
झापा । नयाँ वर्षको सुरुवातसँगै झापासहित पूर्वी तराईका जिल्लामा बसोबास गर्ने विभिन्न आदिवासी समुदायले सिरुवा पर्व हर्षोल्लासका साथ मनाउँदै छन् ।
विशेषगरी झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने राजवंशी, थारु, गनगाई, ताजपुरिया, माझी लगायतका आदिवासी समुदायले हरेक वर्ष हर्षोल्लासका साथ सिरुवा पर्व मनाउँदै आएका छन् । सिरुवा पर्व तीन दिनसम्म मनाइन्छ ।
पूर्वी क्षेत्रका आदिवासी समुदायले नयाँ वर्षका वैशाख १ गते पानी सिरुवा, २ गते काद अर्थात् हिलो सिरुवा र ३ गते रङ सिरुवा मनाउने प्रचलन छ । वैशाख १ गते सोमवार पानी सिरुवा मनाएका आदिवासी समुदायले मंगलवार काद सिरुवा धुमधामका साथ मनाएका छन् ।
राजवंशी, थारु, गनगाई, ताजपुयिा, माझी लगायतका समुदायले बुधवार रङ खेल्दै सिरुवाको विधिवत् रुपमा समापन गर्ने छन् । एक आपसमा भ्रातृत्व र बन्धुत्वको सम्बन्धलाई बढाउन शुभकामना आदान–प्रदान गर्दै सामूहिक रुपमा आदिवासी समुदायले यो पर्व मनाउँदै आएको स्थानीय बब्लु राजवंशी बताउँछन् ।
उनका अनुसार यस समुदायले चैत मसान्तमा विभिन्न प्रकारका सात वटा सागसब्जी मिसाएर पकाएको पक्mवान वैशाख १ गते खाने प्रचलन छ । सिरुवा पर्वमा ठाकुरविसरी, ठाकुरव्रंहानी, विसहरी, काली देवीदेवताको पूजा अर्चना गर्ने समेत चलन छ ।
सिरुवा पावनी तराईमा बस्ने आदिवासी समुदायमध्ये विशेषगरी राजवंशी, थारु, ताजपुरिया, गनगाई, माझी लगायतले मनाउने सबैभन्दा ठूलो चाड हो। यो पर्व नयाँ वर्षमा बंगला पात्रोअनुसार खास गरी तीन दिनसम्म वैशाख १, २ र ३ गते मनाउने चलन रहेको राजवंशी समाजका अगुवा सन्तोष राजवंशी बताउँछन् ।
उनका अनुसार सिरूवा पर्वको अवसरमा आदिवासी समुदायले बर्सेनि सामुदायिक रूपमै ढोलसना नाच, नटुवा नाच, घाट सरी गीत लगायत विभिन्न सांस्कृतिक नृत्यहरू प्रस्तुत गरि हर्सोउल्लासका साथ मनाउँदै आएको भएता पनि राज्यले यस तर्फ खासै चासो नदिएको बताउँछन् । उनले कला संस्कृतिले भरि पुर्ण भएपनि राज्यले बेवास्ता गर्दा आफ्नो समुदाय र कला संस्कृति ओझेलमा पर्दै गएको उनको भनाइ छ ।
आदिवासी समुदायले बर्सेनि सामुदायिक रूपमै ढोलसना नाच, नटुवा नाच, घाट सरी गीतलगायत विभिन्न सांस्कृतिक नृत्यहरू प्रस्तुत गरि हर्षोल्लासका साथ सिरुवा पर्व मनाउँदै आएका छन् । नेपालबाहेक भारतको आसाम, पश्चिम बङ्गालका विभिन्न जिल्लामा पनि तीन दिनसम्म यो पर्व मनाइन्छ ।