काठमाडौं । ऐतिहासिक सहर दोलखा बजारमा वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथ जात्रा जारी छ । ९ दिनसम्म चल्ने मच्छिन्द्रनाथको जात्रा चैत शुक्ल पूर्णिमाको दिन गत शनिबारदेखि शुरु भएको हो ।
करिब ५ सय वर्ष अघिदेखि शुरु भएको मानिने यो जात्रा चैत्र पूर्णिमाको दिन दुधमा स्नान गराएपछि शुरु हुने प्रचलन छ ।
काठमाडौँ उपत्यकाको रातोमच्छिन्द्रनाथ र सेतो मच्छिन्द्रनाथ जात्रा जस्तै दोलखामा मनाइने रातो मच्छिन्द्रनाथको जात्रा पनि निकै महत्वपूर्ण मानिन्छ ।
९ दिनसम्म मनाइने यो जात्रा शनिवारदेखि शुरु भएको हो । काठमाडौंमा सेतो मच्छिन्द्रनाथको रथजात्रा सकिएपछि काठमाडौँमै जसरी दोलखाको पिंगल टोलमा रातो मच्छिन्द्रनाथको रथ बनाउन शुरु गरिन्छ । तर दोलखाको उकालो ओरालो भौगोलिक वनावटका कारण यहाँको रथको पांग्रा मेसिनको दाँतीजस्तै घाद राखेर बनाइन्छ ।
काठमाडौँमा जस्तै रथको बीचमा राखिने लामो काठ घमालाई दोलखामा भने घर्मासी भनिन्छ । रथ बनाउने कार्य सम्पन्न भएपछि चैत्र शुक्ल पुर्णिमा अर्थात चौलाथो पूर्णिमाको दिन गुरुज्यूले रातो मच्छिन्द्रनाथ अर्थात् वुंग्यद्येलाई दुध र पानीले महास्नान गराई बिधि पूर्वक पूजाआजा गर्छन् ।
त्यसपछि महास्नान गरेको भोलिपल्ट चलागा प्रतिपदाका दिन स्थानीय बाजा म्वारी, घा र घुस्याः बजाई डोप्लुङ्गा टोलमा रहेको मच्छिन्द्रनाथ ल्याई पिंगल टोलमा बनाइएको रथमा बिराजमान गराईन्छ । त्यसको भोलिपल्ट पिंगल टोलबाट नक्छे टोल, नक्छे टोलबाट कोर्छे टोल, कोर्छे टोलबाट टसिचा टोल, टसिचा टोलबाट माथिल्लो बुद्ध स्तुप, बु्द्ध स्तुपबाट दुंगल टोल र दुंगल टोलबाट पिंगलसम्म रथजात्रा गरेर जात्रा सम्पन्न गरिन्छ ।
यसरी बिभिन्न स्थानमा रथलाई बास बसाई ७ दिनसम्म रथ जात्रा गरिन्छ । रथ जात्रा गर्दा रथको पांग्रा बिग्रिएन र ढलेन भने ७ दिन रथजात्रा र २ दिन देवतालाई रथमा बिराजमान गराउने र रथबाट मन्दिरमा पुर्नस्थापना गर्नेगरी ९ दिनसम्म यो जात्रा चल्दछ । यदी रथ बिग्रियो वा कुनै कारण रथ जात्रा रोकिएमा पुनः रथ जात्राको लागि रथमा रहेको धर्मासीमा अवस्थित भैरवलाई भेडा बली दिई पुजा गरेर रथ जात्रा चलाउनुपर्ने परम्परा छ ।
दोलखाको रातो मच्छिन्द्रनाथको रथ जात्रा हुने समयमा स्थानीय समुदायले चाकु वा सख्खरको सर्बत, एक प्रकारको लामो रोटी बेच्ने र प्रसादको रुपमा खाने परम्परा छ ।
जसलाई स्थानीय नेवारी भाषामा चाख्सल भनिन्छ । वैशाख १ गते बाट पिङ्गलटोलबाट सुरु हुने मच्छिन्द्रनाथ रथ यात्रा पर्व ८ गते डोक्लुंगा स्थित मच्छिन्द्र घरमा पु¥याई विधिवत् रथयात्रा समापन गरिनेछ ।
रथजात्रा गर्दा टसिचा टोलबाट बौद्ध स्तुपसम्म स्वयम्भुको उकालो भ¥याङमा रथ तान्ने र भोलिपल्ट त्यही बाटो रथ ओराल्ने परम्परा छ । यो दुई दिनको जात्रालाई रमाईलो र मनोरञ्जनात्मकरुपमा लिइन्छ ।
ललितपुरको रातो मच्छिन्द्रनाथलाई जस्तै दोलखामा पनि मच्छिन्द्रनाथलाई अबलोकितेश्वर, हयागु, करुणमय बुंगद्यो, आदिनाथ, लोकेश्वर, मच्छिन्द्रनाथ र वर्षाका देवताका रुपमा नै लिइन्छ । मच्छिन्द्रनाथ रथयात्रा पछि पानी राम्रोसँग पर्ने, रोगव्याधि हट्ने र बालीनाली सप्रने जनविश्वास छ ।