
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा फेसबुकसहितका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्नसक्ने बताएका छन् । शुक्रवार काठमाडौंमा सञ्चारिका समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले उक्त कुराकाे जानकारी दिए ।
नेपालमा सञ्चालन हुने फेसबुकलगायत सामाजिक सञ्जालका सञ्चालकहरुले दर्ता गर्ने समयसीमा सकिन लाग्दा समेत दर्ता नगरेको भन्दै दर्ता नगरेमा सरकारले प्रतिबन्ध लगाउन सक्ने उनले बताए । नेपालको संविधान, ऐन तथा कानूनअनुसार तोकिएको समयमा दर्ता नभए त्यस्ता सामाजिक सञ्जालहरुमाथि प्रतिवन्ध लगाउने तयारीमा सरकार रहेकाे छ ।
देशको स्वाभिमान विथोल्ने गरी सामाजिक सञ्जालमा विभिन्न प्रचारप्रसार हुने गरेको भन्दै त्यसको नियमन हुनुपर्नेमा मन्ती गुरुङकाे भनाइ छ । फेक आइडी बनाएर समाजमा विकृति निम्त्याउने तथा हिंसाको प्रवद्र्धन हुनेगरी सामाजिक सञ्जालमा प्रचार हुने गरेको तथा सामाजिक सञ्जालहरु नेपालमा दर्ता नभएकै कारण सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक पनि रोकिएको उनको भनाइ छ ।
मन्त्री गुरुङले भने, 'हामीले भनेका छौँ सामाजिक सञ्जालको प्रयोग र सञ्चालनको नियमन गर्ने विधेयक ल्याएका छौँ । त्यो विधेयक राष्ट्रिय सभामा मैले प्रश्तुत गरिसकेको छु तर त्यो बीचमा गएर रोकिराखेको छ । किन रोकिएको छ भन्ने सबैलाई थाहा छ । आज सोसल मिडिया प्लेटफर्म जस्लो चलाइरहेको छ नि जस्ले सञ्चालन गर्छ । त्यो सञ्चालन गर्नेहरुले यो मुलुकको संविधान मान्नु पर्ने कि नपर्ने ? जस्तो मेटा भनौँ, गुगल, टिकटक ...। यिनीहरुले नेपालमा काम गर्ने भएपछि नेपालको कानून मान्ने कि नमान्ने ? नेपालको संविधान मान्नु पर्ने कि नपर्ने ? यहाँ दर्ता हुनुपर्ने कि नपर्ने ? उनीहरुले जे खालको कन्टेन्टहरु पस्कन्छ त्यसबाट हाम्रो नेशनल युनिटी, राष्ट्रिय स्वाधिनताको बारेमा बोलिदियो भने र त्यसले समाजमा ठुलो प्रभाव सिर्जना गर्यो भने त्यसलाई हामीले के गर्ने ? सबैभन्दा ठूलो कुरा देश हो । देशको स्वाधिनता, भौगोलिक अखण्डता र एकता हो । स्वाधिनताको विरुद्ध जे जे संप्रेषण हुन्छ सोसल मिडियाबाट, त्यो सञ्चालकलाई नियमन गर्नुपर्छ भनेको हो । त्यो भनेको प्रेस फ्रिडमलाई खोस्ने भनेको होइन । जस्ले जे लेखेपनि भाछ, फेक आइडी बनाएर मनपरी लेखिरहेको छ । समाजिक सद्भाव भड्काइरहेको हुन्छ । हाम्रो जातीय सद्भाव भड्काइरहेको हुन्छ । धार्मिक सहिष्णुतालाई भड्काइरहेको छ । पहिला पनि हामीले तीन महिनाको सूचना जारी गरेको दर्ता गर्न आउ भनेर । अहिले एक महिनाको सूचनाको दुई तीन दिन बाँकी छ, तर कोही आउँदैन ।'
सञ्चारमन्त्री गुरुङले नेपाल धार्मिक सहिष्णुताको अनुपम उदाहरण भएको बताउँदै विभिन्न जातजाती तथा धर्मका अनुयायी मिलेर बसेकोले विविधतामा एकता भएको बताए । उनले सामाजिक सञ्जालको दुरुपयोग गरी विदेशीहरुले नेपालको धार्मिक सहिष्णुतालाई खल्बलाउन नेपालीलाई कमजोर बनाउन खोजेको आरोप लगाए ।