
झापा । नेपालको लोपोन्मुख मेचे जातीले यस वर्षको वैशागु बथर पर्व धुमधामका साथ मनाएका छन् । झापाको मेचीनगरमा विशेष कार्यक्रमको आयोजना गर्दै मेचे समुदायले यस वर्षको वैशागु बथर पर्व मनाएको हो ।
नेपालको ७७ जिल्लामध्ये झापामा मात्रै बसोबास रहेको लोपोन्मुख आदिवासी जनजाति मेचे समुदायले प्रत्येक वर्ष वैशाख ३ गते मनाउँदै आएका वैैशागु बथर पर्व यसपाली पनि नेपालसहित छिमेकी मुलुक भारतको सिलुगुढी, आसाम लगायतका स्थानबाट भेला भएर हसोल्लासका साथ मनाएका छन् ।
नेपालको लोपोन्मुख मेचे जातीले यस वर्षको वैशागु बथर पर्व धुमधामका साथ मनाएका छन् । यस अवसरमा विशेष कार्यक्रमको आयोजना गरि उल्लासको वातावरण बनाइएको थियो ।
नेपालको जनगणना २०७८ अनुसार मेचे जातीको जनसंख्या पाँच हजार १ सय ९३ जना रहेको छ । बिशेषगरी झापाको मेचीनगर, भद्रपुर, विर्तामोड, हल्दिबारी, अर्जुनधारा र दमक लगायत ९ वटा स्थानीय तहमा मात्रै बसोबास गर्ने मेचे समुदायले बैशागु बथर पर्वलाई राष्ट्रिय पवको रुपमा मनाउँदै आएका छन् । मेचे जातीको आफ्नै छुट्टै कला सँस्कृति, भेष भुषा, भाषा र रहन सहन छ ।
पछिल्लो समय युवा पुस्तामा आफ्नो कला संस्कृति र धर्म सम्बन्धि ज्ञानको अभाव हुँदा मेचे समुदायको पहिचान लोप हुँदै गइरहेको छ ।
त्यसलाई संरक्षण र प्रवद्र्धन गर्न पनि आफुहरुले बैशागु बथर पर्व मनाउँदै आएको मेचे समाज शिवियारी आफात केन्द्रीय समितिका पुर्व केन्द्रीय उपाध्यक्ष सन्तोष मेचे बताउँछन् ।
यो पर्व सबै उमेर समुहका मानिसहरुले मनाउने भएकाले संस्कार पुस्तान्तरण गर्न पनि बिशेष महत्व रहेको उनको भनाई छ । मेचे समुदायको बैशागु बथर पर्व मनाउन प्रत्येक बर्ष नेपाल झापाको मात्रै नभएर भारतको आसामबाट समेत मेचे समुदायका मानिसहरु नेपाल आउने गरेका छन् ।
बैशागु बथर पर्वको अवसर पारेर मेचे समाज शिवियारी आफात केन्द्रीय कार्यालयको उद्घाटन समेत गरिएको छ । सभामुख देवराज घिमिरेले कार्यालय उद्घाटन गरेका हुन् ।
श्रमदान सहित करिब एक करोडको लागतमा मेचीनगर ११ स्थित धाइजनमा रहेको नवनिर्मित तीनतले पक्की भवनको उद्घाटन पश्चात् बोल्दै सभामुख घिमिरेले राज्यले लोपोन्मुख आदिवासी जनजातिको हक अधिकार सुनिश्चित गर्न लागि परिरहेको बताए ।
उनले नेपाल बहुजाती, बहुभाषिक र कला संस्कृतिले भरिपुर्ण रहेकाले सबैले आआफ्नो कला संस्कृतिको जगेर्ना गर्नुपर्ने उनको भनाइ छ ।
मेचे समुदायको बसोबास रहेको पालिका मेचीनगर, हल्दिबारी, भद्रपुर, कनकाई लगायतले बैशाख ३ गते स्थानीय विदा समेत दिने गरेका छन् । हुनत, सरकारले लोपोन्मुख जातजाति, संस्कार, सस्कृतिको संरक्षणका क्षेत्रमा विभिन्न काम गर्दै आएको छ ।
तरपनि मेचे जाति र यस जातिको संस्कार, संस्कृति संरक्षणमा पर्याप्त ध्यान नपुगेकाले आवश्यक कदम चाल्नु पर्ने यस क्षेत्रका अगुवाहरुको सुझाव छ ।