News 24 Television
लुम्बिनीका मुख्यमन्त्री भन्छन्- 'बुटवललाई आर्थिक राजधानीको रूपमा विकास गरौँ'

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवललाई आर्थिक राजधानीको रूपमा विकास गर्न आवश्यक रहेको बताएका छन् । आईतवार रुपन्देहीको बुटवलमा आयोजित ‘जितगढी विजयी उत्सव–२०८२’ लाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले बुटवललाई आर्थिक राजधानीको रूपमा विकास गरेर लैजाने सोच र योजना बनाएको भन्दै त्यसलाई अगाडी बढाउन आफूले पहल थालेको बताए । उनले रुपन्देहीको विकासको लागि स्थानीय तहसँग हातेमाले गरेर अगाडी बढ्न प्रदेश सरकार तयार रहेको दाबी समेत गरे ।  

मुख्यमन्त्री आचार्य भने, “प्रदेश सरकारले बुटवललाई आर्थिक राजधानीको रूपमा विकास गरेर लैजाने जुन सोच र योजना बनाएको छ, यसलाई अगाडी बढाउनको निम्ति प्रदेश सरकारको तर्फबाट र व्यक्तिगततर्फबाट पनि दिलोज्यान दिएर अगाडी बढ्नेकुरा निवेदन गर्न चाहन्छु । स्थानीय तहसँग हातेमाले गरेर अगाडी बढ्न प्रदेश सरकार तयार छ ।” 

वि.सं. १८७२ वैशाख ७ गते बुटवलको जितगढी किल्लामा कर्नेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अङ्ग्रेज फौजमाथि जित हासिल गरेको थियो । सोही दिनको सम्झनामा जितगढी किल्लामा हरेक वर्षको वैशाख ७ गते जितगढी विजय उत्सव मनाइँदै आइएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  १९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update