
काठमाडौं । चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीहरुको हिंसात्मक प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशम्सेर राणा प्रहरी हिरासतमै छन् । आफ्ना नेता कार्यकर्तालाई छुटाउन दबाब दिनकै लागि राप्रपाले आइतबारदेखि आन्दोलन थालेको छ । निषेधित क्षेत्र समेत तोड्ने औपचारिक निर्णय नै गरेर राप्रपा आन्दोलनमा उत्रिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा यतिबेला संघीय लोकतान्त्रिक गणतन्त्रात्मक ब्यवस्थापको विरोधमा निर्णायक आन्दोलनमा होमिएको छ । खासगरी चैत १५ गते राजावादीहरुको काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको क्रममा पक्राउ परेका नेता कार्यकर्तालाई रिहाईका लागि नै राप्रपाले दबाबमुलक कार्यक्रम थालेको हो ।
आफ्ना नेता कार्यंकर्तालाई रिहा नगरिएसम्म आन्दोलन जारी राख्ने घोषणा गरेको राप्रपाले आइतबार पहिलो दिन नै निषेधित क्षेत्र तोडेर अघि बढ्ने घोषणा गरेको थियो । राप्रपाले निषेधित क्षेत्र तोड्ने औपचारिक निर्णय नै गरेपछि शनिवार मात्रै गृहमन्त्रालयले सूचना नै जारी गरी संयमित हुन आह्वान गरेको थियो । त्यसैले चैत १५ गते तीनकुनेको जस्तो अवस्था हुन नदिनकै लागि प्रहरीले सुरक्षा रणनीति अपनाएको थियो ।
नयाँ बानेश्वर, भद्रकाली तथा बालुवाटारको निषेधित क्षेत्र तोड्ने बताए पनि त्यो किसिमको कार्यकर्ता उपस्थित हुने अवस्था भने थिएन । त्यसैले संसदीय दलको कार्यालयमा जाने बाहनामा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदहरुले सिंहदरबार भित्रै सांकेतिक विरोध गरेर निषेधित क्षेत्र तोड्ने रणनीति अपनाए ।
सिंहदरबार भित्रै प्लेकार्ड प्रदर्शन गरेपछि लिङदेनसहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लियो । र, दिनभरी नै जिल्ला प्रहरी परिषद् भद्रकालीमा राख्यो । प्रहरी नियन्त्रणमा परेपछि पनि राप्रपा अध्यक्ष लिङदेनले आफ्ना नेता कार्यकर्ता नछाडिएसम्म आन्दोलन नरोकिने बताए ।
सिंहदरबार भित्रै सांकेतिक विरोध गर्ने क्रममा लिङदेनसहित ७ जना नेताहरु पक्राउ परे पनि सांंसद दीपक सिंह भने प्रहरीबाट फुत्किएर बानेश्वरको प्रदर्शनमा सहभागी हुन पुगेका थिए ।
सिंहले आफू प्रहरीबाट फुत्किएर आएको उद्घोष गर्दै आन्दोलनकारीलाई उत्साहित बनाउँदै गरे पनि प्रदर्शन लामो समय टिक्न सकेन । सिंहदरबारबाट बानेश्वर आएर प्रदर्शनमा सम्बोधन गर्ने तयारी गरेका लिङदेनसहितका नेताहरु समातिएपछि पहिलो दिनको प्रदर्शन स्थगित गरी केन्द्रीय कार्य सम्पादन समितिको आकस्मिक बैठक बोलाइएको थियो ।
बैठकले सरकार सर्वसत्तावादी र निरंकुश भएको निश्कर्ष निकाल्दै गर्दा सातै जना नेता आइतबार बेलुका नै छाडिएका थिए ।
राप्रपा नेताहरुलाई पूर्वराजाको साथ
राप्रपाले आइतबारदेखि निर्णायक आन्दोलन थाल्ने घोषणा गरेपछि पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासमै बोलाएर नेताहरुसँग छलफल गरेका थिए ।
राप्रपा अध्यक्ष लिङ्देनसहित पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी, विक्रमबहादुर पाण्डे, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र ज्ञानबहादुर शाही निर्मल निवास पुगेका थिए ।
राजावादीहरुलाई एक ठाउँमा ल्याएर आन्दोलन चर्काउने योजना अनुसार नै पूर्वराजा ज्ञानेन्द्रकै निर्देशनमा पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा आन्दोलन समिति बनेको थियो । तर राप्रपा नेताहरुले सुवेदीको नेतृत्व सहज स्वीकार गरेनन् । अझ सुवेदीले विवादित मेडिकल ब्यवसायी दुर्गा प्रसाईँलाई आन्दोलनको कमाण्डर बनाएपछि राप्रपा अध्यक्ष लिङदेन नै असन्तुष्ट थिए ।
त्यसैले आफ्नै नेतृत्वमा आन्दोलन गर्ने लिङदेनले राप्रपामा निर्णय गराएका थिए । यद्यपि बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशम्सेर राणा नै सुवेदी नेतृत्वमा समितिमा बसेपछि पार्टी विभाजनको खतरा उत्तिकै थियो । त्यसैले पार्टी फुटबाट जोगाउनकै लागि पनि लिङदेन सुवेदी नेतृत्वको कार्यक्रमलाई साथ दिनुपर्ने बाध्यतामा थिए ।
राप्रपाको आन्दोलनको २ दिन अघि मात्रै निर्मल निवासमै बोलाएर ज्ञानेन्द्रले मन्त्रणा गरेपछि राप्रपा नेताहरु आन्दोलन चर्काउने मोडमा छन् । तर कांग्रेस, एमाले र माओवादी प्रमुख ३ दल नै गणतन्त्रको रक्षाका लागि एक ठाउँमा उभिने निर्णय गरेपछि राजावादीहरुको शक्ति कत्तिको बलियो बन्ला अहिले नै भन्न सकिदैन ।