News 24 Television
एमालेको युवा र्‍यालीले के देखाउँछ- सत्ताको शक्ति कि असुरक्षा ?

काठमाडौँ । सत्तामा स्वयं रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा काठमाडौंमा ४० वर्षमुनिका युवाको विशाल जमघट गर्दैछ। जनतालाई सन्देश दिनका लागि भन्दै आयोजना गरिएको यो कार्यक्रमले अनेकौं प्रश्नहरू पनि जन्माएको छ ।

तर, मुख्य प्रश्न भनेको हो- सत्तामा बसेको पार्टीले नै सडकमा भिड किन उतार्नुपर्‍यो ?

यो र्याली एमालेको शक्ति प्रदर्शन हो कि आन्तरिक असुरक्षाको संकेत ? किनकि सामान्यतया सडक संघर्ष प्रतिपक्षका हतियार हुन्, सत्ताधारी दल भने नीतिगत कार्यक्रम, सुधार र कार्यान्वयनमार्फत जनतासँग संवाद गर्नुपर्ने हुन्छ ।

प्रधानमन्त्री ओली नेतृत्वको यो पहलले सत्ता र सडक बीचको सन्तुलन होइन, विडम्बना देखाउँछ। यदि सत्ताको सम्पूर्ण संयन्त्र एमालेको हातमा छ भने, उनीहरूले जनता, विशेषगरी युवासामु देखाउनु पर्ने थियो योजना, परिणाम र सम्भावना । भिड होइन ।

युवाशक्ति कि युवामोहरा ?

४० वर्षमुनिका युवाहरूलाई लक्षित गरेर आयोजित यो अभियानले, सतही रूपमा हेर्दा, युवा सहभागिताको सन्देश दिन खोजे जस्तो देखिन्छ । तर गहिरो विश्लेषण गर्दा यसले सत्ता पक्षले आफ्नै आधारवर्गमा पुनः ऊर्जा भर्ने प्रयत्न गरेको स्पष्ट हुन्छ।

के वास्तवमै यी युवालाई नीति निर्माणमा समावेश गरिने हो ? कि उनीहरू केवल राजनीतिक र्‍यालीको 'हेड काउन्ट' बन्ने हुन् ?

संवादको अभाव, भिडको प्रयोग

यथार्थमा सरकारको लोकप्रियता घट्दो अवस्थामा रहेको सन्दर्भमा, एमाले नेतृत्वले भिडमार्फत जनसमर्थन देखाउने रणनीति अख्तियार गरेको जस्तो देखिन्छ। तर, भिडको संख्याले शासनको गुणस्तर मापन गर्न सकिँदैन।

जनताले प्रतिक्षा गरिरहेको कुरा हो- रोजगारी, शिक्षा, स्वास्थ्य, र भविष्यको सुनिश्चितता। भीड र नाराले ती प्रश्नहरूको उत्तर आउँदैन।

निष्कर्ष : सरकारको विश्वसनीयता भिडले होइन, परिणामले नापिन्छ ।

सत्तामा बसेको पार्टीले यदि अझै सडक प्रदर्शनको आवश्यक अनुभव गरिरहेको छ भने, त्यो जनविश्वासको गहिरो संकटको संकेत हो। भिडले क्षणिक सन्देश त दिन सक्छ, तर दीर्घकालीन विश्वास निर्माण शासन प्रणाली, जवाफदेहिता र पारदर्शितामार्फत मात्र सम्भव हुन्छ।

युवालाई साँच्चिकै केन्द्रमा राख्नुपर्छ भने- उनीहरूलाई आवाज होइन, निर्णय दिने ठाउँमा पुर्‍याउनुपर्छ।

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update