
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले अगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने सगरमाथा संवादको तयारी प्रक्रियामा सरकार र सरकार निकट व्यक्तिहरूको मात्र सहभागिता देखिनु विडम्बनापूर्ण रहेको बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री एवं उक्त संवाद कार्यक्रमको निर्देशक समितिका अध्यक्ष समेत रहनुभएका केपी शर्मा ओलीलाई भेटेर उनले यस्तो बताएका हुन् ।
जलवायु परिवर्तनजस्तो विश्वव्यापी र बहुआयामिक चुनौतीको सामना गर्न सबै पक्षको सहभागिता र पहलकदमी अपरिहार्य भए पनि सगरमाथा संवादलाई सत्तापक्षको कार्यक्रममा सिमिति राख्न खोजिएको आरोप लगाए । सगरमाथा संवादलाई सत्तापक्षको कार्यक्रममा सीमित नराखी सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज, विज्ञ समुदाय र आम जनताको साझा मञ्चको रूपमा स्थापित गरिनुपर्ने उनको भनाइ छ ।
सापकाेटाले भने, ‘जलवायु परिवर्तनजस्तो विश्वव्यापी र बहुआयामिक चुनौतीको सामना गर्न सबै पक्षको सहभागिता र पहलकदमी अपरिहार्य छ । तर सगरमाथा संवादको तयारी प्रक्रियामा सरकार र सरकार निकट व्यक्तिहरूको मात्र सहभागिता देखिनु विडम्बनापूर्ण छ । यो संवादलाई सत्तापक्षको कार्यक्रममा सीमित नराखी सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज, विज्ञ समुदाय र आम जनताको साझा मञ्चको रूपमा स्थापित गरिनु पर्दछ । यसले मात्र संवादको विश्वसनीयता, प्रभावकारिता र राष्ट्रिय स्वामित्व सुनिश्चित गर्दछ ।’
उनले समावेशी संरचना र सहभागितामूलक प्रक्रियामार्फत सगरमाथा संवादलाई राष्ट्रिय गौरवको संवाद बनाउन र सबैको अपनत्ववोध गराउन सरकारको ध्यानाकर्षण समेत गराए । जलवायु न्याय र हिमाल संरक्षणको विषय अन्तर्राष्ट्रिय कुटनीतिको संवेदनशील विषय भएको उनकाे भनाइ छ ।
विभिन्न देशबाट आमन्त्रित पाहुनामाझ प्रस्तुत गर्ने अवधारणा, कार्यपत्र र दृष्टिकोणले राष्ट्रिय एकता र विश्वसनीयता झल्काउनुपर्ने सुझाव दिँदे उनले यसका लागि सबै राजनीतिक दल, विज्ञ, नागरिक समाज र सरोकारवालासँग गहन छलफल, परामर्श र सहमति हुनु आवश्यक रहेको बताए ।
सरकारले पहिलोपटक जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर हरेक दुई वर्षमा यस प्रकारको विश्वव्यापी संवाद आयोजना गर्न लागेको हो ।