News 24 Television
प्रचण्ड–प्रचण्डको आ–आफ्नै दाउ

काठमाडौं । नयाँ बर्षको शुरुवातसँगै वर्तमान् सरकार लामो समय नजाने प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक अभिब्यक्ति दिए । प्रचण्डको यस्तो अभिब्यक्ति आएकैबेला सत्तारुढ प्रमुख घटक कांग्रेसले पनि सरकारको कार्यशैलीको आलोचना गरिरहेको थियो ।

दाहालले कांग्रेस नेतृत्वको सरकारमा जानसक्ने संकेतसमेत केही मिडिया अन्तर्वातामा गरेका थिए । तर सरकारप्रति असन्तुष्टि देखिए पनि कांग्रेसले सत्ता नछाड्ने स्पष्ट गरेपछि भने प्रचण्डले आफुलाई सरकारमा सहभागी हुन कुनै हातारो नभएको प्रतिक्रिया दिईरहेका छन् ।यसले सरकार परिवर्तनप्रचण्डको बेमौसमी बाजा भएको सावित भएको छ । 

ढाडमा टेकेर टाउकोमा हान्ने पुष्पकमल दाहालको कुटनीतिले बेला बेला राजनीतिलाई तंरङ्गीत बनाई रहन्छ । तर कांग्रेस एमालेको सत्ता गठबन्धन भत्काउने दाहालको रणनीति असफल भएपछि उनले सरकारलाई काउन्टर दिनकै लागि चार दलीय समाजवादी मोर्चालाई सक्रिय बनाए । तर मोर्चाबाट पनि सरकारलाई काउण्टर दिन मुश्किल परेपछि नयाँ वर्षाको आरम्भसँगै सरकार परिवर्तनको हल्ला चलाए । 

यसले राजनीतिक वृतमा ठुलै हलचल मच्यायो । दाहालले सरकार परिवर्तन हुने बताईरहेकै बेला कांग्रेसका दोस्रो तहका नेताहरुले खुलेरै सरकारप्रति असन्तुष्टि पोखिरहेका छन् । 

सरकार परिवर्तनको दाबी गरेका दाहालले कांग्रेसको नेतृत्वमा सरकार बनेमा आफ्नो पार्टीकोसाथ समर्थन रहने समेत स्पष्ट गरे । ओली सरकारको भविष्यवाणीसँगै दाहाल कांग्रेसप्रति लचिलो देखिएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक नै बोलाएर छलफल गरे । बैठकले सरकारको कार्यशैली बदल्नुपर्ने निश्कर्ष निकाल्यो । तर सरकार तत्काल नछाड्ने निर्णय कांग्रेसले ग¥यो । 

सत्ता गठबन्धन प्रमुख घटक कांग्रेस नेताहरुको असन्तुष्टि र सरकार परिवर्तन हुने दाहालको अभिब्यक्तिपछि उनकै गृह जिल्ला पुगेर सरकार फेरिने हल्लाको पछि नलाग्न आग्रह गरे । 

ओलीसंगै चितवन पुगेका उपप्रधानमन्त्री एवम् कांग्रेस नेता प्रकाशमान सिंहले पनिसरकार फेरीने हल्ला मात्रै भएको स्पष्ट गरे भने कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारलाई खबरदारी जारी राखे पनि सरकार नछाड्ने बताएका छन् । 

तत्काल कांग्रेस सरकारबाट बाहिरिने सम्भावना नदेखिएपछि माओवादी अध्यक्ष दाहालले आफ्नो अभिब्यक्ति सच्याउँदै आफूले राजनीतिक विश्लेषण र कांग्रेस एमाले नेताहरुसंग भएको संवादका आधारमा यस्तो भनेको बताएका छन् । 

अहिले ओलीलाई सरकार टिकाउनु छ भने प्रचण्डलाई जसरी पनि सत्तामा पुग्ने हुटहुटी छ । त्यसका लागि दुवै दललाई कांग्रेसको साथ आवश्यक छ । पटक पटक धोका पाएका देउवालाई प्रचण्डको विश्वास गरिहाल्ने अवस्था छैन । त्यसैले ओलीसँगको ७ बुँदे सहमतिमा टेकेर नै अघि बढ्ने देउवाको ध्याउन्न छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  ०८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update