ललितपुर । गोदावरी नगरपालिकाको वडा नम्बर १ मा बालमैत्री स्थानीय शासन घोषणा भएको छ । १४ वटा वडा रहेको गोदावरी नगरको वडा नंं. १ गोदमचौर ‘सम्मानित बालापन सुनिश्चित बालअधिकार–बालमैत्री तथा समुन्नत गोदावरीको आधार’भन्ने मुल नाराका साथ बालमैत्री वडा घोषणा भएको हो ।
गोदावरी नगरपालिकाभित्र मात्रै होइन, ललितपुर जिल्लामा नै गोदावरीको वडा नंं. १ पहिलो बालमैत्री वडा हो । वडाले बालमैत्री स्थानीय शासन कार्यन्वयन निर्देशिका–२०७८ र बाल मैत्री स्थानीय शासन घोषणा कार्यबिधि–२०७९ अनुसारका ५१ वटा सुचकहरु पूरा गरेको छ ।
वडाले बाल बचाउको क्षेत्रमा १४ सुचक, संरक्षणको क्षेत्रमा १० वटा सुचक, बाल विकासमा ६ वटा सुचक, सहभागितामा ६ र संस्थागतमा जम्मा १५ वटा गरी ५१ वटा सुचक पूरा गरेको हो । २०८० पुस महिनादेखि बालमैत्री अभियान सुरु गरेको वडा अध्यक्ष श्रीराज थापाले बताए । अध्यक्ष थापाले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका र कार्यविधिको कार्यान्वयनलाई जोड दिएको स्पष्ट पारे ।
कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद उदयशमशेर राणाले बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्दा बालबालिकाहरूलाई सामाजिक क्षेत्रमा घुलमिल गराउने,समाजसेवाप्रति प्रेरित गर्ने र समाजमा रहेका समस्याप्रति विरोध मात्र नगरिकन समाधानमा समेत प्रेरित गराउनुपर्ने बताए । बालमैत्री नगर घोषणा गर्न ५१ सूचक पूरा गर्नु सहज कार्य नभएको बताउँदै गोदावरी नगरपालिकाले ललितपुर जिल्लामा नै उदाहरणीय कार्य गरेकोमा सांसद राणाले प्रशंसा गरे । बागमती प्रदेशसभा सदस्य मधुसूदन पौडेलले ललितपुरको पहिलो बालमैत्री स्थानीय शासन युक्त वडा हुन सफल भएकोमा गोदावरी नगरको वडा नं. १ लाई बधाई दिए । उनले अभियानलाई निरन्तरता दिन बागमती प्रदेशबाट सबैखाले सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।
नगर प्रमुख गजेन्द्र महर्जनले वडा नम्बर १ बाट सुरु भएको यो बालमैत्री अभियानलाई नगरपालिकाका १४ वटै वडामा कार्यान्वयन गरिने बताए । नगर प्रमुख महर्जनले २०८२ चैतसम्ममा गोदावरी नगरलाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने जानकारी दिए । प्रमुख महर्जनले बालमैत्री स्थानीय शासन कार्यक्रम निरन्तरता र दिगोपनका लागि चाहिने पूर्वाधारमा आगामी वर्षको बजेटबाटै प्राथमिकतामा राख्ने बताए । उपप्रमुख मुना अधिकारीले गोदावरी नगरपालिका २०८२ चैत्र मसान्तसम्म पूर्णरुपमा बालमैत्री वडा घोषणा भइसक्ने जानकरी दिँदै यो कार्यका लागि खटिने सबैलाई धन्यवाद दिइन् ।
सामाजिक विकास समितिका संयोजक एवं वडा नं. १० का वडाअध्यक्ष शेखर न्यौपानेले गोदावरी नगरपालिकाको वडा नं. १ बालमैत्री वडा घोषणा भएसँगै गोदावरी नगरपालिकाका अन्य वडाहरु बालमैत्री घोषणाका लागि बाटो खुलेको बताए । उनले भने, ‘अब क्रमैसँग सबै वडाहरु बालमैत्री घोषणा हुँदै जानेछन् ।’ कार्यक्रममा जिल्ला समन्वय समिति ललितपुरका उपप्रमुख रामलाल थिङ, गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का, नगर बाल सन्जालका अध्यक्ष लगायतले मन्तव्य राखेका थिए । बालमैत्री वडा घोषणाअघि गोदार गाउँमा रहेको गणेश मन्दिरबाट सुरु भएको प्रभातफेरी गोदामचौरमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।
कार्यक्रममा बाल क्लबहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुने क्लबहरुमा मनकामना बालक्लव, बिशंखुुनारायाण मा.वि. बालक्लब, पिपलबोट बाल क्लब, कार्कीटार बाल क्लब, मुक्तिनाथ बाल क्लब, सातथली बाल क्लब , गणेशथान बाल क्लब (साबिक ७), गणेशस्थान बाल क्लब (साबिक २), सिर्जनशिल बाल क्लब, नवशोच बाल क्लब, सूर्य शिक्षा सदन बाल क्लब, जागृति बाल क्लब, वडा बालसञ्जाल रहेका छन् ।