
काठमाडौँ । राष्ट्रिय योजना आयोगले बजेटसम्बन्धी मन्त्रालयगत छलफलको प्रतिवेदन बुझाएको छ । आईतवार सिंहदरबारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलसमक्ष उक्त प्रतिवेदन बुझाइएकाे हाे ।
प्रतिवेदन बुझ्दै अर्थमन्त्री पौडेलले अगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट मुलुकमा विद्यमान समस्याहरुको सम्बोधन हुनेगरी ल्याइने बताए । सरकारले उत्पादन तथा निजी क्षेत्रले उठाएका मागहरुलाई सम्बोधन गर्नका लागि अध्यादेशबाट कानून संशोधन गरेको पनि उनको बताए ।
सहकारी क्षेत्रमा रहेका समस्याहरु समाधान गर्न कानूनी र संरचनात्मक प्रबन्ध गरिएको उल्लेख गर्दै उनले सहकारी क्षेत्रका समस्याको दिगो समाधान गर्नतर्फ सरकार अग्रसर रहेको दाबी गरे । मुलुकले अस्थिरताको अनिश्चित चक्रबाट गुज्रिसकेपछि राजनीतिक स्थायित्वको यात्रा तय गरेको समेत उनले दाबी गरे ।
अर्थमन्त्री पौडेलले भने, ‘मुलुकले अस्थिरताको अनिश्चित चक्रबाट गुज्रिसकेपछि राजनीतिक स्थायित्वको यात्रा तय गरेको छ । अहिले मुलुक अस्थिरतातर्फ होइन राजनीतिक स्थिरतातर्फ अगाडि बढेको छ । तर अस्थिरतावादी प्रवृत्तिहरु भने यो स्थिरताको खिलापमा विभिन्न गतिविधि गर्ने प्रयास गरिरहेका छन् । अस्थिरतावादी, प्रतिक्रियावादी, प्रतिगामी र अराजकतावादी प्रवृत्तिहरु सक्रिय छ । यदाकदा त्यसमा लोकप्रियतावादी पनि त्यसमा मिसिन पुग्छ । यो खालको प्रवृत्ति चाँही मुलुकमा अस्थिरता सिर्जना गर्ने कोशिस गरिरहेको छ । तर के विश्वास दिलाउन चाहान्छु भने अस्थिरता निम्त्याउन गरि कोसिशहरु नाकाम र निरर्थक हुनेछन् ।’
उनले अर्थतन्त्रका सम्पूर्ण परिसूचकहरु सकारात्मक दिशातर्फ अभिमुख रहेको बताए । उनले जनता र सरकारबीचको सम्बन्धलाई अझै मजबुत बनाउँदै मुलुकमा विद्यमान समस्याहरुको सम्बोधन गर्नेगरी बजेट ल्याइने विश्वस समेत दिलाए ।