
काठमाडौं । उमेरले डाँडा नाघेपनि राजनीतिको सहज यात्रामा रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर दउवा बिन्दास पारामै देखिन्छन् । उनका लागि राजनीतिमा खास अफ्ठ्यारा र चुनौती देखिँदैनन् । सँगैका सहयात्री दल एमाले र माओवादीलाई सत्ता बनाउने र ढाल्ने रणनीति बुन्न भ्याइनभ्याई हुन्छ । तर देउवालाई भने नचाहँदा नचाहँदै पनि आँफै सत्ता हातमा आइपर्छ ।
अहिले पनि देउवालाई सत्ता प्राप्तिका लागि ठूलै रणनीतिक खेल खेल्नुपर्ने वा कुनै दलसँग मोलमोलाई गर्नुपर्ने बाध्यता छैन । उनी राजनीतिको सहज परिस्थितिमै छन् । संसदको ठूलो दल हुनुको नाताले र दलहरुबीच हुने खिचातानीले पनि उनलाई फाइदा नै हुँदै आएको छ । देउवा चाहेको अवस्थामा एमाले सँगैको समीकरणबाट होस् वा माओवादीतिरै ढल्केर पनि तत्काल प्रधानमन्त्री बन्न सक्ने अवस्थामा छन् ।
२०७८ को त्यो क्षण
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाबाट सरकारको नेतृत्व गरिरहेका बेला पटक पटक संसद विघटन गरे । त्यो बेला नेकपाकै अर्का अध्यक्ष प्रचण्ड र नेता माधवकुमार नेपाल भने ओलीको विकल्प खोज्न संघर्षरत थिए । तर विघटन भएको संसद सर्वोच्चले पुनर्थापना गरेपछि भने देउवाको प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो । जबकी एमाले र माओवादी पार्टी एकताकै योजना बनाएर निर्वाचनमा जाँदा नेपाली काँग्रेस एक्लिएको थियो । र, तत्कालीन नेकपा नेताहरुले काँग्रेसको हातमा अब सत्ता नै नफर्किने हुंकार दिइरहेका थिए । तर त्यो हुंकार कतिपनि टिक्न सकेको थिएन ।
देउवाको अबको बाटो
पाँच पटक प्रधानमन्त्री बनिसकेका देउवा छैटौँ पटक प्रधानमन्त्री बन्ने लयमा छन् । पार्टी सभापतिको दुई कार्यकालसमेत पूरा गर्न लागेका देउवका लागि अभिलासाको पद खासै बाँकी देखिन्न । उनले ग्रहण गर्नुपर्ने अन्तिम पद भनेको राष्ट्रपति मात्रै हो । उता आफू पार्टीको नेतृत्वबाट बाहिरँदा आफ्नो निकटको नेता व्यवस्थापन गर्नेपर्ने द्येयमा भने देउवा देखिँदै आएका छन् । पार्टीमा शक्तिशाली रहेका देउवाले भावि सभापति निक्र्यौल गर्न सकेका छैनन् । यद्यपि पत्नी आरजु राणा देउवालाई भने राम्रैसँग व्यवस्थापन गर्ने उनको रणनीति छ । हालको सरकारमा परराष्ट्रमन्त्रीसमेत रहेकी आरजुलाई उनले पार्टीमा पनि राम्रै स्थानमा व्यवस्थापन गर्ने तयारी देखिन्छ ।
पार्टी र राजनीतिमा देउवाको शक्ति
सार्वजनिक रुपमा कम बोल्ने देउवा राजनीतिक र पार्टी रणनीतिमा चतुर नै मानिन्छन् । वर्तमान सत्ता समीकरणमा पनि ओलीसँग देउवाले आफूलाई माथि नै राखेर डिल गर्ने गरेका देखिन्छन् । सत्ता सहकार्यमा चुनौती नै मोलेर गभर्नर नियुक्तिमा समेत देउवाले आफैले रोजेको व्यक्तिलाई अघि सारेका छन् । उता पार्टीमा पनि सत्ता र नेतृत्वमाथि प्रश्न नउठ्ने गरेका भने होइनन् । तर त्यसमा पनि देउवा नै सँधै हावी हुने गरेका छन् । काँग्रेस सम्मेलित वर्तमान सरकार र पार्टी नेतृत्वमाथि शेखर कोइराला र गगन थापा पक्षले सँधै आलोचना गर्दै आएका छन् ।
यद्यपि सत्ता टिकाउने र पार्टीको मुल दिशानिर्देश गर्नेमा देउवा नै निर्णायक हुँदै आएका छन् । यस्तैमा कतिपय नेताहरु देउवाको रणनीतिलाई स्वीकार गर्दै आरजु राणा भविष्यमा नेपालकै पहिलो महिला प्रधानमन्त्री बन्ने अभिव्यक्तिसमेत दिन थालेका छन् ।
एमाले माओवादी मिलेको अवस्थामा बाहेक जतै फर्किएपनि सत्ता नै हातपर्ने मोडमा रहेका देउवा हाइसञ्चोकै अवस्था छन् । ओलीले देउवालाई पद हस्तान्तरणको मिति बारम्बार सम्झाइदिँदा र प्रचण्डले पनि प्रधानमन्त्री बन्न अफर पठाइरहँदा देउवा भने राजनीतिको मलिलो जगमा उभिएका देखिन्छन् ।