News 24 Television
काँग्रेसले अब गनगन गर्ने हैन, काम गरेर देखाउनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका समस्या समाधान गर्नको लागि ‘मिसन रोजगारी’ राष्ट्रिय अभियान सुरु गरिएको बताएका छन् । उनले काँग्रेस पार्टीले अब गनगन गर्ने, रूवाबासी मात्र गर्ने र समस्या देखाएर मात्र नहुने भन्दै समाधान दिनेगरी काम गर्न सक्नुपर्ने पनि बताए ।

शुक्रवार नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब काँग्रेसले नेपालमा रहेको रोजगारी समस्याको समाधान दिनसक्नुपर्ने बताए । निजी क्षेत्रसँग सहकार्य गर्न तयार हुनुपर्ने समेत बताउँदै मुलुकमा विद्यमान समस्याका सम्बन्धमा पार्टीले रुवाबासी गर्ने नभई समाधान दिनेगरी पार्टीको कार्यशैली र दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताए ।

थापाले भने, ‘काँग्रेस पार्टीले अब समस्या मात्र देखाएर हुँदैन । काँग्रेस पार्टीले अब समाधान पनि दिनुपर्छ । हामी समाधान दिने पार्टी हो । हाम्रो ड्युटी हो यो । नेपाली काँग्रेस पार्टीले नेपालमा रोजगारीको समस्या छ समाधान दिने हो । वैदेशिक रोजगारीको क्षेत्रलाई थप राम्रो बनाउने हो । अब पार्टीको काम गर्ने तरिका पनि बदलिनुपर्छ । पार्टीको दृष्टिकोण पनि बदलिनुपर्छ । अब हामीले गनगन गर्ने पनि होइन रुवाबासी गर्ने पनि होइन । अब समस्या भएको क्षेत्रमा काँग्रेस छ र समाधान दिन्छ भन्ने पार्टी बनाएर जान आवश्यक छ ।’ 

महामन्त्री थापाले वैदेशिक रोजगारीमा देखिएका समस्याहरुको समाधान गर्नका लागि पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग मिलेर उक्त अभियान सञ्चालन गरेको दाबी गरे । उनले वैदेशिक रोजगारीको क्षेत्रलाई तिरस्कार र गालीको क्षेत्र बनाउन नहुने पनि बताए । वैदेशिक रोजगारीमा कस्ता मान्छेहरु गइरहेका छन् भन्नेबारे विश्लेषण गर्न एशोसिएशनसँग सहकार्य गर्न चाहेको पनि उनले बताए ।

थापाले भने, ‘अहिले नेपाली काँग्रेसको दुई जना महामन्त्रीले मिसन रोजगारी भन्ने एउटा राष्ट्रिय अभियान प्रारम्भ गरेका छौं । त्यो अभियानको एउटा अभिन्न अंग भनेको एउटा वैदेशिक रोजगारी हो । यो अभियान शुरु भएको एक महिना भयो । यसमा हाम्रो एउटा टिमले काम गरिरहेको छ । केही विश्वविद्यालयहरुसँग हाम्रो साझेदारी छ । केही शैक्षिक संस्थाहरुसँग पनि हाम्रो साझेदारी छ । हामी अब एसशेसिएशनसँग पनि काम गर्न चाहन्छौं । हामी वैदेशिक रोजगारीको क्षेत्रलाई तिरस्कारीको क्षेत्र, गालीको क्षेत्र होइन हामी सँगसँगै बसेर कस्ता मान्छे काम गर्न गएका छन् ? किन गएका छन् ? को जाने को नजाने भन्नेबारेमा ज्ञान उत्पादन गर्ने ठाउँमा हामी तपाईंहरुसँग बसेर काम गर्न चाहन्छौं । किन कि यो विषयको हल हामीले खोज्नुपर्नेछ ।’ 

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update