News 24 Television
रोकिएन योगेशको आरोलो यात्रा, गृहजिल्लामै शैचालयमा थुनिँदो अप्ठेरो 

काठमाडौँ । ओरालो लागेको मृगलाई बाछोले पनि लखेट्छ भन्ने उखान यति बेला नेकपा एमाले सचिव योगेश भट्टराईमा हुबहु लागू भइरहेको छ । आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट ‘बैगुनी केटा’ भनेर उपनाम पाएका भट्टराई जनताको नजरमा पनि ‘बैगुनी’कै रूपमा स्थापित भइसकेका छन् । 

कुनै समय निकै आशा गरिएका नेता भट्टराईको  राजनीतिक भविष्य पछिल्लो समय ओरालो लाग्दै आएको छ । २०७६ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेपछि सुरु भएको उनको राजनीतिक संघर्ष अझै अन्त्य भएको छैन । हालै उनको गृह जिल्ला ताप्लेजुङको पाथीभरा क्षेत्र अर्थात् मुक्कुलुङमा केबलकार बनाउने विषयले त उनी झनै विवादमा तानिएका छन् । 

केबलकार निर्माणको पक्षमा दृढ अडान लिएका भट्टराई कहिले आफ्नै जिल्ला प्रवेशमा रोक लाग्छ त कहिले शौचालयभित्र थुनिनुपर्ने अवस्था आइपर्छ । गत शुक्रबार भट्टराई पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेसहित हेलिकप्टर चढेर ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६, लेलेपमा आयोजित कञ्चनजंघा हिरक महोत्सवको उद्घाटन कार्यक्रममा पुगेका थिए । तर, उनी त्यहाँ शौचालयभित्र थुनिनुपर्ने अवस्था आइपर्यो । 

उद्घाटन कार्यक्रम सम्पन्न भएपछि पहिचानवादी समूहले भट्टराईविरुद्ध नाराबाजी सुरु गर्यो । अवस्था तनावपूर्ण बनेपछि सांसद् भट्टराई कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को भवनमा रहेको शौचालयमा पसे । पर्यटन मन्त्री पाण्डे भने हेलिकप्टर नजिक पुगिसकेका थिए । 

स्थिति असुरक्षित देखिएपछि प्रहरीले शौचालयको ढोका बाहिरबाट चुकुल लगायो । केही समयपछि अवस्था सामान्य भएपछि प्रहरीले चुकुल खोलेर भट्टराईलाई बाहिर निकाल्यो र हेलिकप्टरसम्म सुरक्षा दिँदै काठमाडौं पठायो । प्रहरीले नाराबाजीमा उत्रिएको भीडलाई तितरबितर पार्दै नेता भट्टराईलाई उनी चढ्ने हेलिप्टरसम्मै सुरक्षा दिनुपर्यो । जसको चर्चा र ट्रोल अहिले सामाजिक सञ्जालभरि व्यापक छ । 

आफू शैचालयमा थुनिएको विषय सामाजिक सञ्जालमा व्यापक भएपछि नेता भट्टराईले पनि सामाजिक सञ्जालमार्फत नै एकता र सद्भाव कायम राख्न अनुरोध गरेका छन् । नेता योगेश भट्टराई शौचालयमा थुनिएको विषयले सामाजिक सञ्जालमा चर्चा चुलिँदा उनको एक पुरानो फेसबुक स्टाटस पनि फेरि भाइरल बनेको छ । 

२०७७ मंसिर ३ गते, तत्कालीन नेकपा (एकीकृत) भित्रको विवादलाई लक्षित गर्दै उनले “सर्वाधिक कठिन समय” भोगिरहेको उल्लेख गरेका थिए । अहिले त्यो स्टाटस सामाजिक सञ्जालमा पुनः चर्चामा आएको छ ।

योगेशको विरोध किन ?

गत माघ १२ गते पाथीभरा क्षेत्रको बलुडाँडामा ‘नो केबलकार समूह’ र सुरक्षाकर्मीबीचको झडपपछि सुरु भएको आन्दोलन चर्कँदै गयो । ताप्लेजुङ रणमैदान बनिरहँदा अभिभावकीय भूमिका खेल्नुपर्ने ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले भने आन्दोलन शान्त पार्नुभन्दा उल्टो झनै भड्काउने अभिव्यक्ति दिए । 

उनले बारम्बार पाथीभरा क्षेत्रमा केबलकार बनाउनुपर्ने धारणा राखे, जसले आन्दोलनकारीलाई झनै चिढ्यायो । यसरी भट्टराई आफैंले आन्दोलनमा घिउ थप्ने व्यवहार गरेपछि उनी पहिचानवादीहरूको निशानामा परे। त्यसअघि पनि प्रदेश १ को नामकरण ‘कोशी’ गर्दा भट्टराई पहिचान पक्षधरहरूका विरुद्ध खुलेर बोलेका थिए । यही कारण, पहिचानवादी समूहले उनलाई लगातार आलोचना गर्दै आएका छन् । 

मन्त्री हुँदा विमानभित्र गाली

२०७६ भदौ २७ गते, तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईमाथि नेपालगञ्ज विमानस्थलमा विमानभित्रै केही युवाहरूले गालीगलौज गरेका थिए । मन्त्रीले काठमाडौं आउने विमानलाई करिब एक घण्टा कुराएर यात्रुलाई सास्ती दिएको आरोप लगाउँदै शाही समूहले उनीमाथि सार्वजनिक रूपमा हप्कीदप्की गरेका थिए । 

‘बैगुनी केटा’देखि ‘१० भाइ’सम्म

२०७७ पुसमा तत्कालीन नेकपा विभाजनपछि एमाले पनि फुटको दिशामा अघि बढ्यो । त्यस समयमा योगेश भट्टराई माधवकुमार नेपाल पक्षमा उभिए । त्यसपछि एमाले अध्यक्ष केपी ओलीले भट्टराईलाई ‘बैगुनी केटा’ को उपमा दिएका थिए ।

२०७८ भदौ २ गते माधव नेपाल पक्षधर नेताहरूले एमाले फुटाएर नयाँ दल नेकपा एकीकृत समाजवादी गठन गरे । तर, माधव नेपाललाई साथ दिने भनिएका १० नेता नेताहरु अन्तिम समयमा ओलीसँग १० बुँदे सहमति गरेर एमालेमै बसे । यी नेताहरूमध्ये योगेश भट्टराई पनि एक हुन्, जसलाई ‘१० भाइ’ भनेर चिनिन्छ । 

हाल ती १० मध्ये भीम रावल र घनश्याम भुसालले एमाले छाडिसकेका छन् भने बाँकी नेताहरूको राजनीतिक भविष्य अन्योलमै देखिन्छ । राजनीतिक यात्रा यसरी ओरालो लागिरहेको नेता योगेश भट्टराईको भविष्य कता मोडिन्छ भन्ने विषयमा चासो बढेको छ । 
 

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  १९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update