News 24 Television
हेर्दाहेर्दै ७ करोड स्वाह ! उद्योगीहरु डामाडोल !

रुपन्देही । गत हप्ता तीनदिनसम्म परेको अविरल वर्षाले रुपन्देहीमा सात करोडभन्दाबढी रुपैयाँ बराबरका काँचो इँट्टा नष्ट भएका छन् । वर्षाले दुईदर्जन बढी इँट्टा उद्योगमा पकाउनका लागि तयार पारिएको काँचो इँट्टा नष्ट भएको हो । 

गतहप्ता लगातार तीनदिनसम्म परेको वर्षाले रुपन्देहीमा सात करोडौं रुपैयाँ भन्दा बढीको क्षति पुगेको छ । वर्षाका कारण यहाँ दुई करोड ५० लाख गोटाभन्दा बढी काँचो इँट्टा नष्ट भए । 

भट्टामा पकाउनका लागि तयारी अवस्थामा राखेका बेला पानी परेपछि उद्योगीले क्षति व्यहोर्नु परेको हो । उद्योगीका अनुसार जिल्लामा संचालित २६ उद्योगले पकाउन तयार पारेको सबै काँचो इँटा कामै नलाग्ने गरी नष्ट भएको छन् । 

यसबाट व्यवसायीलाई साढे ७ करोड रुपैयाँ बढीको क्षति पुगेको लुम्बिनी इँटा उद्योग व्यवसायी संघले जनाएको छ । माटो र भस्कटमा सरकारैपिच्छे चर्को कर लिनु र कोइलाको मूल्य बढ्दा उद्योगी मारमा छन् । अझ पछिल्लो चार वर्षदेखि इँटा विक्री ह्वात्तै घटेको छ । उद्योगीका अनुसार काँचो इँटा नष्ट भएपछि पुनःप्रयोगमा ल्याउन मिल्दैन । 

इँटा उद्योग पूर्णरुपमा चार–पाँच महिनामात्रै संचालनमा आउँछन् । वर्षात्को समयमा बन्द हुन्छन् । त्यसैमाथि वर्षात्ले पकाउन तयार पारिएको काँचो ईंटा नष्ट गरेपछि उद्योगीमा थप चिन्ता थपिएको छ ।

इँट्टा उद्योग बन्दको क्रम बढ्दो

-  पछिल्लो समय रुपन्देहीमा इँट्टा उद्योग धमाधम बन्द भइरहेका छन् । 

-    एक दशक अघिसम्म ५२ इँट्टा उद्योग रहेको रुपन्देहीमा हाल २६ वटा मात्रै सञ्चालित छन्, भने बाँकी

बन्द भइसकेका छन् । 

-   सञ्चालित उद्योगले समेत बजारमा माग नहुँदा ५० प्रतिशतको हाराहारीमा मात्रै उत्पादन गरिरहेका छन् । 

-  संकटमा रहेका उद्योगमा वर्षाले वर्षेनी थप क्षति पुर्याउदैँ आएको छ । तर, काँचो इँट्टाको बीमा भने हुन सकेको छैन । 

बीमाका लागि पटक–पटक पहल गर्दासमेत बीमा कम्पनी र सरकारी पक्षबाट वेवास्ता भइरहेको उद्योगीको गुनासो छ ।

जिल्लामा संचालित इँटा उद्योगमा करिब १० अर्ब लगानी छ । यी उद्योगले मुलुकलाई वर्सेनि करोडौं रुपैयाँ कर तिर्छन् । 

त्यसैले बर्सेनि करोडौं रुपैयाँको क्षति व्यहोर्दै आएका उद्योगीलाई सहयोग पुर्याउन सरकारकै पहलमा काँचो इँटाको बीमाको व्यवस्था गरिनुपर्ने, स्थानीय तहले माटो र भस्कटमा लगाउँदै आएको मनपरी कर नियन्त्रण गर्नुपर्ने, इँटाको विकल्पमा कंक्रिटको प्रयोग रोक्नुपर्ने, ढुवानीलाई सहजीकरण गर्नुपर्ने लगायतका माग उद्योगीका छन् । 

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  ०९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update