News 24 Television
'ओली-देउवाबीच सहमति भइसक्यो, गभर्नर नियुक्ति छिट्टै हुन्छ'

काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल राष्ट्र बैंकमा छिट्टै गर्भनर नियुक्ति हुने बताएका छन् । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नको उत्तर दिँदै उनले यस्तो बताएका हुन्  ।

मुलुकको समग्र अर्थतन्त्रमा सुधार ल्याउनुपर्ने क्षमताको गभर्नर ल्याउनुपर्ने भएकाले नियुक्तिमा ढिलाई भएको उनकाे जिकिर छ । गुरुङले सत्तारुढ दलहरुबीचमा गभर्नर नियुक्तिको विषयमा सहमति भइसकेको जानकारी समेत दिए । उनले सत्तारुढ राजनीतिको संयन्त्रको बैठकको मार्गनिर्देशनअनुसार सरकारले निर्णय लिने समेत जानकारी दिए ।

प्रवक्ता गुरुङले भने, ‘समग्र मुलुकको आर्थिक अवस्था सुधार गर्नुपर्ने भएको कारण गभर्नर नियुक्तिको विषय सबै दलहरुको आ–आफ्नो चासो हुनु अस्वाभाविक हैन । हिजो नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबिच गभर्नर नियुक्ति गर्ने सहमति पनि भएको छ । अब संयन्त्रको बैठक बस्दैछ । उक्त बैठकले नीतिगत मार्गनिर्देशन गर्नेछ भन्ने हाम्रो विश्वास छ । गभर्नरको समस्या चाँडै समाधान हुन्छ । अहिले पनि निमित्तको भरमा त हैन नि चलिरहेको । कार्यवाहक नै दिएर सञ्चालन भइरहेको छ ।’

सरकार शिक्षकका मागहरुप्रति समेत संवेदनशील रहेको मन्त्री गुरुङले बताए । उनले शिक्षकका जायज मागहरु पूरा गर्नको लागि सरकारले बजेट अधिवेशन आह्वान गर्न सिफारिस गरिसकेको जानकारी दिए । 

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update