News 24 Television
शुरुवात पहिले नै लफडा मच्चियो, गेटामा कसको स्वार्थ के ?

कैलाली । सरकारको चरम वेवास्ता र ढिलासुस्तीका कारण कैलालीको गेटा मेडिकल कलेज सञ्चालनमा आउनु पहिले नै अन्योलग्रस्त बन्न पुगेको छ । 

मेडिकल कलेज सञ्चालनमा नआउँदै तीन जना प्रमुख फेरिएका छन् भने करार र ज्यालादारीमा भर्ना गरिएका ६३ जना कर्मचारी गत पुसदेखि करार अवधि थप नहुँदा विना पारिश्रमिक काम गरिरहेका छन् । सरकारले मोडालिटी स्पष्ट नगर्दा समस्या थप जटिल भइरहेको छ । 

कैलालीको गेटामा रहेको गेटा मेडिकल कलेज राम्रो सम्भावना बोकेको कलेज हो । मेडिकल कलेज सञ्चालनका लागि ६ अर्ब ५८ करोड खर्चेर आवश्यक पर्ने भौतिक संरचना निर्माणको काम पनि भइसकेको छ । तर, सञ्चालनमा आउनु पहिले नै यहाँ विजोग अवस्था सृजना भएको छ । मेडिकल कलेज सञ्चालन आएकै छैन, तर तीन जना प्रमुख फेरिसके । 

करार र ज्यालादारीमा राखिएका ६३ कर्मचारी गएको पुसदेखि करार अवधि थप नहुँदा पारिश्रमिकविहीन छन् । सोधै भन्दा गेटा मेडिकल कलेज सञ्चानमा आउनु पहिले नै भद्रगोल भएको छ । 

के कस्तो छ भौतिक अवस्था ?

-    २०७३ सालमा गेटा मेडिकल सञ्चालन गर्ने भनि सरकारले अस्पतालको भौतिक संरचना निर्माणमा साढे ६ अर्ब रुपैयाँ भन्दा बढी खर्च गरिसक्यो 

-    मेडिकल कलेजका लागि आवश्यक पर्ने ४२ वटा संरचना ५१ हेक्टर क्षेत्रफलमा तयारी अवस्थामा 

-   जसमा ६ सय वेडको अस्पताल र एमबीबीएस पढाउनका लागि फर्निसिङसहितको तयारी भइसकेको छ । 

कसको दाउपेच के ?

-  कहिले मेडिकल कलेज त कहिले स्वास्थ्य विज्ञान विश्व विद्यालय बनाउने भनेर यसलाई अलमल्याउने काम भइरहेको छ ।

-   संघीय सरकारले २०८० असारमा न्यूनत्तम सुविधासहित एक सय वेड क्षमताको अस्पताल सञ्चालन गर्ने नीतिगत निर्णय गरेको भए पनि स्वास्थ्य मन्त्रालयले ५० वेड क्षमताको अस्थायी स्वीकृति प्रदान गरेर थप अल्झाइदिएको छ । 

-    राजनीतिक दाउपेचका कारण यो अस्पताल शुरु भएयता तीन जना प्रमुखहरु फेरिसकिएका छन् ।  

-    गत फागुन यता प्रमुख नहुँदा करार र ज्यालादारीमा काम गरिरहेका ६३ जना कर्मचारीहरुको नियुक्ति थप नहुँदा तलब खानबाट बञ्चित अवस्था छ । 

कलेज प्रशासन र अस्पताल भवन स्वास्थ्य मन्त्रालय मातहत सञ्चालन गरिएको गेटा अस्पताललाई हस्तान्तरण गरिए पनि बाँकी संरचना अहिले पनि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय मातहत रहेको छ  ।

यसलाई पूर्वाधार विकास निर्माण समितिले रेखदेख गरिरहेको छ। तर २०८० भदौमा उक्त कार्यालयका प्रमुख सेवानिवृत्त भएपछि एक जना इन्जिनियरले त्यसको रेखदेख गर्दै आएका छन्। यि सबै कारण तयारी अवस्थामा रहेका मेडिकल कलेजका भवनहरु लामो समयदेखि प्रयोगविहिन छन्। 

कस्तो छ कानूनी अवस्था ?

-    मेडिकल कलेज सञ्चालन गर्ने भनेर तयार भएको यो संरचनालाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन भनेर तयार पारिएको विधेयक राष्ट्रियसभाबाट पारित भइसकेको छ । 

-    विधेयक अहिले प्रतिनिधिसभामा दर्ता भएको छ । 

-    संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित भइसकेको अवस्था छ । 

-   अब प्रतिनिधिसभामा विधेयकमाथि छलफल हुनेछ । 

-    प्रतिनिधिसभाबाट पारित भएर प्रमाणीकरण भएपछि यो कानूनका रुपमा लागु हुनेछ । 

मेडिकल कलेज सञ्चालनका लागि तयार संरचानाको प्रमुख दलका लगभग सबै शीर्ष नेतादेखि हालका प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरुले अवलोकन र निरीक्षण गरिसकेका छन्। केहीदिन अघि मात्र कैलाली पुगेका प्रधानमन्त्री केपीशर्मा ओली र गृहमन्त्री रमेश लेखकले त यसलाई यसैवर्षभित्र सञ्चालन हुने गरी प्रक्रिया अघि बढेको दाबी नै गरेका छन्। 

प्रधानमन्त्रीले यस्तो दाबी गरेपनि गेटाको अवस्था जटिल बनिरहेको छ । चिकित्सा क्षेत्रमा राम्रो सम्भावना बोकेको यस संरचनालाई यो वा त्यो बाहानामा पछाडी धकेल्ने कार्यले राज्यलाई नै क्षति हुने हो । 

मुलुकको समग्र स्वास्थ्य क्षेत्र सुधारमा गेटाको भूमिका महत्वपूर्ण हुने देखिन्छ पनि । त्यसैले सरकार, सत्ता र प्रतिपक्षी सबै नेताहरुले यसतर्फ ध्यान दिनैपर्ने देखिन्छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  ०८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update