पतालमा मेजर अप्रेशन हुन सक्ने अवस्था छैन । अस्पाताल प्रशासनको तथ्यांक अनुसार कन्सलटेन्ट रेडियोलोजिष्ट डा. प्रकाश ढकाल पनि २०८१ साउन १६ गतेदेखि काजमा छन् ।
त्यससँगै कन्सलटेन्ट डर्माटोलोजिष्ट डा. रन्जु पोखरेल, कन्सलटेन्ट साइक्लोजिष्ट डा. सुशिल समदर्शी, कन्सलटेन्ट पेडियाट्रिसियन डा. श्वेता गुप्ता, प्रमुख कन्सलटेन्ट जनरल फिजिसियन डा. अवधेशकुमार मिश्र र बरिष्ठ कन्सलटेन्ट अर्थोपेडिक सर्जन डा. इन्द्र ढकालको दरबन्दी गजेन्द्रनारायण सिंह अस्पतालमा भएपनि उनीहरु काजमा अन्यत्र छन् ।
दरबन्दीमा स्वास्थ्य मन्त्रालयले पठाएका चिकित्सक मन्त्रालयबाट काज मिलाउँदै आफु अनुकुल अन्यत्रै जाने प्रवृत्ति गजेन्द्रनारायण अस्पतालमा देखिएको छ । अस्पतालमा दरबन्दी भएका विशेषज्ञ चिकित्सकहरू नहुँदा मेडिकल अधिकृतमा दरबन्दी रहेका चिकित्सकहरूले विशेषज्ञको रुपमा सेवा दिइरहेका छन् ।
गत कार्तिक २७ गते अस्पतालका तत्कालिन मेडिकल सुपरिन्टेन्डेन्ट श्रीराम तिवारीले स्वास्थ्य मन्त्रालयलाई पत्राचार गर्दै काजमा रहेका चिकित्सकहरूलाई फिर्ता गरिदिन वा विकल्प व्यवस्था गर्न आग्रह गरेका थिए । तर हालसम्म कोहि पनि चिकित्सक अस्पताल फर्केका छैनन् ।