News 24 Television
सरकार ढल्छ भन्ने प्रचण्डको दाबी, देउवाको एक चुट्कीमै गल्र्याम्म !

काठमाडौं । नयाँ वर्षको सुरुवातसँगै कांग्रेस एमाले नेत्तृत्वको सरकार ढल्ने दाबी गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिन नेपाली राजनीतिलाई तरंगित बनाए । तर बिहिवार कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको कांग्रेस पदाधिकारी बैठकले प्रचण्डले भनेकै आधारमा सरकार नढल्ने निष्कर्ष निकालेको छ । यता कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष आउनु अघि नै प्रचण्डले केपी ओली नेत्तृत्वको सरकारले नयाँ वर्ष पनि काट्दैन भनेर कांग्रेस एमाले नेताहरुसँग गरेको संवादमा आधारमा गरेको राजनीतिक विश्लेषण भनेका छन्  । 

 
सत्ता साझेदार नेपाली कांग्रेसले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेको आधारमा अर्को सरकार बन्ने र वर्तमान सरकार ढल्ने कुनै आधार नरहेको निष्कर्ष निकालेको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पूर्व पदाधिकारी, पदाधिकारी र मन्त्रीसहितको बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले तत्काल सरकार ढल्ने कुनै कारण नरहेको बताए । 

माओवादी केन्द्र प्रमुख प्रतिपक्ष दल भएकाले उसको धर्म अनुसार नै सरकार ढलिहालोस् भन्नु स्वभाविक रहेको पनि प्रवक्ता महतको भनाइ छ । तर प्रचण्डले भनेकै आधारमा सरकार नढल्ने उनको जिकिर छ । गठबन्धन सरकार भएका कारण सबै एउटै पार्टीको मात्रै निर्णय लागु नहुने उल्लेख गर्दै उनले सरकारमा समन्वय आवश्यक रहेको बताए । 

सरकारको आलोचना र बैठक

सरकारको शैलीलाई लिएर केही दिनयता नेपाली कांग्रेसभित्रैबाट निरन्तर आलोचना भइरहेको छ । सरकारमा सहभागि दलकै नेताहरुबाट आलोचना हुन थालेपछि सभापति देउवाले पदाधिकारी, पूर्वपदाधिकारी, केही मन्त्रीहरू र प्रमुख सचेतकलाई बोलाएर छलफल गरेका हुन् । बुढानिलनिकण्ठस्थित देउवा निवासमा झण्डै ३ घन्टा चलेको छलफलपछि सभापति देउवाले वर्तमान सरकारलाई निरन्तरता दिनेमा आफु स्पष्ट रहेको बताएका छन् । 

गत असार १७ मा सरकार बन्दा भएको ७ बुँदे सहमतिमा कांग्रेस प्रतिवद्ध रहेको सन्देश पनि देउवाले दिएका छन् । बैठकमा सरकारको विकल्प खोजिएको हो भन्ने प्रश्नमा देउवाले सरकारले केही कुरामा सुधार गर्नुपर्ने बताउँदै सरकारको पक्षमा बोल्न निर्देशन दिएका छन् भने सरकारको कमीकमजोरीको बारेमा आफुलाई भनेमा प्रधानमन्त्रीलाई सुनाउने पनि बताएका छन् । 

ओलीलाई राहत !

कांग्रेस बैठकपछिको निष्कर्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने ठूलो राहत मिलेको छ । पछिल्लो समय सार्वजनिक कार्यक्रमहरुमा पुग्दा समेत आलोचना र मुर्दावादको नारा सुन्नु परेको प्रधानमन्त्री ओली माओवादी अध्यक्ष प्रचण्डको टिप्पणीपछि केही अधिर थिए । 

प्रचण्डले देउवालाई प्रधानमन्त्रीको अफर गर्दै सरकारमा सहभागि भएर वा नभईकनै पनि साथ दिने बताएपछि त्यसले राजनीतिक वृत्तमा तरंग पैदा गरेको थियो भने सरकारको भविष्यलाई लिएर टिकाटिप्पणी भइरहेका थिए । तर कांग्रेस बैठकसँगै आएको पार्टीको आधिकारिक निष्कर्षले तत्काल सरकार परिवर्तनको संकेत देखिएन भने प्रधानमन्त्रीले संयुक्त सरकारमार्फत् राष्ट्र निर्माणमा जोड दिने बताएका छन् ।  

प्रचण्डको दाबी र फेरिएको बोली

प्रचण्डले लामो समयदेखि नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनको मुद्दालाई आफु नेत्तृत्वको सरकार ढाल्ने मुख्य कारणका रूपमा प्रस्तुत गर्दै आएका छन् । उनले विचौलियाहरूको प्रभावमा आफ्नो सरकार हटाइएको र त्यसमा ठूला दलहरूको हात रहेको आरोप लगाउँदै आएका थिए । नयाँ वर्ष २०८२ को सुरुवातसँगै उनले केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने दाबी गरेका थिए । 

तर, सरकार स्थिर हुने देखिएपछि उनको बोली फेरिएको छ । उनले सरकार ढल्ने भन्ने आफ्नो अभिव्यक्ति राजनीतिक विश्लेषणको आधारमा रहेको तर्क मात्रै गरेका छैनन् माओवादीलाई सरकारमा जान कुनै हतारो नरहेको पनि बताएका छन् । 

प्रतिपक्षी दलको नेताले सरकारको आलोचना गर्नु र सरकार ढलोस् भन्ने चाहना राख्नु राजनीतिकरुपमा स्वभाविक नै मान्न सकिन्छ । तर उनको यो शैलीले भने उनीमाथिको राजनीतिक विश्वसनीयतामाथि पनि प्रश्न उठेको छ । 

आफुलाई सत्ताच्यूत गर्ने दल भन्दै सत्तोसराप गरेको नेपाली कांग्रेसलाई नै सरकारको नेतृत्वका लागि आह्वान गर्नुले ओलीलाई ठीक पार्न उनी केसम्म गर्न तयार छन् भन्ने देखिएको छ भने यसले अर्कोतर्फ उनमा सत्ता बाहिर रहँदाको छटपटि र बेचैनी कतिसम्म छ भन्ने पनि देखिएको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  ०८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update