News 24 Television
शिक्षकको हठले विद्यार्थी बर्बाद ! प्रधानमन्त्रीले दिए चेतावनी 

काठमाडौँ । शिक्षक आन्दोलनको २० औं दिनमा पुरा भइसकेको छ । शिक्षक आन्दोलन ऐनको माग राख्दै अनिश्चिततातर्फ जाने खतरापछि प्रधानमन्त्री केपी ओलीले विद्यालयमा फर्किन अपिल गरिरहेका छन् । प्रधानमन्त्रीले गरिरहेको अपिलमा के शिक्षकहरु तयार होलान् त ? उसोतः शिक्षक आन्दोलन चलिरहेको बेला शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन् । उनले प्रधानमन्त्री समक्ष राजीनामा बुझाएसँगै अब शिक्षकको आन्दोलन के होला भन्ने शंका समेत थप बल्झिएको छ ।

शिक्षा ऐनको माग गर्दै चलिरहेको आन्दोलनले विद्यार्थीको भविष्य अन्योलतातर्फ हेलिने खतरा बढेको छ । सामूदायिक विद्यालयको नियमित पठनपाठन हुन नसक्दा विद्यार्थी तनावमा छन् भने कक्षा १२ को परीक्षा समेत के हुने हो भन्ने शंकातर्फ धकेलिएको छ । यस्तोमा काठमाडौं केन्द्रित आन्दोलनमा रहेका शिक्षकहरुले शिक्षा ऐनबाहेक अन्य विषयमा सहमत नहुने भनिरहेका छन् । के सरकारले शिक्षा ऐन आजको भोलि ल्याउने स्थिति छ ? पक्कै पनि यो सम्भव देखिन्न ।

यता, शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा होमिएको २० औं दिन पुगेको छ । शिक्षकहरु सडक नछाड्ने स्थितिमा पुगेपछि प्रधानमन्त्री केपी ओलीले आन्दोलन फिर्ता लिएर विद्यालय फर्किन अपिल गरिरहेका छन् । शिक्षकहरु आन्दोलनमा रहनुको खास अर्थ नहुने भन्दै उनले ऐन सरकारले ल्याउने प्रतिबद्धतासहित विद्यालय फर्किन भनिरहेका हुन् । 

शिक्षकहरुले आन्दोलन नछाड्ने छाँट देखाउदा प्रधानमन्त्री आक्रोशित समेत देखिन्छन् । उनले ऐन हामीले ल्याएको हो भन्नलाई सडकमै रहेको हो भन्दै प्रतिप्रश्न समेत गरिरहेका छन् । 

सरकारले शिक्षकका मागमा गम्भिरता देखाउने भन्दा पनि शिक्षकहरुले उधारो सम्झौता नहुने भनिरहेका छन् । यसको अर्थ उनीहरुले ऐनको विषयलाई मुख्य विषय बनाइरहेका  छन् । 

ऐन तत्काल असम्भव

शिक्षा ऐन अध्यादेशमार्फत ल्याउने बाटो बन्द भइसकेको छ । सरकारले बैशाख १२ गतेदेखि संसदको दुबै अधिवेशन आह्वान गरिसकेकाले अध्यादेश ल्याउने बाटो बन्द भइसकेको छ भने संसद सुरु हुने वित्तिकै बजेटका विभिन्न काम र प्रक्रियाका कारण बैशाख २३ अघि सम्भव नभएको सरकारले भनिसकेको छ । यस्तो स्थितिमा शिक्षा ऐन बैशाख २३ मा संसदमा पुगेपछि संसदीय प्रक्रिया पुरा गर्दा कम्तिमा पनि १५/२० दिन लाग्ने स्थिति हुन्छ । 

अत्याधिक छिटो प्रक्रियामा लैजादा पनि १०/१५ दिन लाग्ने स्थिति हुन्छ । यस्तोमा शिक्षक आन्दोलन ऐनमै केन्द्रित बनेमा जेठ पहिलो हप्तासम्म सामूदायिक विद्यालयको अवस्था बन्दको स्थितिमा हुनेछ । 

यसले सार्वजनिक शिक्षा प्रणाली गम्भीर संकटमा फस्नेछ । जुन विषयले नेपालको शिक्षा प्रणालीमाथि नै ठूलो चुनौति थपिनेछ । यता, कक्षा १२ को परीक्षा समेत तनावमा परिणत हुनेछ । यस्तो स्थितिमा आम अभिभावक शिक्षकविरुद्ध सडकमा आउने स्थिति समेत बन्नसक्छ । यसर्थ शिक्षक आन्दोलनको सेफ ल्याण्डिङको योजना तत्काल आउन नसके तनाव छिट्टै सिर्जना हुने अवस्थातर्फ मुलुक जान थालेको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update