
मकवानपुर । देश संघीयतामा गएपछि गाउँ÷गाउँमा शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी जस्ता मुख्य आधारभुत आवश्यकताको पूर्ति हुने क्रम जारी छ । यसको बलियो उदाहरण हो, मकवानपुरको विकट राक्सिराङ गाउँपालिका ।
कुनै समय बिरामी हुँदा डोकोमा बोकेर मनहरी हुँदै हेटौंडा अस्पताल पुग्ने पालिकाका नागरिकका लागि अहिले गाउँमै अस्पताल बनेपछि अकालमै ज्यान जाने जोखिम अन्त्य भएको भन्दै खुसी देखिएका छन् ।
मकवानपुरको राक्सिराङ गाउँपालिका–५ ठाडेचुरीमा राक्सिराङ आधारभूत अस्पताल सञ्चालनमा आएको छ । गत फागुन महिनाबाट सञ्चालनमा आएको अस्पतालको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले औपचारिक उद्घाटन गरेका थिए ।
अस्पतालको उद्घाटनसँगै स्वास्थ्य बीमा सेवा समेत सुरुवात गरिएको छ । स्वास्थ्य बिमा बोर्डमा अस्पताल सूचिकृत गराई स्वास्थ्य बिमा गराएका बिरामीलाई सोही अस्पतालबाट सेवा दिन सुरु गरिएको हो । गाउँमै १० बेडको अस्पताल खुलेपछि सामान्य बिरामी हुँदा पनि उपचार गराउन हेटौंडा, चितवन लगाएतका अस्पतालहरुमा पुुग्नुपर्ने समस्याको अन्त्य भएको छ ।
गाउँपालिकाले पालिकामा रहेका ९ वटा वडामा बसोेबास गर्ने ९ सय जनाको निशुल्क बीमा समेत गर्ने प्रक्रिया अघि बढाएको छ । वडा कार्यालयले वडामा बसोबास गर्ने अति विपन्न, दलित तथा अपाङ्गता भएका व्यक्तिहरुको नाम सिफारिस गरेर पठाएको आधारमा एउटा वडाको १ सय जनाको निःशूल्क बीमा गर्ने प्रक्रिया अघि बढाएको हो ।
१० शैयाको राक्सिराङ आधारभूत अस्पताललाई पहिलो सेवा केन्द्र बनाएर हाल २ सय जनाले स्वास्थ्य बिमा गराइसकेका छन् । अस्पतालमा सामान्य चेकजाँचदेखि भिडियो एक्सरे, प्रसुति सेवाका साथै ल्याब परीक्षण सेवासमेत सञ्चालन भइरहेको छ ।
अस्पतालमा हाल एक जना एमबिबिएस डाक्टरसहित एक जना सिनियर अहेब, २ जना अहेब, ३ जना अनमी, एकजना ल्याब असिस्टेन्ट, ३ जना कार्यालय सहयोगी र एक जना एम्बुलेन्स चालक गरि १२ जना कार्यरत छन् । मनहरी, हेटौंडा तथा चितवनको निजी अस्पतालमा महंगो शुल्क तिरेर सेवा लिनुभन्दा गाउँकै अस्पतालमा सेवा उपभोग गर्न पाइने भएपछि स्थानीयहरु खुसी भएका छन् ।