
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीभित्रको असन्तुष्टि छरपष्ट हुन थालेको छ । रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पूर्पक्षका लागि थुनामा गएपछि रास्वपाभित्रको उकुसमुकुस बाहिरिन थालेको देखिन्छ । रविको व्यक्तित्वको भरमा प्राप्त जनमतलाई रास्वपाले स्थिर र कायम राख्ने प्रयत्न गर्न सकेको छैन, भने सुशासनको पक्षमा दह्रो उभिन नसक्दा असन्तुष्टिका विषयहरु सार्वजनिक हुन थालेका छन् ।
रवि लामिछाने । टेलिभिजनको पर्दा हुँदै राजनीति र राजनीति हुँदै अहिले जेलको बसाईमा छन् । रोचक दिनाचर्या काटिरहेका रविको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीभित्रको उकुसमुकुस बाहिरिन थालेको छ । रास्वपाले संस्थागत निर्णयमा परिपक्कता देखाउन नसक्दा शीर्ष भनिएकै नेताहरुले रास्वपाभित्रको उकुसमुकुस छताछुल्ल पार्न थालेका छन् । एक व्यक्ति एक पद भन्दै रास्वपाभित्र केहि समय बहस चल्यो ।
रविलाई सहकारी ठगी आरोपमा विभिन्न जिल्लामा घुमाउन थालेपछि रविले पार्टीबाट सशक्त आन्दोलनको अपेक्षा गरेका थिए । तर, रास्वपाले यस्तो गर्न सकेन् । नेताहरु विभाजित बन्न पुगे ।
आन्दोलनको पक्ष विपक्षमा हुने चर्काचर्कीमा कहिकतै रवि पत्नी निकिता पौडेल लामिछाने पनि हाबी हुने गरेको चर्चा चलिरह्यो । तर, राजनीतिक दलको आकार लिनलाई राजनीतिक, वैचारिक रुपमा परिपक्कता हासिल नगर्दै रास्वपा एकखाले विरोधाभासमा मात्रै फसेको छैन्, असन्तुष्टीका स्वरहरु छताछुल्ल हुन थालेका छन् ।
पार्टी सह–महामन्त्रीबाट राजीनामा दिएर बार्गेनिङ पावर बढाउने ध्याउन्नमा रहेकी सुमना श्रेष्ठले राजीनामाको विषय सार्वजनिक भएपछि उकुसमुकुस पोखिरहेकी छन् । असन्तुष्टी सार्वजनिक गरिरहेकी छन् । पदबाट राजीनामा दिने तर, अन्तिममा रोक्ने भन्दै अनुरोध गर्ने विषय राजनीतिक रुपमा कति परिपक्क हो ? यसतर्फभन्दा पनि राजीनामाको विषय सार्वजनिक भएकोमा उनको गुनासो र दुखेसो देखिन्छ ।
एक व्यक्ति बहुपदमा नजाने भनिरहेकी सुमनाको राजीनामाबारे केन्द्रिय समितिले जानकारीमा लिएको भनिरहेको बेला रास्वपाले भने दोहोरो जिम्मेवारीसहित नेताहरुको कार्यविभाजन गरिदिएको छ । जसमा सात प्रदेशको नेतृत्वमा विभिन्न नेताहरुलाई चयन गरेको भनिएको छ ।
रास्वपाले वैशाखमा महाधिवेशन गर्ने निर्णय समेत गरिसकेको थियो । तर, रवि पुन थुनामा जाने आदेश भएपछि स्थिति फेरिन पुग्यो । अब रास्वपाले महाधिवेशन समेत २०८२ को फागुनमा मात्रै गर्ने भनेको छ ।
रवि लामिछाने जेलमा रहेका कारण नै महाधिवेशन धकेलेको रास्वपाभित्रको उकुसमुकुस बाहिरिनेक्रम अन्य नेताहरुबाट पनि बढेको छ । यस्तोमा कोशी प्रदेशका इन्चार्ज तथा संगठन विभागका सदस्य ओमनाथ भण्डारीले आफूलाई कुनै जानकारी नै नदिई बर्खास्त गरिएको भन्दै राजीनामा नै दिएका छन् । रास्वपाले लिने निर्णयमा समेत परिपक्कता देखाउन सकेको छैन ।
रविको फेममा रास्वपा
रवि लामिछानेकै कारण रास्वपाले अप्रत्यासित नतिजा प्राप्त ग¥यो । रास्वपाले यस्तो नतिजा प्राप्त गरेपनि त्यो संस्थागत होला ? अनेक शंकाहरु उब्जिन थालेका छन् । रास्वपाका शीर्ष नेताहरु नै अर्को पार्टी खोल्ने बाटोमा तल्लिन भएको आरोप लागिरहेको छ । यसको संकेत सुमनाले समेत गरेकी छन् ।
रास्वपाका नेताहरुले स्वतन्त्रहरुलाई समेट्नुपर्छ भन्दै अभिव्यक्ति दिइरहेका छन भने रवि जेलमै रहने स्थिति बनेमा रास्वपाको भविष्य पनि धेरै लामो नहुने ठानेरै अहिलेदेखि नै जग बसाल्ने तयारी गरिरहेको चर्चा छ । रास्वपाभित्रको असन्तुष्टीको सीमा चरम बनिरहेको छ ।
नेता कार्यकर्ताहरुले यसरी विभिन्न नाममा असन्तोष पोखिरहेका छन भने पार्टीले गर्ने निर्णय पनि प्रश्नबाहिर रहन सकेको देखिन्न । यस्तोमा रास्वपाले स्थिति नियन्त्रणमा लिनलाई सामाजिक सञ्जालमा जथाभावी नलेख्न उर्दी नै जारी गरेको छ ।
पार्टीभित्र आलोचना र टिप्पणी स्वभाविक भन्ने रास्वपाले पछिल्लो समय पुरानै दलको शैली समात्न खोजेको देखिन्छ । तर, वैकल्पिक शक्तिको हाँक दिएर गर्न खोजिएको रुपान्तरणमा यक्ष प्रश्न सोझिएको छ ।