News 24 Television
प्रधानमन्त्रीको आग्रह :  राजनीति र चुनावमा मात्रै नलागी विकास निर्माणमा जुटौँ

भरतपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासमा एकजुट भएर अघि बढ्न सबैलाई आग्रह गरेका छन् । शुक्रवार चितवनको पूर्व-पश्चिम राजमार्गको पुल्चोक–गोन्द्राङ ६ लेन सडकको शुक्रबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

अहिले देश विकासमा लाग्नुपर्ने समय भएकाले सधैँ राजनीति र निर्वाचनको मात्रै कुरा गर्न नहुने प्रधानमन्त्री ओलीले बताए । उनले विकास निर्माणका काममा कसैको मतभेद हुन नहुने पनि बताए । विकास निर्माणमा अरु देशले गर्ने सहयोग धरापमा परेको भन्दै आफ्नो देश विकास आफैँले गर्नुपर्ने पनि उनले बताए । अरुको सहयोगमा भर पर्ने तथा अरुको शक्तिको भरमा लडाईं लड्ने देशहरुको अवस्थाले विकास र समृद्धिका लागि एकजुट भएर लाग्नुपर्ने पाठ सिकाएको उनकाे भनाइ छ ।

'म धेरै कुराहरु देख्दै, भोग्दै र पचाउँदै आएको मान्छे हुँ । जे आउँछ मज्जाले पचाउँछ भने जस्तै सबै कुरा डाइजेस्ट हुन्छ । तर अहिले चुनाव लाग्या पनि छैन चुनावको प्रचार गर्नुपर्यो पनि छैन । त्यतापट्टि अहिले गइहाल्नुपर्ने आवश्यकता पनि छैन,' प्रधानमन्त्री ओलीले भने, 'म आग्रह गर्न चाहन्छु- सबैलाई सधैँ राजनीति मात्रै, सधैँ चुनावै मात्रै होइन विकासमा पनि ध्यान दिऔँ हामीले । हामीले एक भएर देश बनाउनुपर्ने छ । मतभेदमा होइन एकतामा जोड दिऔँ । विविधता हुनसक्छ । विचारमा विविधता हुनसक्छ अरु कुरामा विविधता हुनसक्छ । तर देशको विकास गर्ने कुरामा मतभेद नराखौँ । देशको विकास गर्नैपर्छ, सबैले गर्नै पर्छ । हामीले मिलेर विकास गर्ने हो अरुले आएर हाम्रो देश बनाउँदैन । बनाइ दिँदैन कसैले । जे सहयोग गर्ने ग¥या थिए देशहरले अहिले विभिन्न सहयोगहरु धरापमा परेको हामीले देखेका छौँ । अरुको भर पर्दा के हुँने रहेछ कतिवटा देशका अरुका बलमा लड्ने लडाईं अरुका बलमा गरिने विकास हामीले देखेका छौँ काम लाग्दैन । आफ्नो बलमा राष्ट्रिय एकताका साथ एकजुट भएर अगाडि बढेर विकास गर्नुपर्छ । त्यसरी मात्रै हाम्रो देशलाई सुदृढ गर्नसक्छौँ ।'

1744983026-89zv8-1744984581.jpg
 

प्रधानमन्त्री ओलीले सडक तथा हवाई यातायातको पूर्वाधार निर्माणमा उल्लेख्य प्रगति गरेको बताउँदै विद्युत उत्पादनमा असाधारण विकास भएको दाबी गरे । विगतमा आफू प्रधानमन्त्री हुँदा भौतिक पूर्वाधारबिना देश विकास हुँदैन भनेर पूर्वाधारमा जोड दिएको र त्यसले सफलता पाएको पनि जिकिर गरे ।

उनले भने, ‘विकासले गति लिएको छैन भन्नेकुरा होइन । सडकमा काफी उन्नति गरेको छ । अलि अघिको मेरो प्रधानमन्त्रित्व कालमा देश विकासको लागि पूर्वाधारमा जोड दिनुपर्छ पूर्वाधार आधारभुत  रुपमा पूर्वाधार तयार भएपछि अरु विकासलाई त्यो जगमा टेकेर आघि बढ्न सकिन्छ विना पूर्वाधार कनेक्टिभिटी विद्युत जस्ता कुराहरु बाटा पुल हवाइ यातायात पर्ने नै भयो । अरु पूर्वाधारका क्षेत्रमा विद्युत उत्पादनमा असाधारण उल्लेख्य प्रगति भएको छ । 

प्रधानमन्त्री ओलीले २०४७ सालपछि लोकतान्त्रिक मूल्य र मान्यतालाई ध्यानमा राखेर तिब्र गतिमा विकासका काम हुनुपर्नेमा केही अलमल र ढिलो भएको समेत बताए । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  १९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update