News 24 Television
देउवा रिझाउने गगन जुक्तिले सत्ता नेतृत्व गुमाउदै ओली !

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस सरकारलाई आफू अनुकुल बनाउने प्रयत्नमा उत्रिएको छ । कांग्रेसले सरकारको नेतृत्व फेर्ने विषयको तरवार देखाएर आफू अनुकुलका निर्णयमा जान सकिने गरि रणनीति तय मात्रै गरेको छैन्, आवश्यक परे सरकार नै फर्ने बाटोमा अग्रसरता लिएको छ । 

प्रधानमन्त्री केपी ओली कांग्रेससँगको गठबन्धनमा विश्वस्त हुन सकेका छैनन् । ओलीले पटक–पटक गठबन्धन नफेरिने दाबी गर्नुपरिरहेको छ भने कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्त्रण समयमै गर्ने सार्वजनिक प्रतिबद्धता दिनुपर्ने स्थिति छ । 

यसको एउटै कारण हो, कांग्रेस सभापति शेरबहादुर देउवालाई धोका हुँदैन है भनेर आश्वस्त पार्नु । तर, कांग्रेसले धेरै परसम्मको यात्रा नगर्न सक्छ है भन्ने मनोवैज्ञानिक त्रास भने फैलाउन थालेको छ । 

कुनैबेला कांग्रेस महामन्त्री गगन थापाले सरकारलाई ठूलो आडभरोसा दिने अभिव्यक्ति राख्ने गर्थे । गगनले प्रधानमन्त्री केपी ओलीले गरिरहेको मेहनतले आफू अत्यन्तै खुशी भएको अभिव्यक्ति संसदमै दिएका थिए । 

प्रधानमन्त्री ओलीको मेहतनले खुशी छु भनेका गगन थापा अहिले प्रधानमन्त्री ओलीको बेडसम्मै विचौलिया पुग्न थालेको आरोप लगाउने तहमा पुगेका छन् । 

प्रधानमन्त्रीको बेडसम्म विचौलिया पुग्ने आरोप सामान्य विषय होइन । यतिमै नरोकिएका गगनले भनिरहेका छन्, सरकारको गति ट्याक्टरको जस्तो भयो । कति सहने । 

यसरी कांग्रेसभित्रबाट ओली नेतृत्वको सरकारमाथि प्रश्न गर्न थालिएका छन् । कांग्रेस नेताहरुले सरकारको विरोध गर्दै गर्दा केहिले भने आशंका गरेका छन् । 

सरकारी नियुक्तिदेखि अन्य विषयको भागबण्डामा प्रधानमन्त्री ओलीलाई दबाबमा राखेर अघि बढ्ने र सहज परिस्थिति निर्माण गरेर सरकारको नेतृत्व फेर्न माओवादी केन्द्र लगायतका साना दलहरुको साथ लिने । 

यहि तयारीका साथ कांग्रेसले थालेको राजनीतिक यात्राका विभिन्न आयामबारे छलफल बहस भने शुरु भएको छ । 

गगनको दाउ

गगन थापाले प्रधानमन्त्री केपी ओलीलाई पुरापुर सहयोग गर्ने भनिरहेका देखिन्थे । तर, पछिल्लो समय स्थिति फेरिन थालेको छ । 

गगनले सरकारको गतिमा प्रश्न गरिरहेका छन भने प्रधानमन्त्रीको बेडरुमसम्म विचौलिया पुगेर स्थितिलाई अर्को ठाउँमा पु¥याउन खोजेको आरोप लगाइरहेका छन् । यसले पनि कांग्रेसले अब सरकारमाथि अनेक दबाब सिर्जना गर्न खोज्दैछ भन्ने संकेत गरिरहेको छ । 

यसका पछाडीको कारणमा गगनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर समयमै पार्टी महाधिवेशन र नेतृत्व लिने प्रयास थालेको अर्थमा लिइएको छ । 

यता, शेखर कोइरालासँगको सम्बन्धमा समेत खास सुधार नआइरहेको बेला शेखरले देउवा पक्षका नेताहरुलाई आफूतर्फ तान्ने काम गर्न थालेपछि गगनले पनि राजनीतिक चक्रलाई युटर्न मार्ने बाटोमा ल्याउन खोजेका छन् । 

देउवाको मनशाय

बढ्दो उमेर र पार्टी जिम्मेवारीका हिसाबले पनि शेरबहादुर देउवालाई सरकारको नेतृत्व लिनका लागि १५ महिना कुर्ने समय धेरै लामो हुने स्थिति छ । 

राजनीतिमा १५ महिना ठूलो समय भएकाले र प्रतिपक्षी दलहरुले खुलेआम समर्थन गर्ने सार्वजनिक अभिव्यक्ति नै दिन थालेको बेला देउवा आफैले सरकार ढाल्नुको सट्टा पार्टीलाई नै त्यसमा सक्रिय बनाउने प्रयास गर्ने देखिन्छ । 

देउवाले सत्ता नेतृत्व लिदा पार्टी पक्तिको साथ लिने र सर्वसम्मत रुपले नेतृत्व गर्दा विरोध र विवाद नआउने परिस्थिति निर्माण गर्न खोेजेका छन् । यो परिस्थिति बन्दै गरेको देखिन्छ ।

इतर पक्षका शेखरदेखि गगन लगायतका नेताहरुले सरकारमाथि प्रश्न गर्दा बार्गेनिङ पावर बढ्नुका साथै माहोल बन्दै गएको छ । यस्तो मनशाय पालेर बसेका देउवालाई अब सरकारको नेर्तत्व लिने परिस्थिति पनि निर्माण हुँदै गएको बताउन थालिएको छ । 

ओलीको मोरल डाउन

प्रधानमन्त्री केपी ओली हाई मोरलका साथ सरकारको नेतृत्व गर्ने र रवाफ देखाउने नेतामा चिनिन्थे । तर, पछिल्लो समय यस्तो देखिन्न । 

सरकारको नेतृत्व लिएकै दिनदेखि सत्ता छाड्ने समयावधी तोक्दै हिडेका छन् । 

देउवालाई रिझाउन अनेक प्रयास गरिरहेका छन् । यस्तै, राजनीतिक नियुक्तिमा समेत लचकता देखाउनुपर्ने स्थिति बन्न थालेको छ । 

राष्ट्र बैंकको गभर्नर नियुक्तिमा समेत कांग्रेसको हस्तक्षेप बढेपछि ओली हच्किएको बताइन्छ । भने टीआरसीमा समेत नियुक्तिको भागबण्डा लगभग भइसकेको बताइन्छ । 

यसरी सरकारी नियुक्तिमा समेत कांग्रेस हाबी हुने र ओलीको पालामै सबै नियुक्ति आफ्नो पोल्टामा पारेर कांग्रेसले सत्ता नेतृत्व लिने तयारी गरेपछि ओलीको लचकता काम लाग्ला ? 

मोरल डाउन भएरै सरकारको नेतृत्व गरिरहँदा यसको सार्थकता पुष्टी होला ? तमाम प्रश्नहरु सतहमा देखिन थालेका छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  ०८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update