News 24 Television
शिक्षकमाथि संकटको संकेत ! अभिभावक खतरा बन्न सक्ने !  

काठमाडौं । शिक्षकहरु सडकमा उत्रेको आइतबार १९ दिन पुगिसक्यो । बानेश्वरदेखि माइतीघरसम्मको मुख्य सडकमा भेला भएका शिक्षकको आन्दोलनका कारण सडक जाम मात्रै भएको छैन्, यातायात, मजदुरको रोजीरोटी समेत खतरामा परेको छ । यता, सर्वसाधारण पनि सडक प्रयोगबाट तनाव खेपिरहेका बेला विद्यार्थीको भविष्य समेत थप अन्योलतातर्फ होमिएको छ । 

पछिल्ला १९ दिन यता शिक्षकहरु काठमाडौंका सडकमा छरिएका देखिन्छन् । शिक्षा ऐनको माग उनीहरुको एजेण्डा छ । यसै एजेण्डालाई सडकबाटै दबाब दिइ स्थापित गराउने उनीहरुको उद्देश्यक छ । माइतीघरदेखि नयाँबानेश्वरसम्मको सडक छेकेर प्रदर्शन गरिरहेका  शिक्षकको आन्दोलनले सडक जाम मात्रै भएको छैन्, यातायात, मजदुरको रोजीरोटी समेत खतरामा परेको छ । यता, सर्वसाधारण पनि सडक प्रयोग गर्नसमेत तनाव खेपिरहेका छन् । 

शिक्षकहरुले विभिन्न माग राख्दै गरेको आन्दोलन लम्बिदै जाँदा सामूदायिक विद्यालयको भर्ना समेत प्रभावित बनिरहेको छ भने कक्षा १२ को परीक्षा समेत अन्योलतामा धकेलिएको छ । यस्तोमा शिक्षकहरु आन्दोलन नरोक्ने र ऐन अनिवार्य भनिरहेका छन् । यसले नेपालको समग्र शिक्षा प्रणालीमै संकट आउने खतरा देखिएको छ। आन्दोलनमा रहेका शिक्षकहरुले भनिरहेका छन्, ऐन नआएसम्म आन्दोलन रोकिन्न । कक्षा २ को परीक्षामा सहभागि हुन्नौं । 

सडकमा नाचगानदेखि रमाइलो गर्दै आन्दोलन गरिरहेका शिक्षकहरुले सेवा सुविधा, वृद्धि विकासदेखि स्थायीसम्मका मागहरु राखिरहेका छन् । यस्तोमा शिक्षक आन्दोलन समस्याको रुपमा देखिन मात्रै थालेको छैन्, लाखौं विद्यार्थीको भविष्यमाथिको संकटको रुपमा समेत देखा पर्न थालेको  छ ।

सडकमा उत्रिएका शिक्षकहरुले मागिरहेको ऐन बैशाख २३ अघि सम्भव नरहेको सरकारले भनिरहेको छ । सरकारले शिक्षा ऐन बैशाख २३ गते संसदमा पेश गर्ने गरि तयारी गरिरहेको भन्दै जायज माग पुरा हुने भनिरहेको छ । तर, शिक्षकहरु माग पुरा नभएसम्म आन्दोलन नछाड्ने भनिरहेका छन् । 

यस्तो स्थितिले के देखिन्छ भने कम्तिमा पनि वैशाख २३ गतेसम्म शिक्षक आन्दोलन चल्नेछ । तर, कक्षा १२ को परीक्षा यहि ११ गतेबाट सञ्चालन गर्ने कार्यतालिका छ । यसरी परीक्षामा सहभागी नहुने भनिरहेका शिक्षकका कारण अब शैक्षिक संकट आउने खतरा बढ्न थालेको छ ।

अभिभावक आन्दोलित बने के होला ?

शिक्षकहरुले सडकमा आफ्ना माग राख्दै गरेको आन्दोलनका कारण विद्यार्थीको भविष्य अन्योलतातर्फ जाने निश्चित बन्न थालेको स्थितिमा लाखौं विद्यार्थीका अभिभावकहरु आन्दोलनमा आउने खतरा समेत बढ्दै गएको छ । 

अभिभावक संघहरुले पनि शिक्षक आन्दोलनका कारण विद्यार्थीको भविष्यमा असर पर्न नदिन के गर्न सकिन्छ भन्ने छलफल गर्न थालेका छन् । यस्तो स्थितिले अभिभावक पनि आन्दोलित बन्ने स्थिति बनेमा शिक्षक आन्दोलन, सरकार र अभिभावकबीचको द्वन्द्ध थप चर्किनेछ । जुन विषयले समग्र शैक्षिक प्रणालीमाथि नै ठूलो संकट आउने खतरा देखिन्छ ।

सरकार उदासिन

शिक्षकहरु सडकमा आउने कुरा सरकारलाई पहिले नै थाहा थियो । यस्तो स्थितिमा सरकारले पनि कानून निर्माणका लागि पर्याप्त ध्यान दिन उचित ठानेन् । 

दलीय रुपमा हुने शिक्षकका संगठनहरुले नै आन्दोलन माथि आउन दिन्नन भन्ने ठानेका दुई ठूला सत्तारुढ दलहरुको अनुमान ठिक उल्टो बन्न पुग्यो । सरकारले माग पुरा गर्ने विषयलाई हल्का रुपमा लिदा शिक्षक आन्दोलन अब ऐनबाहेक स्थगित गर्ने स्थिति समेत देखिन्न ।

नियन्त्रण गुमाइसकेको आन्दोलन अबको निकासका लागि समेत संघर्षरत देखिन्छ । तर, सरकारले समयमै पहल थाल्न नसक्दा स्थिति थप बिग्रिदै गएको छ । सरकार उदासिन भएकै कारण शिक्षकहरु सडकमा हुने र विद्यार्थीको भविष्य डामाडोल हुने स्थिति बनेमा यसले मुलुकको शिक्षा प्रणालीमाथि नै ठूलो प्रभाव पार्नेछ । 

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  ०९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update