
काठमाडौं । नेपालको पुरानो एवम् प्रमुख औषधि उत्पादक संस्था नेपाल औषधि लिमिटेडले सिटामोल र जीवनजल उत्पादन समेत बन्द गर्नु परेको छ ।
सरकारको असहयोगका कारण विगत डेढ महिनादेखि सिटामोल र जीवनजल उत्पादन रोक्नुपर्ने अवस्था आएको बताइएको छ । स्वास्थ्य मन्त्रालयको असहयोगले यो दशामा पुग्नु परेको अवस्था देखिन्छ ।
स्वास्थ्य मन्त्रालयले सहयोग नै नगर्दा सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेड डामाडोल अवस्थामा पुगेको छ ।
अवस्था यतिसम्म खराब भइसकेको छ कि यहाँबाट सिटामोल र जीवनजल समेत उत्पादन गर्न सकिएको छैन । विगत डेढ महिनादेखि उत्पादन ठप्प छ । स्वास्थ्य मन्त्रालयले औषधि खरिद प्रक्रिया अगाडि नबढाउँदा करोडौं रकमको घाटा छ । डेढ करोडको औषधि स्टकमा छ । थप औषधि उत्पदनको योजना पनि अलपत्र छ ।
सरकारको सुस्तताले पु¥याएको क्षतिको ग्राफ
- कच्चा पदार्थको ठूलो परिमाण खरिद गरेर उत्पादन बढाइए पनि सरकारका विभिन्न निकायहरूले औषधि खरिद नगरेपछि बजारमा विक्री ठप्प
- विक्री नै ठप्प भएपछि उत्पादन नै बन्द गर्नुपरेको
- हाल १ करोड ५० लाख रुपैयाँ बराबरको औषधि स्टकमा थन्किएको
- जसमध्ये सिटामोल र जीवनजल सबैभन्दा धेरै
- २०७९ चैत्र २० गते औषधि लिमिटेडलाई २० प्रकारका औषधि उत्पादन गराउन सरकारले २४ करोड रकम दिने निर्णय गरिएको थियो ।
- तत्कालीन मुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा गठित समितिले स्वास्थ्य, उद्योग र अर्थ मन्त्राललाई नेपाल औषधि लिमिटेडको सुधार योजना पठाउने र त्यसलाई तीन मन्त्रालयले समन्वय गरेर कार्यान्वयनमा निर्णय समेत गरेको थियो ।
- त्यही आधारमा लिमिटेडले दुई चरणमा काम गरेर १० प्रतिशत औषधि उत्पादन वृद्धि गरेको भएपनि त्यो रकम अझै लिमिटेडले पाएको छैन ।
- औषधि उत्पादन १० प्रतिशतले बढाएको भएपनि गत वर्षको जति पनि औषधि उत्पादन गर्न सकेको अवस्था छैन ।
स्वास्थ्य मन्त्रालयबाटै असहयोग !
- औषधि लिमिटेडसँग सम्झौता गर्न नचाहने स्वास्थ्य मन्त्रालयको रवैयाले औषधि लिमिटेड संकटतर्फ गइरहेको आरोप महाप्रबन्धक कैलाशकुमार पनेरुको छ ।
- २०७९ चैत २० मा गठित मुख्य सचिवस्तरीय समितिले स्वास्थ्य मन्त्रालय र लिमिटेडबीच औषधि खरिदसम्बन्धि एमओयु गर्न सिफारिस गरे पनि अहिलेसम्म प्रक्रिया अघि बढ्न सकेको छैन ।
- पटक–पटक प्रधानमन्त्री, उद्योगमन्त्री र स्वास्थ्य सचिवसँग समय माग्दा पनि बेवास्ता
- स्वास्थ्य विभागबाट स्वास्थ्य मन्त्रालय र स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य विभागमा फाइल ओहोरदोहोर भइरहेपनि निष्कर्षविहीन
यदी स्वास्थ्य मन्त्रालयले एमओयु गरेर औषधि खरिद प्रक्रिया शुरु भए तत्काल औषधि उत्पादन शुरु गर्न सकिने अवस्था छ ।
कमिसनको खेलमा फाइल ओहोरदोहोर मात्रै
स्वास्थ्य सेवा विभागका केही कर्मचारीहरुको व्यक्तिगत स्वार्थका कारण एमओयु प्रक्रिया अगाडि बढ्न नसकेको महाप्रवन्धक पनेरुको आरोप छ ।
- अहिले सातवटै प्रदेशका प्रदेश आपूर्ति केन्द्र, वीर अस्पताल, सिभिल अस्पताल, गंगालाल हृदय केन्द्र, टेकु अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, अंग प्रत्यारोपण केन्द्र र १२ नगरपालिकाले लिमिटेडको औषधि किन्ने गरेका छन् ।
- तर स्वास्थ्य मन्त्रालय र लिमिटेडबीच एमओयु भएको अवस्थामा सबै सरकारी अस्पताल र स्थानीय तहका स्वास्थ्य शाखाहरुले लिमिटेडबाटै औषधि किन्नेछन् ।
- थप औषधि उत्पादन गर्ने लिमिटेडको योजना स्वास्थ्य मन्त्रालयका कारण अलपत्र
- लिमिटेडले नयाँ प्रकारका औषधि उत्पादन विस्तार गर्ने योजनामा काम अघि बढाइरहेको छ । तर आवश्यक सरकारी सहयोग नपाउँदा र स्वास्थ्य मन्त्रालयको चासोको अभावका कारण यो योजना अलपत्र परेको छ ।
- लिमिटेडले कोलेस्टेरोल, मधुमेह (सुगर) र उच्च रक्तचाप (प्रेसर) का औषधि उत्पादन गर्ने तयारी गरिरहेको थियो । तर, उत्पादित सिटोमोल र जीवन जलकै बजार सुनिश्चित नदेखिएपछि पछि हट्ने तयारी गरेको छ ।
लिमिटेडले आफ्ना औषधिहरू सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा विक्रीका लागि स्वास्थ्य मन्त्रालयसँग एमओयु (समझदारीपत्र) गर्न पटक–पटक आग्रह गर्दै आएको छ । तर मन्त्रालयले सम्झौताको प्रक्रिया लम्ब्याउँदै आएको कारण संस्थाको उत्पादन र बिस्तार योजना दुवै अलपत्र अवस्थामा छन् ।