News 24 Television
नेपाली क्रिकेटरमा सन्नाटा ! वर्षा पनि यति वैरी ! 

काठमाडौं । अर्को वर्ष हुने आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा अब नेपालले खेल्न नपाउने भएको छ । शनिबार काठमाडौंमा भएको वर्षा नै नेपालललाई विश्वकपमा पुग्न रोक्ने कारण बन्न पुग्यो । आईसीसी १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा नेपाल र अफगानिस्तानबीच शनिबारको खेल वर्षाका कारण रद्द गर्नु परेपछि नेपाल विश्वकपमा पुग्न सकेन । यो परिस्थितिले नेपाली क्रिकेट प्रेमीदेखि खेलाडी, प्रशिक्षक सबैलाई दुखी बनाएको छ । 

काठमाडौंमा पछिल्लो एक हप्ता यता पानी कुनबेला पर्छ टुङगोनै नभएको स्थिति छ । काठमाडौंको मौसमको परिवर्तनशिल अवस्थाले नेपाली क्रिकेट जगतलाई भने ठुलो क्षति पु¥याएको छ ।

शनिबार विहान भएको वर्षाले त झन् नेपाललाई विश्वकपमा खेल्ने अवसरबाटै रोकिदियो । वर्षाले क्रिकेट पिच खेल्न नमिल्ने अवस्थामा पुगेपछि आईसीसी १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा नेपाल र अफगानिस्तानबीचको खेल रद्द गर्नु प¥यो ।

खेल रद्द भएपछि अफगानिस्तानलाई विश्वकपमा छनोटको मौका मिल्यो । अफगानिस्तानविरुद्ध जित निकाल्नसक्छौं भन्ने आत्मविश्वास रहेको अवस्थामा वर्षाले नेपाली टोलीलाई घाटामा पारेको नेपाली यु–१९ क्रिकेट टोलीका प्रशिक्षक शक्ति गौचनले प्रतिक्रिया दिएका छन् । 

नेपाली यु–१९ टोलीका कप्तान नरेन भट्टले पनि खेल नै खेल्न नपाइ छनोट हुन असफल हुँदा धेरै दुःख लागेको बताए । 

अफगानिस्तानका प्रशिक्षक रेइस अहमदजाईले नेपाली टोली पनि बलियो रहेको र उनीहरूले धेरै राम्रो प्रदर्शन गरेको उल्लेख गर्दै विश्वकपमा छनोट हुन नसक्नु अभावी रहेको बताए । आफ्नो टोलीविरुद्ध नेपालका खेलाडीले राम्रो प्रदर्शन गरेको भन्दै उनले प्रशंसा पनि गरेका छन् । नेपाली टोली विश्वकप खेल्नयोग्य रहेको पनि उनले प्रतिक्रिया दिए । आफू युद्धकै अवस्थाबाट हुर्किएको उल्लेख गर्दै यो सफलता आफ्नो देशका लागि मुस्कान हुने उनको विश्वास छ ।

पाँच राष्ट्र सहभागी यु–१९ विश्वकप एसिया छनोटमा लिगको विजेताले विश्वकपमा स्थान बनाउने प्रावधान थियो । लिगमा समान सात अंक भएपनि नेट रनरेटमा नेपाललाई पछि पार्दै अफगानिस्तानले सन् २०२६ मा नामिबिया र जिम्बाब्वेमा हुने विश्वकपमा स्थान बनायो । 

मूलपानी क्रिकेट मैदान (तल्लो) मा शनिबार प्रतिस्पर्धा गर्नुअघि नेपाल र अफगानिस्तान दुवै टोली अपराजित थिए । नेट रनरेटमा अफगानिस्तान अगाडि रहेकाले विश्वकपमा छनोट हुन नेपालका लागि खेल हुनु आवश्यक थियो । 

विहान केही समय वर्षा हुँदा मैदानमा भिजेको थियो । करिव पाँच घण्टाको पर्खाइपछि सम्भव नदेखेपछि म्याच अफिसियलले खेल रद्द गरेका हुन् । अफगानिस्तानको ४.८१७० र नेपाल ३.५७६४ नेट रनरेटमा थियो । नेपाल सन् २०२२ पछि फेरि विश्वकपमा छनोट हुन असफल भएको हो ।

नेपालले यसअघि आठ पटक १९ वर्षमुनिको विश्वकप खेलिसकेको छ । नेपालले सन् २०००, २००२, २००४, २००६, २००८, २०१२, २०१६ र २०२४ मा विश्वकप खेलेको थियो ।

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  ०८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update