News 24 Television
नेपाल वाङ्मय परिषदद्वारा थप ५ जना स्रष्टा सम्मानित हुँदै

काठमाडौँ । नेपाल वाङ्मय परिषदले हरेक वर्ष साहित्यिक क्षेत्रका प्रतिभा (स्रष्टा)हरूलाई सम्मानित गर्दै आएको छ । यसै क्रममा परिषदले वि.सं. २०८१ का लागि ५ जना स्रष्टालाई सम्मानित गर्ने भएको छ ।  

परिषदको सचिवालयले गरेको निर्णयअनुसार वि.सं. २०८१ का लागि विभिन्न जिल्ला गरी ५ जना स्रष्टालाई सम्मान प्रदान गर्ने घोषणा गरिएको छ । जसअनुसार आरडी–राजलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार बैतडीका प्रा.डा. महादेव अवस्थीलाई र नेपाली वाङ्मय साधना सम्मान रूपन्देहीका प्रा.डा. कपिल लामिछानेलाई प्रदान गर्ने निर्णय भएको छ ।

यस्तै, पद्मा–रामचन्द्र लघुकथा सम्मान डा.हरिप्रसाद भण्डारी (रुपन्देही), राधिका–गोपालदत्त लघुकथा सम्मान ध्रुव मधिकर्मी (भक्तपुर) र कर्मयोद्धा सृजना सम्मान–मेघनाथ खनाल बन्धु (झापा) लाई प्रदान गर्ने निर्णय भएको परिषदका अध्यक्ष डा. पुष्करराज भट्टले जानकारी दिए । 

परिषदले यसअघि २०८० का लागि नेपाल र भारतका गरी ४ जना स्रष्टालाई सम्मान प्रदान गर्ने घोषणा गरेकाे थियाे । जसअनुसार, नेपाली वाङ्मय साधना सम्मान पर्साका गोपाल अश्कलाई, पद्मा–रामचन्द्र लघुकथा सम्मान बाराका नवराज रिजाललाई, राधिका–गोपालदत्त लघुकथा सम्मान भारतको हरियाणा निवासी डा. रामनिवास मानवलाई र कर्मयोद्धा सृजना सम्मान बैतडीका राजेन्द्र तारकिणीलाई प्रदान गरिने जनाइएकाे थियाे । 

आरडी-राजलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कारको राशी रु. १५ हजार, सम्मानपत्र र दोसल्ला रहेको छ । अन्य सम्मानको राशी रु. १० हजार, सम्मानपत्र र दोसल्ला रहेको छ । २०८० र २०८१ का लागि घाेषित सबै सम्मान/पुरस्कार यही २०८२ वैशाखमा प्रदान गरिने अध्यक्ष भट्टले जनाएका छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update