
काठमाडौं । गभर्नर नियुक्तिमा देखिएको झमेलामा सरकारले प्रतिरक्षा गरिरहेको छ । सेटिङबाट गभर्नर नियुक्त गर्न लागिएको हल्लापछि सरकारले सत्तारुढ दलका दुई नेताबीच सहमति भइसकेको भनिरहेका बेला कांग्रेसले भने सरकारमाथिको दबाब बढाउन थालेको छ ।
गभर्नर नियुक्तिमा देखिएको संकटपछि कांग्रेस नेताहरुले सरकारमाथि दबाब बढाइरहेका छन् । गठबन्धन भत्किन सक्छ है भन्ने सन्देश प्रवाह गरेर कांग्रेसले नियुक्ति आफ्नो पोल्टामा पार्ने षडयन्त्रलाई जोड दिएको देखिन्छ ।
कांग्रेस नेतृ समेत रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले इलाममा एक कार्यक्रममा बोल्दै कांग्रेसमा लोकप्रिय बन्नका लागि जथाभावी बोल्ने गरिएको टिप्पणी नै गरेकी छन् । यता कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारमाथि नियमित प्रहार गरिरहेका छन् ।
गगनले त प्रधानमन्त्रीको बेडरुमसम्म विचौलिया पुग्न थालेको आरोप नै लगाए ।
गगनले यस्तो आरोप लगाइरहँदा अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि सामाजिक सञ्जालमार्फत सरकारले सहि गति नसमातेकोदेखि अनेक आरोप लगाएका छन् ।
यस्तोमा गगन थापाले समेत नियमित रुपमा सरकारमाथि आरोप लगाउनेक्रमलाई निरन्तरता दिएका छन् । यस्ता आरोपको चुलीमा गभर्नर नियुक्ति केन्द्रमा रहेको बताइन्छ । तर, सरकारका प्रवक्ताले गभर्नर नियुक्तिका लागि प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सहमति भइसकेको बताएका छन् ।
गभर्नर नियुक्तिको विषयमा सरकारले यस्तो जिकिर गरेपनि विचौलियाको चलखेल अब कांग्रेसतर्फ नै केन्द्रित भएको बताउन थालिएको छ । कांग्रेसले प्रधानमन्त्रीलाई दबाबमा राखेर महत्वपूर्ण नियुक्तिमा प्रभाव कायम गर्न खोजेको देखिन्छ ।
कुनै बेला शेरबहादुर देउवाले नै प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गर्न नसक्ने बचन दिदा पार्टीभित्रको आन्तरिक राजनीतिक सन्तुलनलाई मानक बनाएका थिए ।
ठिक त्यसैगरि कांग्रेसले फेरि नियुक्ति दाउ खेल्न थालेको छ । यस्तोमा के प्रधानमन्त्री केपी ओलीले सहज रुपमा नियुक्तिमा कांग्रेसको एसम्यानको रुपमा काम गर्लान ? आशंका देखिन्छ ।
आफैले अघि सारेकी निलम ढुगानालाई गभर्नर नियुक्ति गर्ने वा कांग्रेसले अघि सारेका गुणाकर भट्ट वा ज्ञानेन्द्र ढूंगानालाई अघि सार्ने भन्ने विषय अन्योलतामा धकेलिएको बताइन्छ । यद्यपी, गुणाकरलाई नै बनाउने गरि अन्तिम कसरत भने चलिरहेको बताइन्छ । तर, नियुक्तिको अन्तिम समयसम्म पनि परिस्थिति फेरिने भएकाले अहिले नै भन्न सकिने स्थिति भने छैन् ।