
काठमाडौं । शिक्षक आन्दोलनका कारण नयाँ शैक्षिक सत्र प्रभावित हुने खतरा बढेको छ । नयाँ शैक्षिक सत्र शुरु भएपनि शिक्षक सडकमै आन्दोलित हुँदा सामूदायिक विद्यालयको औचित्यमाथि प्रश्न उठ्न थालेको छ । भने सरकारले के गर्ला भन्ने संसय समेत बढेको छ ।
देशभरका शिक्षकहरु सडक आन्दोलनमा छन् । चैत्र २० गतेदेखि जारी शिक्षक आन्दोलन कहिले रोकिएला ? जवाफमा शिक्षकहरुले भन्ने गरेका छन्, ऐन जारी भए एकछिनमै आन्दोलन सकिन्छ । तर, ऐन जारी तत्काल हुने सम्भावना देखिन्न । सरकारले अध्यादेशमार्फत अघि बढ्ने स्थिति सिर्जना गरेको स्थितिबाहेकमा ऐन आउने सम्भावना छैन् ।
यस्तोमा काठमाडौं केन्द्रित शिक्षक आन्दोलनले विद्यार्थीको भविष्यमाथि संकट पैदा गर्ने खतरा बढेको छ । तर, शिक्षकहरु भने आन्दोलन ऐन जारी नभएसम्म हुने भन्दै अड्डी कसिरहेका छन् ।
सरकार र शिक्षकहरुबीचको वार्ताले हल निकाल्न सकिरहेको छैन् । शिक्षकहरुले आफ्ना मागसहि ऐन जारीको माग राखिरहेका छन् भने सरकारले बर्खे अधिवेशनबाट ऐन ल्याउने भनिरहेको छ । तर, सहमति जुट्न नसक्दा आन्दोलन थप चर्किने र विद्यार्थीको भविष्यमाथि खेलवाड हुनेतर्फ जाने खतरा देखिन्छ ।
बहिस्कार योजनाले तनाव
शिक्षक महासंघको सोमवार बसेको बैठकले कक्षा १२ को परीक्षामा सहभागी नहुने र कक्षा १० को उत्तरपुस्तिका समेत नजाँच्ने निर्णय गरेको बताइएको छ । यस्तै नयाँ भर्ना अभियान पनि अवरुद्ध भइरहेको छ ।
शिक्षकहरुले सडकमै हाजिर कपी लिएर आन्दोलन गर्न थालेपछि सामूदायिक विद्यालयको विश्वसनियतामा प्रश्न मात्रै उठेको छैन्, समग्र शैक्षिक वातावरण नै बिग्रिने खतरा बढेको छ । यद्यपी राष्ट्रिय परीक्षा बोर्डले भने १२ कक्षाको परिक्षा यथावत रहेको र नियमित सञ्चालन हुने भनेको छ । तर, शैक्षिक समस्या भने शुरु भइसकेको छ ।