
रुपन्देही । बुटवलको जितगढीमा नेपाल–अंग्रेजका बीचमा भएको युद्धमा नेपालले विजय हासिल गरेको दिनको सम्झनामा जितगढी उत्सव मनाइएको छ ।
१८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको थियो । सोही दिनको सम्झनामा खुशीयाली साट्न गोरखादेखि जितगढीसम्म नेपाली सेनाले पैदलयात्रा गरेको छ, भने बुटवल उपमहानगरपालिका र नेपाली सेनाले संयुक्त रुपमा जितगढी उत्सवको समारोह समेत आयोजना गरेको छ ।
नेपाल–अंग्रेज युद्धमा नेपाली सेनाले अग्रेज सेनालाई परास्त गरेको ऐतिहासिक स्थल हो , जितगढी किल्ला । २ सय १० बर्ष पहिले अंग्रेज फौजलाई परास्त गरेको यहि ऐतिहासिक स्थलमा बुटवल उपमहानगरपालिका र नेपाली सेनाले आइतवार जीतगढी उत्सव मनाएको छ ।
विस १८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको थियो । अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापा नेतृत्वको नेपाली फौजले विभिन्न स्थानमा युद्ध लडे पनि जित हात पार्न सकेको थिएन । कुमाउ–गडवाल (नाहान), मकवानपुर गढी, कोशी–टिस्टा र बुटवल जितगढीमा अंग्रेज फौजसँग लडाई भयो । तर बुटवलमा भने नेपालले जित हासिल गरेको थियो ।
यहि ऐतिहासिक विजयको प्रतिकको रुपमा जीतगढी किल्लाको सन्देश विश्वभर फैलाउन बुटवलले बैशाख ७ गतेलाई जीतगढी उत्सवका रुपमा मनाउने गरेको छ ।
पाल्पा राज्य कब्जा गर्न गोरखपुरबाट जनरल उडको नेतृत्वमा अंग्रेज फौज नेपालतर्फ अघि बढेको थियो । अंग्रेज फौज जितगढी आइपुगेपछि नेपाली सेनासँग घमासान युद्ध भएको थियो ।युद्धमा अंग्रेज टोलीले ठूलो क्षति बेहोरेर फिर्ता गएको थियो । केहि बर्ष अघि सम्म भग्नावशेषका रुपमा रहेको जितगढीको त्यहि ऐतिहासिकता बचाउने गरि नेपाली सेना र स्थानीय सरकार मिलेर किल्लाको संरक्षण गरिएको छ । नेपाली सेनाले किल्लामा पुरातात्विक संरचनाको संरक्षण र ऐतिहासिक झल्कने संरचना तयार पारेको छ ।
यस्तै, जितगढी विजय उत्सव समारोहमा पुगेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जितगढीको प्रवद्र्धनका लागि प्रदेश सरकारको तर्फबाट समेत सहयोग गर्ने प्रतिबद्धता जनाए ।
नेपाली सेनाले बुटवलको तिनाउ नदी किनारमा अवस्थित जितगढी किल्लालाई राष्ट्रियता र गौरवको क्षेत्रका रुपमा लिने गरेको छ । पाल्पा बुटवल क्षेत्रको नेतृत्व गरेका कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले कुशल रणकौशल प्रदर्शन गरी अंग्रेज फौजलाई पराजित गरेको सम्मानमा गोरखा देखि जीतगढी किल्ला सम्म नेपाली सेनाले पैदलयात्रा समेत ग¥यो । ऐतिहासिक स्थलको प्रचार प्रसारका लागि पैदल यात्रा गरिएको हो ।
उत्सवको अवसरमा गोरखाबाट विजय उत्सव मनाउन आएको नेपाली सेनाको पैदलयात्री टोली तथा बुटवलबाट सहभागी बिभिन्न जात जाती, संघ संस्था , निकायका झाँकीले नगर परिक्रमागर्दै जितगढी किल्लामा पुगेर सभामा परिणत भएको थियो ।
बुटवल उपमहानगरपालिले हरेक बर्ष बैशाख७ गते जीतगढी उत्सव मनाउने गरेको छ । आईतवारनै बुटवलको अस्पताल चोकमा राष्ट्रिय झण्डोत्तोलन गरिएको छ । राष्ट्रिय झण्डाको सम्मान स्वरुप २५ मिटरको पोल निर्माण गरि राष्ट्रिय झण्डा राख्ने ब्यबस्था समेत गरिएको हो ।