
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिक्षकहरुको माग वार्ताका माध्यमबाट नै सम्बोधन हुने बताएका छन् । अर्थ समितिको बुधवारको बैठकमा बोल्दै उनले विश्वमा ठूलठूला युद्धहरु र नेपालकै परिवेशमा १० वर्षे सशस्त्र द्वन्द्व वार्ताकै माध्यमबाट टुंगिएको भन्दै गुरुहरुका माग पनि वार्ताबाटै टुंगिने बताएका हुन् ।
उनले प्रधानमन्त्री, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसँग ज्ञापन पत्रका माध्यमबाट मागहरु राख्दा समाधान हुने ठाउँमा आन्दोलनमा आए पनि अब वार्ताका माध्यमबाट समस्या समाधान हुने जिकिर गरे । उनले सरकार र शिक्षकहरुबीच मन्त्रीपरिषदबाट सरकारले मागहरु सम्बोधन गर्ने र शिक्षकहरुले आन्दोलन फिर्ता लिएर काममा जाने अनौपचारिक सहमति भए पनि शिक्षकहरुले त्यसअनुसार अघि नबढेको बताए ।
सरकारले आगामी अधिवेशनबाट यथाशीघ्र विधेयक पारित गर्ने पक्षमा रहेको पनि बताए । उनले सरकार अहिले पनि समस्याको शिघ्र र सकारात्मक समाधानको पक्षमा रहेको बताए ।
उपप्रधानमन्त्री पौडेलले भने, ‘खासगरी यो शिक्षकहरुको आन्दोलनको विषय उठेको छ । शिक्षकहरु आन्दोलनमा आउनुभयो । सरकारले उहाँहरुलाई सम्मानपूर्वक नै सम्बोधन गरी आएको छ । सरकारको आग्रह के हो भने यो सरकारले शिक्षकका वा कुनै पनि समुदाय, वर्गका समस्या सुन्छ, समाधान गर्ने सामथ्र्यको सीमाभित्र रहेर समाधान गर्ने पहल पनि गर्दछ । त्यसकारण ज्ञापनपत्रमार्फतका माध्यमबाट पनि यो समस्या समाधान गर्न सकिन्छ । प्रधानमन्त्री, शिक्षामन्त्रीसमक्ष हाम्रा यि मागहरु पूरा हुन् भनेर पनि जान सकिन्थ्यो । खैर उहाँहरु आन्दोलनमा आउनुभयो । आन्दोलनमा आइसकेपछि सरकारले वार्तामा आउनुस् भनेर जोड दियो । वार्तामा आउन उहाँहरुले हिच्किचाउनु भयो । त्यस्तो अवस्थामा शिक्षा मन्त्रालयले फर्मली आउनु हुन्न भने इनफरमल्ली आउनुस् भन्यो । यो तहसम्म जान सकिन्छ भनेर छलफल पनि भयो । ...सरकार अहिले पनि यस समस्याको शिघ्र र सकारात्मक समाधानको पक्षमा छ । ठूला युद्धहरु त वार्ताका माध्यमबाट समाधान भएका छन्, हामी आफ्नै देशको सन्दर्भमा पनि १० वर्षको शसस्त्र द्वन्द्व वार्ताका माध्यमबाट टुंग्याएका हौँ भने शिक्षकहरुसँगको गुरुवगएसँगको समस्या वार्ताका माध्यमबाट टुंगिदैन भन्ने मलाई लाग्दैन । टुंगिन्छ, समय त लागेको छ । वार्ताका माध्यमबाट नै टुंगिन्छ ।’
उपप्रधानमन्त्री पौडेलले वर्तमान सरकारले शिक्षकसहित कुनै पनि वर्ग र समुदायका समस्या सुन्ने र सामर्थ्यको माध्यमबाट समाधान गर्ने बताए ।