
मकवानपुर । पछिल्लो समय स्थानीय पालिकाहरुले आर्थिक उपार्जनका लागि अनेक उपायहरु अपनाउन थालेका छन् ।
आफूसँग भएका प्राकृतिक स्रोत र साधनको संरक्षण गर्दै पर्यटकीय क्षेत्रबाट त्यहाँका समुदायमा टेवा पु¥याउने उद्देश्यले उदेश्यले आफ्ना पालिकालाई पर्यटन हवको रुपमा विकास गर्न विभिन्न संरचनाहरु तयार गर्ने पालिकाहरुको होडबाजी नै चलेको छ ।
मकवानपुरको सबैभन्दा विकट कैलाश गाउँपालिकाले पनि यहाँका स्थानीयलाई पालिकामै टिकाउन भन्दै शाहसिक खेल जीपलाइन सञ्चालनमा ल्याएको छ ।
१० वटा स्थानीय पालिका रहेको मकवानपुरको सबैभन्दा विकट पालिका हो, कैलाश गाउँपालिका । भौगोलिक विकटताका कारण अन्य स्थानीय पालिकाभन्दा कैलाश गाउँपालिका अलि पछाडी पर्दै आएको छ ।
गाउँमा बस्नेको संख्या दिन प्रतिदिन घट्दो छ । अवसरको खोजी गर्दै युवाहरु विदेश पलायन हुनेदेखि बजार क्षेत्रमा बसोबास गर्न हिँड्ने ताँती पनि उस्तै छ । यसरी आफ्नो पालिकाप्रति नागरिक निराश भएको भन्दै गाउँपालिकाका जनप्रतिनिधिहरुले आफ्नो गाउँलाई पर्यटकीय हबको रुपमा विकास गर्न भन्दै जीपलाइन निर्माण गरेका छन् ।
कैलाश गाउँपालिका–२ वैकुण्ठमा निर्माण गरिएको १२ सय मिटर लामो जीपलाइन सवार गर्न आन्तरिक पर्यटक बढ्ने अपेक्षा सहित गाउँपालिकाले ८८ लाख ५६ हजार रुपैँया खर्चिएर जीपलाइन निर्माण गरेको हो । गाउँमै जीपलाइन सुरु भएपछि यहाँका युवाहरुमा उत्साह थपिएको छ ।
जीपलाइन निर्माण पछि ३ जना युवाले जीपलाईन प्राविधिकको रुपमा रोजगारी समेत पाएका छन् । यति मात्रै होइन, सुरुवाती चरणमैमा छिमेकी जिल्लाहरु धादिङ, चितवन लगायतका आन्तरिक पर्यटकहरु जीपलाइन सवारका लागि आउन थालेका छन् ।
त्यसो त, जीपलाइन सवार गर्न आएका पर्यटकलाई कैलाशमै टिकाउनको लागि होम स्टे सञ्चालनमा ल्याउने तयारीमा स्थानीयहरु जुटेका छन् । जसका लागि गाउँपालिकाले नै १० घर परिवारलाई होम स्टे तालिम प्रदान गरेको छ ।
यो जीपलाइन नेपालमै पहिलोपटक स्थानीय पालिकाको लगानीमा निर्माण गरिएको गाउँपालिकाका जनप्रतिनिधिहरुको दाबी छ ।
कैलाश र बैकुण्ठका दुई पहाडलाई जोड्ने गरी निर्माण गरिएको जीपलाइन सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी समेत पालिकाले नै लिएको छ । तर होम स्टे सञ्चालनमा आएपछि सोही होम स्टे सञ्चालकहरुलाई व्यवस्थापनको जिम्मा दिनेगरी लिजमा दिइने योजना रहेको गाउँपालिका अध्यक्ष बताउँछन् ।
पर्यटन प्रवद्र्धन निम्ति जीपलाइन सञ्चालन गरिएको बताउँदै धादिङको रोराङ, बेनीघाट र गजुरी गाउँपालिका, मकवानपुरका थाहा नगर, राक्सिराङ र मनहरी गाउँपालिका तथा छिमेकी जिल्लाका जीपलाइन पारखीहरूको गन्तव्य स्थल बन्ने विश्वास लिइएको छ । बैकुण्ठमा जीपलाइनसँगै विभिन्न पर्यटकीय पार्कहरू समेत निर्माण भइसकेका छन्, जसका कारण यस क्षेत्र पर्यटकको थप आकर्षणको केन्द्र बन्दै गएको छ ।