
काठमाडौँ । सिंहदरबारमा सांकेतिक प्रदर्शन गर्ने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहितका नेताहरु पक्राउ परेका छन् । निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि उनीहरू प्रहरीकाे नियन्त्रणमा परेका हुन् ।
आईतवार सिंहदरबारमा सांकेतिक प्रदर्शन गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा अध्यक्ष लिङदेनसहित उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानबहादुर शाही रहेका छन् ।
प्रदर्शन स्थलमा जानुअघि सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा जम्मा भएका थिए । संसदीय दलको कार्यालयमा जाँदा अस्वभाविक प्रहरी परिचालन गरिएको राप्रपाको आरोप छ ।
सिंहदरबाट गेटबाट प्रहरीले उनीहरुलाई प्लेकार्डसहित नियन्त्रणमा लिएको थियो । पक्राउ परेपछि राप्रपा अध्यक्ष लिङ्देनले आफूहरुलाई नियन्त्रणमा लिएकोमा अचम्म नलागेको प्रत्रिक्रिया दिए । निरङ्कुश सरकारले यस्तै गर्ने उनको भनाइ छ ।
तर प्रमुख प्रशासनिक केन्द्र र निषेधित क्षेत्रमा घुसेर विरोध गर्नुलाई उनले जायज मानेका छन् । जनताको आवाज नसुनिरहेको सरकारलाई सुनाउनकै लागि सिंहदरबारमा प्रदर्शन गरको उनको तर्क छ ।